एक सातामै विकास बैंकहरुले साढे २ अर्बले निक्षेप बढाएर साढे ५ अर्ब कर्जा दिए



≈काठमाडौं । भदौको अन्तिम साता विकास बैंकहरुले निक्षेपभन्दा बढी कर्जा विस्तार गरेका छन् ।

डेभलपमेन्ट बैंकर्स एशोसियशनद्वारा प्राप्त तथ्यांकअनुसार गत भदौ २६ गतेसम्म विकास बैंकहरुले ४ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । असोज १ गतेसम्म आइपुग्दा निक्षेप संकलन २ अर्ब ४८ करोड रुपैयाँले थप गरी ४ खर्ब ५१ अर्ब ८१ करोड रुपैयाँ पुर्‍याएका छन् ।

यस्तै, कर्जातर्फ विकास बैंकहरुले गत भदौ २६ गतेसम्म ३ खर्ब ९६ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । असोज १ गतेसम्म आइपुग्दा विकास बैंकहरुले कर्जा प्रवाह ५ अर्ब ५१ करोड रुपैयाँले थप गरी ४ खर्ब २ अर्ब ४० करोड रुपैयाँ पुर्याएका छन् ।

एक सातामा विकास बैंकहरुले निक्षेप संकलन ०.५५ प्रतिशत र कर्जा प्रवाह १.३९ प्रतिशतले बढाएका हुन् ।

हाल ८ वटा राष्ट्रियस्तर र १० वटा क्षेत्रियस्तरका गरी १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । संघद्वारा उपलब्ध तथ्यांकमा कर्पोरेट डेभलपमेन्ट बैंक, साहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्यांक समावेश गरिएको छैन ।

राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले भदौ २६ गतेसम्म ४ खर्ब १७ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६८ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

एक सातापछि अर्थात् असोज १ गतेसम्म आइपुग्दा यी विकास बैंकहरुले निक्षेप संकलन ०.५९ प्रतिशत र कर्जा प्रवाह १.४६ प्रतिशतले बढाएका डेभलपमेन्ट बैंकर्स संघको तथ्यांकले देखाएको छ । एक सातामै राष्ट्रियस्तरका विकास बैंकहरुले २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ३९ करोड कर्जा प्रवाह थप गरेका हुन् ।

यस्तै, क्षेत्रियस्तरका विकास बैंकहरुमा साहारा विकास बैंक र साल्पा विकास बैंक बाहेक ७ वटा विकास बैंकहरुले भदौ २६ गतेसम्म ३१ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एक सातामा क्षेत्रियस्तरका विकास बैंकहरुको निक्षेप ८ लाख रुपैयाँले घटेर ३१ अर्ब ९७ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ । सो अवधिमा क्षेत्रियस्तरका विकास बैंकहरुको कर्जा प्रवाह भने १२ करोड ६६ लाख रुपैयाँले थप भएर २८ अर्ब २० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु