निक्षेपको ब्याजदर: सानिमाले घटाउँदा कृषि विकासले बढायो



काठमाडौं । केही वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूबीच निक्षेपको ब्याजदर दोहोरो अंकमा नपुर्‍याउने भद्र सहमतिअनुसार नै केही बैंकले ब्याजदर बढाएका छन् भने केहीले घटाएका छन् । साथै केहीको स्थिर छ । बैंकहरूको निक्षेपको ब्याजदर कात्तिक महिनादेखि बढ्ने अनुमान गरिएको थियो ।

जसमध्ये सानिमा बैंकले कात्तिकदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर घटाएको छ । बैंकले मुद्दति निक्षेपमा १.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको हो ।

यसअघि मुद्दति निक्षेपमा ९.५१ प्रतिशतसम्म ब्याज दिइरहेको बैंकले यसलाई घटाएर ८.०१ प्रतिशत कायम गरेको हो । बैंकले ३ महिनादेखि ६ महिनासम्मका लागि ६ मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याज दिनेछ ।

साथै, प्रभु बैंकले १ वर्षे मुद्दति निक्षेपको ब्याजदर ८.२५ प्रतिशत कायम गरेको छ । यता राष्ट्रिय वाणिज्य बैंकले मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यसैगरी नेपाल बैंकले भने मुद्दति निक्षेपमा दिने ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले एक वर्षे अवधिको मुद्दति निक्षेपमा ८.०५ प्रतिशत ब्याजदर दिँदै आएको छ ।

कृषि विकास बैंकको भने बढ्यो
कृषि विकास बैंकले भने मुद्दनि निक्षेपको ब्याजदर बढाएको छ । बैंकले कात्तिकदेखि लागू हुने गरी १ वर्षे अवधिको मुद्दति निक्षेपमा १.७५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । यसअघि ७.२५ प्रतिशत ब्याजदर दिइरहेको बैंकले कात्तिकदेखि उक्त अवधिको मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याजदर दिने भएको छ ।

वाणिज्य बैंकहरुको असोज २४ गतेसम्म निक्षेप संकलन ४२ खर्ब ४७ अर्ब रुपैयाँ छ भने कर्जा प्रवाह ३९ खर्ब ८९ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.८१ प्रतिशत छ । साथै, अन्तर बैंक ब्याजदर ४.९८ प्रतिशत छ ।


क्लिकमान्डु