भारतले ९८ हजार करोड खर्चेर दिल्ली र मुम्बई जोड्ने १३५० किलोमिटर एक्सप्रेस वे बनाउँदै



एजेन्सी । भारत सरकारले ९८ हजार करोड भारु खर्च गरेर १३५० किलामिटर लामो दिल्ली मुम्बई एक्सप्रेस वे बनाउने भएको छ । सो एक्प्रेस वे बनेपछि भारतको राजधानी नयाँ दिल्लीबाट आर्थिक राजधानी मुम्बईको यात्रा करिब १२ देखि १३ घण्टामा तय गर्न सकिनेछ ।

सो योजना २०२३ सम्म पूरा हुने गरी योजना तर्जुमा गरिएको छ । योजनामा जोडिएका केही स्थानमा यसअघि नै सडक निर्माण भइसकेकाले त्यसको क्षमता वृद्धि गरे मात्रै हुने देखिएको छ ।

नयाँ मार्ग बनेपछि दिल्ली र मुम्बईबीचको दुरी १३० किलोमिटरले कम हुनजानेछ । त्यस्तै, सो मार्गमा पर्ने वन तथा जंगलको क्षेत्रमा वन्यजन्तुलाई कुनै पनि असर पर्न नदिनका लागि करिडोर समेत निर्माण हुने भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उक्त एक्सप्रेस वे ८ लेनको हुनेछ । उक्त मार्ग दिल्ली, हरियाणा, राजस्थान, मध्यप्रदेश, महाराष्ट्र हुँदै अगाडि बढ्नेछ । त्यसले जयपुर, किशनगढ, अनमेर, कोटा, चित्तौडगढ, उदयपुर, भोपाल, उज्जैन र इन्दौर, अहमदावाद, बडोदरा जस्ता आर्थिक केन्द्रको सम्पर्क सञ्जालमा समेत सुधार हुने भएको छ ।

हाल राजधानी दिल्लीबाट मुम्बई पुग्न कूल १ हजार ५१० किलोमिटर बराबरको यात्रा गर्नुपर्छ । यो एक्सप्रेस वे भारतमाला परियोजनाको पहिलो चरणको हिस्साको रुपमा अगाडि बढाइएको छ ।

केन्द्रीय मन्त्री नीतिन गड्करीका अनुसार आगामी दिनमा दिल्लीबाट चण्डीगढ, दिल्लीबाट हरिद्वार तथा दिल्लीबाट देहरादुनको यात्रामा केवल दुई घण्टामा पुग्न सकिनेछ । यस्तै दिल्लीदेखि कटराको यात्रा ६ घण्टामा पूरा गर्न सकिनेछ । उनका अनुसार आगामी दिनमा चार घण्टामा नै दिल्लीदेखि अमृतसर पुग्न सकिनेछ ।

दिल्लीमा सो एक्सप्रेस वे ९ किलोमिटरको हुनेछ । त्यसका लागि १८०० करोड भारु खर्च हुनेछ । हरियाणामा १६० किलोमिटरको दुरी रहनेछ । त्यसका लागि कूल १० हजार ४०० करोड भारु खर्च हुनेछ । राजस्थानमा ३७४ किलोमिटर बराबरको दुरी हुनेछ । त्यसका लागि १६ हजार ६०० करोड भारु लगानी हुनेछ ।

मध्यप्रदेशमा २४५ किलोमिटर बराबरको दुरी तय गर्नुपर्नेछ । सो कार्यका लागि ११ हजार १०० करोड खर्च हुनेछ । गुजरातमा ४२३ किलोमिटर दुरी हरनेछ । सो क्षेत्रमा ३५ हजार १०० किलोमिटर खर्च हुने छ । त्यस्तै महाराष्ट्रमा कूल १७१ किलोमिटर दुरी तय गर्नुपर्नेछ । सो क्षेत्रका लागि २३ हजार करोड लगानी रहनेछ ।

एक्सप्रेस वे मा दुर्घटनामा परेका यात्रुलाई जोगाउने अभिप्रायले हेलिप्याण्ड समेत निर्माण गरिनेछ ।

एक्सप्रेस वे को दाँया बाँया किनारामा औद्योगिक करिडोर समेत निर्माण गर्ने योजना रहेको छ ।

दिल्लीदेखि दौसाासम्मको २१४ किलोमिटर सडक २०२२ को मार्चसम्म सकिनेछ । अधिकांश आयोजना सन् २०२२ सम्म पूरा हुनेछ भने केही मात्रै सन् २०२३ मा पूरा योजना छ ।


क्लिकमान्डु