ब्याजदर र प्रिमियमको विवरण आज पेश गर्न बैंकलाई राष्ट्र बैंकको पत्र



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २ महिनाभित्र प्रकाशित गरेको ब्याजदरको विवरण पेश गर्न निर्देशन दिएको पत्र राष्ट्रबैंकबाट क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

वाणिज्य बैंकहरुले २०७८ साउन १ गतेदेखि असोज ४ गतेसम्म निर्धारण गरेको कर्जा तथा निक्षेपको ब्याजदरको विवरण पठाउन राष्ट्र बैंकले प्रत्येक बैंकलाई पत्राचार गरेको हो ।

वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर निर्धारण, प्रिमियम निर्धारण, ब्याजदरको सूचाना प्रकाशन तथा संस्थागत निक्षेपको ब्याजदर निर्धारण नियम विपरीत गएर निर्धारण गरेको गुनासो बढेको छ । जसकारणले गर्दा राष्ट्र बैंकले साउनदेखि असोज ४ गतेसम्म सार्वजनिक गरिएका नयाँ कर्जा तथा निक्षेपको ब्याजदर र सोको कार्यन्वयनको विवरण वाणिज्य बैंक सुपरिवेक्षणमा असोज ७ गतेसम्म पठाउन निर्देशन दिएको हो ।

‘विगत केही समययता वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर निर्धारण, प्रिमियम निर्धारण, ब्याजदरको सूचना प्रकाशन तथा संस्थागत ब्याजदर निर्धारण जस्ता विषयमा यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी भएको एकीकृत निर्देशन २०७७ को निर्देशन १५ को पालना नगरेको भनि पटक-पटक गुनासो प्राप्त हुने गरेको सम्बन्धमा उल्लेखित निर्देशनको पालनाको यथार्थ अवस्थाको (२०७८ साउनदेखि असोज ४ गतेम्मको) विश्लेषण गरी सोसँग सम्बन्धित वर्कसिटको सफ्ट कपी यस विभागको इमेल ठेगानामा मिति २०७८ असोज ७ गतेभित्र उपलब्ध गराई दिनुहुन अनुरोध छ,’ बैंक सुपरिभिज विभागका कार्यकारी निर्देशक डा. गुणाकरण भट्टको हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्त कम्पनीले नियम विपरित गएर ब्याजदर बढाउने बैंकलाई घटाउनसमेत निर्देशन दिइसकेको छ । जसकारणले गर्दा मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, प्रोगेसिप फाइनान्स, मञ्जीश्री फाइनान्सले यसअघि अफर गरेको मुद्दति निक्षेपको ब्याजदर घटाइ सकेका छन् ।

राष्ट्र बैंकले गत वर्षको साउनमा निर्देशन जारी गर्दै बैंक तथा वित्त कम्पनीले बचत र मुद्दति निक्षेपको ब्याजदरमा ५ प्रतिशतको अन्तर (स्प्रेडदर) र रेमिट्यान्स मुद्दतिमा ६ प्रतिशत कायम गर्नु पर्ने उल्लेख छ ।

आगामी महिनामा लागू हुने ब्याजदर अघिल्लो महिनाको मसान्तमै सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

साथै, एक पटक सार्वजनिक गरेको ब्याजदर एक महिनासम्म परिवर्तन गर्न नपाउने व्यवस्थासमेत गरिसकेको छ ।
तर, बैंक तथा वित्त कम्पनीहरुले यस पटक भने असोज महिनामा लागू हुने निक्षेपको ब्याजदर भदौ मसान्तअघि नै सार्वजनिक गरेका छन् ।

केही बैंक तथा वित्त कम्पनीले यसअघि सार्वजनिक गरेको ब्याजदर एक महिना नै नपुग्दै पुनावलोकन भन्दै नयाँ ब्याजदर घोषणा गरेका छन् । सोमा छानबिन गर्न राष्ट्र बैंकले बैंकहरुलाई कर्जा तथा निक्षेपको ब्याजदरको विवरण र प्रिमियमको विवरण पठाउन निर्देशन दिएको हो ।


क्लिकमान्डु