पोखरामा विश्वको सबैभन्दा लामो दूरीको सुपरम्यान जीपलाइन शुरु



काठमाडौं । पोखरा घुम्ने जाने पर्यटकका लागि जीपलाइन नौलो होइन । सराङकोटदेखि हेम्जासम्मको १८५० मिटर लम्बाइ भएको जीपलाइन अब सुपरम्यान जीपलाइनमा परिवर्तन भएको छ ।यसअघि बसेर जीपलाइनको मजा लिएकाहरुले अब सुतेर सुपरम्यान पोजमा जीपलाइनको मजा लिन सक्नेछन् । सुपरम्यान जीपलाइनको आइतबार परीक्षण गरिएको छ ।

हाइग्राउण्ड एड्भेञ्चर नेपालका सीओओ दिनेश महर्जनले यो विश्वको सबैभन्दा लामो दूरीको सुपरम्यान जीपलाइन भएको बताए ।

‘पहिले बसेर गर्न मिल्थ्यो, जसमा हामी विश्वको १०औं नम्बरमा थियौं भने सुपरम्यान जीपलाइन बनाएपछि यो विश्वको सबैभन्दा धेरै लम्बाइ भएको सुपरम्यान जीपलाइन हुनेछ,’ उनले भने ।

पोखरा आउने पर्यटकलाई एड्भेञ्जरको थप मजा दिलाउनका लागि सुपरम्यान जीपलाइन शुरु गरिएको उनको भनाइ छ ।

पछिल्लो समय पोखरामा पर्यटकलाई टिकाइ राख्नका लागि जीपलाइनसँगै बञ्जीजम्प, केबुलकारलगायतका पर्यटकीय पूर्वाधारको निर्माण भइरहेको छ ।


क्लिकमान्डु