महिला ट्याक्सी चालक तामाङसँग यात्रा, भन्छिन्ः ट्याक्सी चलाउँदा अरुले हौसला दिए



काठमाडौं । राजधानीका सडकमा दैनिक करिब ९ हजार बढी ट्याक्सी गुड्छन् । ती ट्याक्सीमा अधिकांश पुरुष नै चालक हुन्छन् ।

तर घटस्थापनको भोलिपल्ट अर्थात् असोज २२ गते शुक्रबार डिल्लीबजारदेखि झम्सिखेल जानका लागि महिला चालक भएको ट्याक्सी चढ्ने मौका मिल्यो ।

ट्याक्सीभित्र छिर्ने वित्तिकै महिला चालक देखेपछि केही कुरा गर्न मन लाग्यो ।

उनी थिइन्, काभ्रेकि २५ वर्षे मुना तामाङ । पछिल्लो २ वर्षदेखि गाडी चलाउन थालेकी रहिछन् । तर ट्याक्सी चलाउन थालेको जम्मा ७ महिना मात्रै भएको रहेछ ।

शुरुमा डेलिभरी भ्यान चलाएकी उनलाई त्यता आम्दानी कम भएपछि ट्याक्सी चलाउन शुरु गरेकी रहिछन् ।

श्रीमानको व्यापार व्यवसाय तथा जागिर नहुँदा श्रीमान र एउटा छोरी पाल्ने जिम्मेवारी उनी आफैले लिएकी रहिछन् । जसका लागि उनले विहानदेखि साँझसम्म राजधानीका सडकमा ट्याक्सी गुडाउँदै यात्रुलाई सेवा दिइरहेकी छन् ।

डेलिभरी भ्यान चलाउँदा तलब फिक्स हुने तर ट्याक्सी चलाउँदा धेरै पैसा कमाउन पनि सकिने र स्वतन्त्र हुने भएकाले ट्याक्सी चलाउन थालेको उनले सुनाइन् ।

पहिले श्रीमान विदेशमा श्रम गरिरहँदा उनको दिनचर्या छोरी हुर्काउनमै बित्यो । तर आफू पनि काम गरेर पैसा कमाउने र श्रीमानसँगै परिवार पाल्ने उनको चाहना कोभिड शुरु हुँदै गर्दा शुरु भएको रहेछ ।

तर जब कोरोना महामारी शुरु भएपछि जागिर छाडेर विदेशबाट श्रीमान फर्किए त्यसपछि उनले आफै गाडी चलाउन थालेको उनले सुनाइन् ।

‘शुरुमा ड्राइभिङ सेन्टरमा गएर गाडी चलाउन सिँके, श्रीमानले पनि साथ दिनु भयो । लाइसेन्स निकालेपछि डेलिभरीका लागि ओभी भ्यान चलाए केही समयपछि ट्याक्सी चलाउन शुरु गरेँ,’ उनले भनिन् ।

‘पहिले श्रीमानले कमाउनु भयो, अहिले मेरो पालो आयो । आखिर जसले कमाए पनि त हुँदो रहेछ,’ उनले थपिन ।

साउको ट्याक्सी चलाए वापत दैनिक १५ सय बुझाउनुपर्छ । यसका लागि दैनिक कम्तीमा २५ सय रुपैयाँ कमाउनु पर्छ । यति गर्दा साउलाई बुझाउने र तेलको पैसा निस्कन्छ । त्यसभन्दा माथिको आम्दानी आफ्नो हुने भयो ।

उनको जानकारीमा भएसम्म राजधानी काठमाडौंमा अहिले जम्मा ४ जना महिला ट्याक्सी चालक छन् । केहीसँग उनको राम्रो सम्बन्ध छ । उनीहरुले पनि तामाङलाई ट्याक्सी चलाउनका लागि हौसाएका रहेछन् ।

उनले ट्याक्सी चलाउन थालेको ७ महिनामा कसैको नराम्रो व्यवहार भोग्नु परेको छैन । विहानदेखि साँझपखसम्म दैनिक ट्याक्सी चलाउँदा यात्रा गर्ने अधिकांश यात्रुले राम्रो काम भन्दै उत्साह दिने गरेको बताइन् ।

कहिले काँही बाटोमा ट्राफिकले भने दुःख दिने गरेको उनको अहिलेसम्मको अनुभव छ ।

‘यात्रुबाट हैरानी खेप्नु परेको छैन तर कहिले काँही ट्राफिक प्रहरीबाट भने दुःख हुन्छ, खोइन ट्याक्सी चालक नै त हो भनेर हेपेको हो कि ट्याक्सीले ठग्छन् भन्ने सोचले हो थाहा छैन,’ उनले भनिन् ।

उसो त उनका बुवा पनि पहिले गाडी नै चलाउँथे । सायद गाडी चलाउने सोच त्यहीबाट पलाएको हुन सक्ने उनको भनाइ छ ।


क्लिकमान्डु