भारत र चीनपछि अर्जेन्टिना कसरी बन्यो सबैभन्दा धेरै आयात गर्ने मुलुक ?



काठमाडौं । नेपालले भारत र चीनपश्चात सबैभन्दा बढी आयात गर्ने देश हो अर्जेन्टिना ।

करिब दुई वर्ष अघिसम्म आयातमा छैठौं र सातौं नम्बर कायम गर्दै आएको अर्जेन्टिना गत वर्षदेखि भारत र चीनपश्चात सबैभन्दा बढी आयात गर्नेको तेस्रो नम्बरमा रहेको छ ।

नेपालले डेढ सय बढी देशसँग वैदेशिक व्यापार गर्दै आएका छन् । भन्सार विभागको तथ्याङ्कले नेपालले विश्वका डेढ सय बढी देशसँग वैदेशिक व्यापार गरेकोमा अधिकांश देशसँग ठूलो व्यापारघाटा व्यहोरेको छ ।

पाँच वर्षअघिसम्म नेपालले आयात गर्ने देशमा छैठौं नम्बर कायम गर्दै आएको अर्जेन्टिनाले अन्य देशलाई पछि पार्दै नेपालले सबैभन्दा बढी आयात गर्ने देशको तेस्रो नम्बर कायम गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले सबैभन्दा बढी आयात गरी तेस्रो नम्बर कायम गर्नुमा कच्चा तेलको ठूलो भूमिका रहेको छ । पछिल्लो समय नेपालले उच्च रुपमा कच्चा तेल आयात गरी भारततर्फ निकासी गर्दै आएका छन् ।

भारत सरकारले डेढ वर्ष अघिसम्म नेपालले भारततर्फ पाम तेल निर्यात गर्दै आएका थिए । तर, भारत सरकारले नेपालबाट निर्यातित पाम तेलमा प्रश्न उठाउँदै आयातमा प्रतिबन्ध लगाएका थिए ।

भारत सरकारले पाम आयलमा प्रतिबन्ध गरेसँगै नेपाली तेल तथा घ्यू उत्पादन गर्ने उद्योगहरूले पाम तेलको सट्टामा सोयाबिन तेलको निर्यातमा जोड दिएका पाइन्छ । उक्त अवधिमा नेपालले उल्लेख्य रुपमा अर्जेन्टिनाबाट सोयाबिन र सनफ्लावर कच्चा तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै, अहिले भारत सरकारले केही महिनाअघि पाम तेलको आयातमा प्रतिबन्ध फुकुवा गरेको छ । उक्त फुकुवा गरेसँगै नेपालका उद्योगीहरूले पाम तेल निर्यात गर्न थालेका छन् । तर, हालसम्म पनि नेपालले उच्च रुपमा कच्चा तेल आयात गर्ने भएकाले अर्जेन्टिना तेस्रो नम्बरमा रहेको सरोकारवालाहरू बताउँछन् ।

नेपालमा आयात तथा निर्यातमा ठूलो हिस्सा रहेको भट्मासको कच्चा पदार्थ सम्पूर्ण अर्जेन्टिनाबाट आयात हुने गर्दछ । नेपालले अर्जेन्टिनाबाट मासिक साढे ५ करोड लिटर सोयाबिनको कच्चा तेल आयात गर्ने गर्दछ । त्यससँगै, नेपालले अर्जेन्टिनाबाट सनफ्लावर पनि आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

आर्थिक वर्ष २०७२/७३ सालमा नेपालले ८ अर्ब १५ करोड ३१ लाख रुपैयाँको वस्तु आयात गरी छैठौं नम्बर कायम गर्न सफल भएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा ११ अर्ब ६८ करोड २४ लाख रुपैयाँ आयात गरी छैठौं नम्बर नै कायम गरेको थियो । आव २०७४/७५ मा १० अर्ब २२ करोड ६६ लाखको वस्तु आयात गर्दा नेपालमा मुख्य आयात गर्ने देशको आठौं नम्बर कायम गरेका थिए ।

तर, आव २०७५/७६ मा भने अर्जेन्टिनाबाट १० अर्ब ४५ करोड २८ लाख रुपैयाँको आयात गर्दा १२औं स्थान हाँसिल गरेका थिए । आव २०७६/७७ मा नेपालले १६ अर्ब २ करोड ४१ लाख रुपैयाँको आयात हुँदा छैठौं स्थानमा थिए ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ देखि भने अर्जेन्टिना तेस्रो नम्बरमा रहेको छ । नेपालमा गत वर्षदेखि उच्च रुपमा सोयासिबन र सन्फ्लावर कच्चा तेल आयात भएदेखिनै नेपालले सबैभन्दा बढी आयात गर्ने देशको तीन नम्बर सूचिमा परेको देखिन्छ ।

नेपालले गत आर्थिक वर्षमा अर्जेन्टिनाबाट ३५ अर्ब २६ करोड ७५ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । त्यस्तै चालु आवको पहिलो २ महिनामा नेपालले १० अर्ब ६९ करोड ४८ लाख रुपैयाँको वस्तु आयात गरी नेपालले सबैभन्दा बढी आयात गर्ने सुचीमा परेको छ । नेपालले आयात गरी तेस्रो नम्बर हासिल गरेका अर्जेन्टिनासँग ठूलो वैदेशिक व्यापारघाटा रहेको छ । नेपालले २ महिनाको अवधिमा मात्रै १० अर्ब ६९ करोड बराबरनै व्यापारघाटा व्यहोरेको छ ।

भारत र चीनपश्चात नेपालले सबैभन्दा बढी आयात गर्ने अर्जेन्टिनामा भने नेपालबाट निर्यातित वस्तुको अवस्था नगन्य रहेको छ । नेपालले आव २०७२/७३ देखि भदौ मसान्तसम्ममा १ खर्ब २ अर्ब ५० करोड २७ लाखको आयात गर्दा नेपालबाट भने १ करोड ८४ लाखको मात्रै वस्तु निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँदछ । जुन नगन्य हो ।

अर्जेन्टिनाबाट नेपालले के आयात गर्छ
नेपालले अर्जेन्टिनाबाट धेरै किसिमका वस्तु आयात गरेको देखिँदैन । मुख्यतया अर्जेन्टिनाबाट सबैभन्दा बढी सोयाबिन र सन्फ्लावरको कच्चा तेला आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कअनुसार नेपालले अर्जेन्टिनाबाट कच्चा तेलबाहेक उच्च रुपमा मकै आयात गरेको छ । साथै, अर्जेन्टिनाबाट सिमी पनि उल्लेख्य रुपमा आयात गरेको पाइन्छ । त्यस्तै, अन्यमा थोरै मात्रामा विभिन्न पार्टपुर्जा भित्रिएको विभागको तथ्याङ्कलले देखाउँदछ ।


क्लिकमान्डु