दशैं अगाडि सेयर बेच्नेले पैसा नपाउने, नेप्से परिसूचक ६८.४७ अंकले बढ्यो



काठमाडौं । दशैं अगाडि सेयर बेच्नेले एकसातापछि मात्र पैसा पाउने छन् । कारोबार भएको २ दिनभित्रमा पैसा दिनुपर्ने भएपछि ब्रोकरले व्यवहारिक रुपमा एकसातापछि मात्र पैसा दिने गरेका छन् ।

दशैं अगाडि अब सेयर कारोबार २ दिनमात्र खुल्ने छ । भोलि दशैं सुरु हुने पहिलो दिन घटस्थापनाको सार्वजनिक बिदा छ । शुक्रबार र शनिबार सेयर कारोबार हुँदैन । आइतबार र सोमबारमात्र सेयर कारोबार हुने छ । मंगलबारदेखि ५ दिनको दशैं बिदा सुरु हुने हुँदा आइतबार र सोमबार सेयर बेच्नेको खातामा पैसा आउने छैन ।

दशैं लागेसँगै नेप्से परिसूचक भने उकालो लागेको छ । लगातार घटीरहेको सेयर बजार दशैं लागेसँगै हरियाली छाएको छ । यो साताको सेयर कारोबार हुने अन्तिम दिन बुधबार नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.११ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेपनि सेयर बजारमा कारोबार रकम भने साढे ४ अर्ब रुपैयाँको मात्र भएको छ । नेप्से परिसूचक बढेपनि सेयर कारोबारीहरु भने दशैंपछि मात्र थप डिसिजन गर्ने पक्षमा रहेको देखिन्छ । बैंकहरुले दशैं पछाडि ब्याजदर बढाउने सम्भावना भएको हुँदा पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेका छन् ।

बुधबार २२७ वटा कम्पनी तथा सामुहिक लगानी कोषको कारोबार भएको छ । १२ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा अधिकांश कम्पनी फाइनान्स र माइक्रोफाइनान्स रहेका छन् ।


क्लिकमान्डु