मोफसलमा केन्द्रित हुँदै हाउजिङ र अपार्टमेन्ट, मूल्य डेढ करोड माथि



काठमाडौं । विगतमा उपत्यकामात्रै केन्द्रित भई हाउजिङ तथा अपार्टमेन्टको विकास हुन्थ्यो । उपत्यकामा केन्द्रित अपार्टमेन्ट र हाउजिङ पछिल्लो समय मोफसलमा केन्द्रित हुँदै निर्माण हुने क्रम बढ्न थालेको छ ।

२०७२ सालको भुकम्पले निकै प्रभावित भएको यस क्षेत्रमा त्यसपश्चात अपार्टमेन्ट निर्माणमा सुस्त आएको पाइन्छ ।

नेपाल जग्गा तथा आवास संघले पनि भुकम्पपश्चात अपार्टमेन्ट निर्माण कार्य तीब्ररुपमा बढ्न नसकेको स्वीकार्छन् । यस्तै, भुकम्पका कारण निकै प्रभावित भएको क्षेत्र विस्तारै तंग्रिन थालेको छ ।

उपत्यकाका रिङरोडभित्र हाउजिङ तथा अपार्टमेन्ट निर्माण गर्न पर्याप्त जग्गा उपलब्ध नहुँदा हाल व्यवसायीहरूले काठमाडौं छेउछाउ केन्द्रित गर्दै अपाटर््मेन्ट र हाउजिङ निर्माण कार्य अघि बढाएको छ ।

काठमाडौंमात्रै नभएर मोफसलमा व्यवस्थित आवासको विकास गर्ने उद्देश्यका साथ देशका विभिन्न ठूला–ठूला शहरहरूमा हाउजिङ र अपार्टमेन्ट निर्माण कार्य तीब्र रुपमा बढेको डेभलपरहरू बताउँछन् । विगतमा काठमाडौंलक्षित निर्माण कार्यमै आबद्ध डेभलपर तथा व्यवसायीहरूले मोफसलमा हाउजिङ र अपार्टमेन्ट निर्माणको कार्य तीब्ररुपमा बढाएको देखिन्छ ।

यस्तै, पछिल्ला समय भैरहवा, रुपन्देही, लुम्बीनी, विराटनगर, पोखरा, बिर्तामोडलगायतका विभिन्न ठूला शहरहरूमा व्यवस्थित आवासको विकास गर्ने गरी तीब्र रुपमा कार्य अगाडि बढाएको छ ।

बोधी होम्स् (भैरहवा)

भैरहवा परम्परागतबाट आधुनिकतर्फ परिणत हुँदै गएकाले बोधी बिल्डर्सले ४ अर्ब लगानीमा ‘बोधी होम्स्’ हाउजिङ परियोजना तीब्र रुपमा अघि बढाएको छ ।

कम्पनीले उक्त क्षेत्रमा ३ सय वटा घर निर्माण गर्ने भएको छ । सो घर पहिलो चरणमा १०५ र दोस्रो चरणमा १९५ वटा घर निर्माण हुने कम्पनीले जनाएको छ ।

कुल १४ बिघा (१८६ रोपनी ६ आना १.८८५ दाम) मा निर्माण सम्पन्न हुने यस परियोजना भैरहवाकै ठूलो आवासीय परियोजना हो । साथै, हाउजिङ परियोजनामा निर्माण हुने घर १३ धुर (६ आना ३ पैसा २.७६४ दाम) देखि १८ धुर (९ आना २ पैसा १.३६६ दाम) सम्मका हुनेछन् । जसमा ३०० घरहरु साढे २ तलासहित ४ वटा विभिन्न डिजाइनमा निर्माण गरिने भएको छ ।

सो घरहरूको मूल्य ११ देखि १४ धुर जग्गा तथा २ हजार ३ सय ३३ वर्गमिटरको घरको मूल्य १ करोड ६० लाख र १७ धुर जग्गा तथा २ हजार ६ सय ९७ वर्गमिटरको घरको मूल्य १ करोड ९० लाख निर्धारण गरिएको छ ।
उक्त परियोजनामा सीए दीपक पाण्डे, सांसद प्रमोद यादव, दिनबन्धु पोखरेल, एनआरएनए छविलाल कुँवर र रविन्द्र कुँवरलगायत अन्य व्यवसायी लगानी रहेको सो घर २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

तिलोत्तमा होम्स् (रुपन्देही)

रुपन्देहीको तिलोत्तमामा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा एकीकृत आवास विकास परियोजना ‘तिलोत्तमा होम्स’को निर्माण भइरहेको छ । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले शुरु गरेको उक्त परियोजनामा सुविधासम्पन्न १२३ वटा आवास बनाउने गरी परियोजना शुरु गरेको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-भैरहवा सडकखण्डको भलबारी चोकदेखि १४ सय मिटर पूर्वतर्फ ७ बिघा क्षेत्रफलमा १२३ वटा घर बनाउने भएको हो ।

उक्त निर्माण भइरहेको आवास ‘ए’ र ‘बी’ समूह गरी दुई थरीको घर निर्माण हुने भएको छ । यी दुुई प्रकारका घर साढे दुई तलाको बन्ने भएको छ । तर, ‘ए’ र ‘बी’ समूहमा बनेको आवासको मूल्य छुट्टाछुट्टै तोकिएको छ ।

निर्माण भइरहेको दुबै प्रकारको घर साढे दुई तलाको बन्नेछ । तर, क्षेत्रफल भने फरक भएकाले दुई वटा समूहमा विभाजन गरेको गरिएको कम्पनीले जनाएको छ ।

उक्त निर्माण भइरहेको ‘ए’ समूहमा ३९ वटा घर बन्नेछ भने ‘बी’ समूहमा ८४ वटा घर बन्नेछन् । जसमा ‘ए’ समूहको घर १४ धुर जग्गामा २९ सय स्क्वायर फिटको क्षेत्रफलमा बन्नेछ । उक्त क्षेत्रफलमा बनेको घरको मूल्य २ करोड ५० लाख तोकेको छ ।

त्यस्तै, बी समूहमा बन्ने घर १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने जनाएको छ । बी समूहमा निर्माण भएको घरको मूल्य भने १ करोड ७५ लाख तोकेको उनको भनाइ छ । यी दुई समूहका घरको क्षेत्रफलमा फरक भए पनि सुविधा भने सबै एकै खालको हुनेछन् ।

विराटनगर कोलोनी (विराटनगर)

विगत लामो समयदेखि व्यवस्थित तथा सुरक्षित आवासको क्षेत्रमा काम गर्दै आएको सीई कन्स्ट्रक्सनले विराटनगरको सनिहाटमा सीई कोलोनी अर्थात् हाउजिङ निर्माण गर्ने भएको छ ।

कम्पनीका अनुसार सीईले विराटनगर ७ सनिहाट क्षेत्रमा साढे ४ आनादेखि ८ आनाको जग्गामा साढे दुई तल्लाको घर बनाउने भएको हो ।

उक्त क्षेत्रमा २ हजार ४५ वर्गफिट र २३ सय ९ वर्गफिटमा २ प्रकारका घर निर्माण बन्नेछन् । जसमा कम्पनीले २७ वटा युनिट बनाउने भएका छन् । निर्माण भइरहेको कोलोनीको मूल्य शुरुवाती मूल्य २ करोडदेखि २ करोड ७० लाख तोकेको छ । सीईले विराटनगरका व्यवसायी सुरेश राठीसँगको सहकार्यमा सो हाउजिङ निर्माण गर्ने भएको हो ।

हाल कम्पनीले २ करोडदेखि २ करोड ७० लाख रुपैयाँसम्म घरको जग्गा र बनावटको हिसाबले मूल्य तोकेको छ ।

द लुम्बिनी हब (लुम्बिनी)

विभिन्न औद्योगिक र व्यापारिक केन्द्र बन्दै गएको लुम्बिनी क्षेत्रमा निजी क्षेत्रले हाउजिङ, अपार्टमेन्ट र तारे होटलसहित सीई कन्स्ट्रक्सन कम्पनीले लुम्बिनीमा ‘द हब लुम्बिनी’को निर्माण गर्ने भएको छ ।

कम्पनीले ग्रान्डी होल्डिङ्स र पर्यटन व्यवसायी योगेन्द्र शाक्यको मुख्य लगानी रहेको उक्त ‘द हब लुम्बिनी’ निर्माण कार्य तीव्ररुपमा भइरहेको जनाएको छ ।

लुम्बिनीको मायादेवी मन्दिरबाट ५ किमि र भैरहवाको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ किमिको दूरीमा बन्ने ‘द हब लुम्बिनीमा’ ७ विघा क्षेत्रफलमा उक्त परियोजना शुरु गरेको हो ।

कम्पनीले ‘द हब लुम्बिनी’ परियोजनामा मिक्स रो हाउजिङ, रेष्टुरेन्ट क्लस्टर, वाटरपार्क, व्यवसायीक भवन, होटल शाक्य मुनी, हाउजिङ क्लस्टर, माया अपार्टमेन्ट, सर्भिस जोन र पार्किङको व्यवस्था गर्ने भएको छ ।

कम्पनीले हाल हाउजिङ निर्माणको लागि प्रतिआनाको जग्गाको मूल्य १२ लाख तोकेको जग्गामा ५ युनिट हाउजिङ बन्नेछ । त्यससँगै कम्पनीले ‘द हब लुम्बिनी’भित्रै ३८ युनिटको अपार्टमेन्ट बनाउनेछन् । उक्त अपार्टमेन्टहरू ४०८ वर्गफीटदेखि २१९३ वर्गफिटसम्म बिल्डअप एरियामा बन्नेछ ।

कम्पनीले स्टुडियोसहिताको अपार्टमेन्टमा कार्पेट १ बीएचके, २ बीएचके अपार्टमेन्ट र ४ बीएचके २१ सय ९३ वर्गफिट रहेको अपार्टमेन्ट अपार्टमेन्ट बनाउनेछन् ।

सुगम र हरिहर कोलोनी (झापा बिर्तामोड)

झापाको बिर्तामोडमा शिवम् हाउजिङ प्रालिले दुई वटा व्यवस्थित कोलोनीको निर्माण कार्य अगाडि बढाएको छ । कम्पनीले २ अर्ब लगानीमा ‘सुगम र हरिहर’ कोलोनी निर्माण कार्य अघि बढाएको छ ।

करिब १० जनाको संयुक्त लगानीमा बन्दै गरेको कोलानी सुविधासम्पन्न कोलोनीमा आ-आफ्नै विशेषता रहेको छ ।

कम्पनीले १ विघा १५ कठ्ठा ६ धुर क्षेत्रफलमा फैलिने ‘सुगम कोलोनी’मा २९ वटा घर बन्नेछ । प्रत्येक घर १५ धुर अर्थात ८ आनामा बन्ने घर दुई तल्लाको हुनेछ । कम्पनीले प्रत्येक घरको मूल्य २ करोड ६० लाख रुपैयाँ तोकेको छ ।

त्यसैगरी कम्पनीले सोही क्षेत्रका ५ विघा ५ कठ्ठा क्षेत्रफल जग्गामा ७० युनिट घरसहित ‘हरिहर कोलोनी’ निर्माण गरिरहेको छ । कम्पनीले हरिहर कोलोनीमा भने परिवारको आकारअनुसार कोलानी निर्माण गर्ने जनाएको छ । बिर्तामोड ६ स्थित बुट्टाबारीमा निर्माण भइरहेको सो कोलोनी विभिन्न टाइपमा छुट्टाछुट्टै बन्नेछ ।

कम्पनीले निर्माण भइरहेका ती घरको शुरुवाती मूल्य १ करोड २० लाख रुपैयाँदेखि साढे ४ करोडसम्म मूल्य तोकेको छ ।

अन्नपूर्ण अपार्टमेन्ट (पोखरा)

त्यसैगरी पर्यटकीय सहरको रुपमा स्थापित पोखरामा व्यवसायी कालु गुरुङको कम्पनी रोड शो रियलस्टेटले ३ वटा अपार्टमेन्ट निर्माण गर्दैछ ।

कम्पनीले सो अन्नपूर्ण अपार्टमेन्टको नामबाट २ वटा र दीप अपार्टमेन्टको नामबाट एउटा अपार्टमेन्ट निर्माण गर्ने योजना बनाएको छ । कम्पनीले उक्त क्षेत्रमा १०८ घरसहित ४० युनिटको अपार्टमेन्ट निर्माण गरेको कम्पनीले जनाएको छ ।


अरिष्मा मोक्तान