कम पूँजी हुनेका लागि म्युचुअल फण्डको लगानी प्रभावकारीः सरोकारवाला



काठमाडौं । कम पूँजी भएकाहरुका लागि सामुहिक लगानीकोष योजना (म्युचुअल फण्डमा) लगानी गर्नु प्रभावकारी हुने सरोकारवालाहरुले बताएका छन् ।

शुक्रवार मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालको सहयोग र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको म्युचुअल फण्डबारेमा बुझौं र बुझाऔं विषयक भर्चुअल प्रशिक्षण कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मर्चेण्ट बैंकर एशोसिएसनका महासचिव तथा ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले कम पूँजी भएका र दोस्रो बजारमा जोखिम लिन नसक्ने लगानीकर्ताहरुका लागि म्यचुअल फण्डमा लगानी प्रभावकारी हुने बताए ।

कम पूँजी भएका, बजारमा लगानी गर्ने सम्बन्धमा ज्ञान नभएका र जोखिम लिन नचाहने लगानीकर्ताका लागि म्युचुअल फण्डको लगानी सुरक्षित हुने विश्वास ढकालको छ ।

धितोपत्र दोस्रो बजारको लगानी पैसा तिरेर जोखिम किनेको सहर भएकाले बुझेर मात्र यो व्यापारमा लाग्नेले नाफा कमाउने तर्क उनको छ । सूचनाका आधारमा मात्रै धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएकाले सही र तथ्यपरक सूचना आवश्यकता रहेको समेत ढकालको भनाइ छ ।

दोस्रो बजारको जोखिम न्यूनिकरणका लागि एउटै क्षेत्रमा नभएर बिभिन्न क्षेत्रमा लगानी गर्न समेत उनले सुझाव दिएका छन् ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पनि म्युचुअल फण्डमा गरेको लगानीमा जोखिम कम हुने विषय बताए । योजना व्यवस्थापकलेनै लगानीकर्ताहरुको सम्पत्तिको जिम्मा लिएर त्यसको प्रभावकारी व्यवस्थापन गर्ने हुनाले यसमा जोखिम कम हुने धारणा गिरिको छ ।

हाल नियामक निकायबाट १७ ओटा योजना व्यवस्थापकहरुलाई म्युचुअल फण्ड सञ्चालनका लागि अनुमति दिएको बताउँदै उनले दोस्रो बजारमा २५ वटा बन्दमुखी योजनाको २९ अर्ब रुपैयाँ बराबरको पूँजी परिचालन रहेको जानकारी दिए । यी बाहेक चार वटा खुलामुखी योजनाहरु सञ्चालनमा रहेको समेत उनले बताए ।

म्युचुअल फण्डले धितोपत्र बजारमा आकार लिइसकेको अवस्थामा यसलाई अझ अघि बढाउन आवश्यक रहेको समेत गिरिको भनाइ छ । म्युचुअल फण्डले दोस्रो बजारको माग र आपुर्ति सन्तुलनका लागि काम गर्नुपर्ने माग आइरहेको अवस्थामा उनले म्युचुअल फण्ड पनि अन्य लगानीकर्ता सरह भएको प्रष्ट पारे ।

म्युचुअल फण्डहरुले साना साना लगानीकर्ताहरुको पूँजीको जिम्मा लिई थोरै भएपनि प्रतिफल वितरण गर्नुपर्ने भएकाले उ त झनै चनाखो भएर लगानीगर्नुपर्ने भनाइ गिरिको छ ।

सञ्चारमाध्यमबाट आम लगानीकर्ताहरुलाई सहज तरिकाले म्युचुअल फण्डको वारेमा सुचना सम्प्रेषण गर्ने उदेश्य सहित आयोजना गरिएको उक्त कार्यक्रममा म्युचुअल फण्डका विविध विषयमाथि प्रष्ट पार्दै एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले अन्तर्राष्ट्रिय बजारमा खुलामुखी योजनाहरुनै म्युचुअल फण्डका रुपमा परिचित भएकाले नेपालमा पनि खुलामुखी योजनाकै भविश्य राम्रो रहेको समेत बताए ।

मर्चेण्ट बैंकर एशोसिएसनका अध्यक्ष मेखबहादुर थापाले पछिल्लो समय संस्थागत लगानीकर्ताहरुसँगै अन्य व्यक्तिगत लगानीकर्ताहरुमा पनि म्युचुअल फण्डप्रति आकर्षण बढ्दै गएकाले आगामी दिनमा यस्ता योजनाहरु बढाएर लैजानुपर्ने आवश्यकता औल्याएका छन् ।

म्युचुअल फण्डका सम्बन्धमा आम लगानीकर्ताहरुलाई थप जानकारी गराउन नाफिजको माध्यमबाट निरन्तर सहकार्य गर्ने प्रतिवद्धता समेत अध्यक्ष थापाले गरेका छन् ।


क्लिकमान्डु