चैतसम्म आउला त मेलम्चीको पानी ? पुनर्निमाणका लागि २ अर्ब खर्च लाग्ने



काठमाडौं । मेलम्ची खानेपानी आयोजना शुरु भएको करिब ३ दशकपछि काठमाडौंमा पानी आइपुगेको थियो । काठमाडौंबासीले बल्लतल्ल खानेपानीको समस्याबाट सहज भएको महशुस गर्न नपाउँदै आयोजना क्षतविक्षत भएको छ । र, मेलम्चीको पानी उपभोग गर्ने रहर थप केही समय पछाडि धकेलिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमार्फत् आएको बजेटले चैतमा पानी ल्याउने मिति तोकिसकेको छ । सम्भव भएसम्म सोही मितिमा सकिन्छ कि भनेर कार्ययोजना अघि बढाएको मेलम्ची खानेपानी समितिका कार्यकारी निर्देशक बासुदेव पौड्यालले बताए ।


हालसम्म आयोजना निर्माणका लागि ३५ अर्ब रुपैयाँभन्दा बढी कुल खर्च भइसकेको छ । जसमा ३३ प्रतिशत नेपाल सरकार, ४६ प्रतिशत एशियाली विकास बैंक र बाँकी अन्य दातृनिकायसँग व्यवस्थापन गरिएको थियो । आयोजनमा १ अर्ब १२ करोड रुपैयाँ मुआब्जामा मात्रै खर्च भएको थियो ।

तर केही समय अघिको अत्यधिक वर्षापछिको बाढी र पहिरोले आयोजना क्षतविक्षत भएको छ । अहिले आयोजनाले ठूलो मात्रमा क्षति ब्यहोरिरहेको छ । पहिरोले आयोजनामा १ अर्बभन्दा बढीको क्षति भएको छ ।

हाल एडीबीको पनि पहिलो चरणको सम्झौता सकिएको अवस्था छ । यसले दोस्रो सम्झौता गर्छ या गर्दैन भन्ने कुरा टुंगो छैन । पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी उपत्यका योजना थियो । अर्को भनेको बढ्दो जनसंख्याका कारण उक्त परिमाण अपुग हुने भएकाले दोस्रो चरणमा मेलम्चीको पानीमा याङ्ग्री र लार्के खोलाका पानी समेत मिसाउने योजना अघि बढाइएको थियो । यस योजना पनि एडीबीकै सहयोगमा बन्ने योजनामा रहेको थियो ।

तर, अहिले एडीबीले मेलम्चीको थप अध्ययनपछि मात्रै याङग्री र लार्केमा लगानी गर्ने विषयमा निर्णय हुने बताएपछि आयाजना अन्योलमा परेको हो ।

एडीबीले पूर्णनिर्माणका लागि लगानी नगर्नेसमेत भनिसकेको अवस्था छ । यसो हुँदा अब मेलम्ची खानेपानी आयोजनाको पूर्णनिर्माण कसरी हुन्छ, कस्ले लगानी गर्छ, भन्ने कुराको अहिलेसम्म पनि टुङ्गो लाग्न नसकेको अवस्थामा आयोजना छ । यता काठमाडौंबासी भने खानेपानी कहिले आउँछ भनेर कुरीरहेका छन् ।

यही असारमा आएको बाढीपहिरोले आयोजनासम्म पुग्ने लगभग ८ किलोमिटर बाटोसहित ४ वटा पुल पनि बगाएको छ । साथै, आयोजनाको हेडवक्र्समा पूरै ग्रेगरणसहितको लेदोले पुरेको छ । आयोजनाका लागि अति आवश्यक पर्ने निर्माण सामग्री र इक्वीपमेन्टसमेत बगाएर लगेको अवस्था छ ।

अब के गर्छ समितिले ?
हाल मेलम्ची खानेपानी समितिकाअनुसार हाल आफूहरुले पूर्णनिर्माणका लागि कार्ययोजना बनाएर प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।

‘मन्त्रालयबाट कस्तो निर्णय आउँछ या हाम्रै कार्ययोजना स्वीकृत हुन्छ भन्ने कुराको टुङ्गो लागेपछि मात्र पूर्णनिर्माणको काम शुरु गर्ने छौं,’ समीतिका निर्देशक पौड्यालले भने ।

‘हामिले बनाएको कार्ययोजनामा भनेको एउटा सर्ट ट्रम र अर्को भनेको लङ ट्रमका योजना समावेश रहेका छन्,’ पौड्यालले भने, ‘बाटो बनाउनका लागि मात्र ३० देखि ३४ करोड खर्च लाग्ने अनुमान छ । अर्को भनेको हेडवक्र्सलगायतका निर्माण गर्न झण्डै १ अर्ब ३२ करोड लाग्ने अनुमान गरिएको छ ।’

अब आयोजना पूर्णनिर्माणका लागि अनुमानित कुल २ अर्ब लाग्ने आयोजनाले बताएको छ ।

अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका निर्देशक पौड्यालले बताए ।

‘असारमा आयोजनाका डिभिजनल इन्जिनियरलगायतको टोली चनौटेबाट झण्डै ७÷८ घण्टा पैदल हिँडेर गएको थियो । त्यहाँ जानका लागि यति खेर न बाटो छ न पुल नै,’ पौड्यालले भने ।

पूर्णनिमार्णका लागि निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि काम गर्न कठिन हुने निर्देशक पौड्यालले बताए ।

‘त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले हामीलाई सहजीकरण गरिरहेको छ,’ पौड्यालले भने ।

‘आयोजनाको मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवासहितको लेदो पसेकाले तत्काल सफा गर्नुपर्ने देखिएको छ,’ पौड्यालले भने, ‘सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग सडक बनाउन आवश्यक रहेको छ ।’

सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने निर्देशक पौड्यालले बताए ।

‘यो भनेको सर्ट ट्रम कार्ययोजना हो,’ पौड्यालले भने, ‘त्यसका लागि पनि अम्बाथानको अडिट सुरुङ खोल्नुपर्छ । अडिट सुरुङमा रहेको अवरोध हटाएपछि मुख्य सुरुङ चलाउन सकिन्छ ।’

मेलम्चीलाई वैकल्पिक पथान्तरण प्रणालीबाट चलाउन पनि हेडवर्क्स डाइभर्सन सुरुङ सफा गर्नुपर्छ । सुरुङ सफा गर्न लाग्ने समय त्यसका आधारमा निर्भर हुने पौड्यालले बताए ।

अम्बाथान अडिटको सुरुङ र हेडवर्क डाइभर्सन सुरुङ गरी दुई सातामा सुरुङ सफा गर्न सकेमा वैकल्पिक प्रणालीबाट काठमाडौंमा पानी अर्थमन्त्रीले भनेकै समय आगामीे चैतसम्ममा ल्याउन सकिने आयोजनाको भनाइ छ ।

दुई महिनामा सुरुङ परीक्षणका लागि लाग्ने भनिएकामा दुईचार साता त्योभन्दा केही समय बढी लाग्नसक्ने पौड्यालले बताए ।

उनले भने, ‘अहिले हामीले पहिले जसरी नै वैकल्पिक माध्यमबाट भए पनि पानी ल्याउनुपर्छ भनेर प्रधानमन्त्री कार्यालयमा हाम्रो कार्ययोजना पठाएका छौँ ।’

तर, हाल चनौटेसम्म मात्र जान सकिने अवस्था छ । चनौटेको पुल पनि बाढीले बगाएका कारण अगाडि जान बाटो छैन् । त्यसका लागि भने आयोजना क्षेत्रमा जाने ८ किलोमिटर सडक र ४ वटा पुल निर्माणको कार्य पहिलो प्राथमिकतामा पर्दछन् । त्यसपछि मात्र आयोजनाको अरु कामहरु अघि बढ्ने पनि समितिका निर्देशक पौड्यालले बताए ।

सरकारले आयोजनाका लागि भनेर तत्कालै काम शुरु गर्न १ अर्ब रुपैयाँ दिएको समेत पौड्यालले बताए । मेलम्ची कहिले आउँछ भनेर यकिन मिति भने तोक्न नसकिने पौड्यालको भनाइ छ । मन्त्रालयले पनि सोहीअनुसार कार्ययोजना अघि बढाउने पौड्यालको भनाइ छ ।

बालुवाले मात्र टालिएमा कामदार मात्र लगेर सफा गर्न सकिने भए पनि ठूला ढुङ्गाले टालेको भएमा सफा गर्न उपकरण नै लैजानुपर्ने पौड्याले बताए ।

‘उपकरण लैजान पनि सडक चाहिने भएकाले सडक र पुल नबनेसम्म मेलम्चीको पानी चैतमा आउँला भन्न सकिदैन्,’ पौड्यालले भने ।


क्लिकमान्डु