सगरमाथा हेरेपछि शाहिद आफ्रिदीले भने- ‘अद्भुत सौन्दर्य’, पाकिस्तानले पनि नेपालबाट सिक्नुपर्छ



काठमाडौं । यति एयरलाइन्सको एटीआर विमानले २३ हजारबढी फिटको उचाइ छुँदै गर्दा समिपै सर्वोच्च शिखर सगरमाथा देखिएपछि उनी ककपिटमा गए । क्याप्टेन नाजिर शेख र शिव पौडेलले सगरमाथा र आसपासका अन्य हिमालबारे सक्षिप्त ब्रिफिङ गरे ।

‘अद्भुत सौन्दर्य’ सगरमाथाको सुन्दरताको वर्णनमा शाहिद आफ्रिदीले सक्षिप्त प्रतिक्रिया दिए ।

पहिलो पटक नेपाल भ्रमण आएका पाकिस्तानी वर्ल्ड क्लास क्रिकेटर शाहिद आफ्रिदीले सगरमाथा सुन्दरताको मुक्तकण्ठले प्रशंसा गरे ।

सगरमाथाको सामून्ने पुगेर हिमश्रृंखलाको सुन्दरता अवलोकन गर्न पाउँदा आफूलाई निकै खुसी लागेको भन्दै नेपालले पर्यटन प्रबर्द्धनका लागि धेरै काम गर्न सक्ने बताए ।

‘कोभिडपछिको पुनरागमन भएको पर्यटनमा यसले नेपालका लागि ठूलो योगदान दिनेछ,’ विमान अवतरण भएसँगै उनले संक्षिप्त प्रतिक्रिया दिए । उनले पाकिस्तानले पनि पर्यटनमा नेपालले जस्तै प्रबर्द्धन गर्नुपर्ने बताए ।

आइतबार विहान सवा ९ बजे त्रिभुवन विमानस्थलको आन्तरिक ट्रमिनलबाट उडान भरेको यति एयरलाइन्सको १६ नम्बरको विन्डो सिटबाट २० भन्दा बढी हिमाल र हिमश्रृंखलासँग पहिलो पटक साक्षात्कार गरेका आफ्रिदीले सम्झानास्वरुप मोबाइलबाट पटक–पटक केही थान फोटो र भिडियो लिए ।

यति एयरलाइन्सको विमानले जसै ७ हजार २३४ मिटरको उचाइको लाङटाङ माथि पुग्दै विमान परिचारिका सुदिक्षा प्याकुरेल र पासी शेर्पाले क्रमशैं अफ्रिदीलाई बिफ्रिङ गर्न शुरु गरे । आफ्रिदीका छेवैका उनका सहयोगीले अझ प्रष्ट पार्ने प्रयास गरे ।

शनिबार कीर्तिपूरस्थित क्रिकेट स्टेडियममा हजारौं खेलप्रेमीलाई खेलमार्फत् मनोरञ्जन दिएपछि सोमबार नेपाल छाड्नुअघि उनी आइतबार विहान उनी माउन्टेन फ्लाइटका लागि विमानस्थल पुगेका थिए । अघिल्लो दिन कीर्तिपुरमा देखिएको उनको क्रेज विमानभित्र पनि उत्तिकै देखियो ।

कोभिडबाट सिर्जित दोस्रो लकडाउनपछि शुरु भएको यति एयरलाइन्सको माउन्टेन फ्लाइटको पहिलो उडानको शुरुवात आफ्रिदीसँगै करिब ४४ जनाले पूरा गरे ।

उडानकै क्रममा नेपालको पर्यटनमा हिमालसँगै खाना सस्कृतिबाट पनि पर्यटक आकर्षित गर्न सक्ने सम्भावना रहेको उनले सुनाए । केहीले थकाली खानाको स्वाद लिन सुझाव दिँदा उनले चनाखो मानेर सुझाव लिए र भने, ‘जानुभन्दा अगाडि ट्राइ गर्छु ।’

उसो त पाकिस्तानको उत्तरी भेगमा नेपालमा जस्तै हिमाल नभएको होइन । सगरमाथापछिको दोस्रो उचाइ भएको शिखर केटुको अवलोकन गर्न नपाए पनि सगरमाथालगायतका हिमाल हेर्न पाउँदा उनको अनुहार खुसीका लहरले गदगद भएको सजिलै ठम्याउन सकिन्थ्यो ।

यति एयरलाइन्सले माउन्टेन फ्लाइटमा पर्यटक आकर्षित गर्नका लागि प्रतिव्यक्ति सगरमाथाको उचाइ बराबर ८८४८ रुपैयाँको शुल्क तोकेको छ । यो टिकटमा २ जनाले यात्रा गर्न पाउँछन् ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शाहिद आफ्रिदीसँग उडानको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए ।


कमलकुमार बस्नेत