तराईका जिल्लामा सिंचाइ ग्रीड बनाउँदै विद्युत् प्राधिकरण



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तराईका जिल्लामा कृषि उत्पादनमा सहयोग गर्ने लक्ष्यका साथ सिंचाई ग्रीड र प्रसारण लाइन निर्माण गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको योजना अनुसार कृषि उत्पादन बढाई आत्मनिर्भर कृषि उपजको लक्ष्यका साथ सिंचाइ ग्रीड र प्रसारण लाइनको योजना अगाडि सारिएको हो ।

देशभित्र नै बिजुली खपत बढाउने यो एउटा अर्को उपाय हुन सक्ने देखिएको छ । पूर्वदेखि पश्चिम नेपालको तराईमा कृषियोग्य भूमि उल्लेख्य मात्रामा रहेपनि सिँचाइको अभाव रहेको छ । तराईकै कतिपय जिल्लामा हुने खेतीपाती पनि आकाशे पानीको भरमा भइरहेको छ ।

सोही अवस्थालाई मध्यनजर गरेर सिंचाई ग्रीड निर्माण गर्ने योजना अगाडि सारिएको हो । यस्तै, सोही अवधारणा अनुसार मध्यपहाडी क्षेत्रमा रहेका टार तथा फाँटहरुमा पनि सिंचाइका लागि यस्तै प्रणालीको खोजी भइरहेको छ ।

तराईका जिल्लाहरुमा ठूला क्षमताका ट्यूबेल जडान गरी त्यसमा बिजुली खपत गराउन सकिने अवस्था छ । प्राधिकरणको प्रणालीमा प्रर्याप्त मात्रामा बिजुली उपलब्ध भएपनि उद्योग प्रतिष्ठानले बिजुली पाउन सकेका छैनन् ।

यस्तै, वार्षिक झण्डै ५० अर्ब बराबरको कृषि उपज आयात भइरहेको छ । यो अवस्थालाई मध्यनजर गरेर कृषिको उत्पादकत्व बढाउन समेत सिंचाइ ग्रीड र प्रसारण लाइनको सोच अगाडि बढाइएको ऊर्जा मन्त्री पम्फा भुसालले सार्वजनिक रुपमा नै बताइसकेकी छिन् ।

एकातिर बिजुली खेर जाने अवस्था आएको छ , अर्को तर्फ कृषि योग्य भूमि बाँझै रहेको छ । अर्कातर्फ ठूलो मात्रामा बिजुली खपत हुने औद्योगिक क्षेत्रमा प्रसारण लाइनको समस्या एवम् अन्य प्राविधिक कठिनाईका कारण सहज रुपमा उपलब्ध हुन सकेको छैन ।

तराईका जिल्लामा खेतीका लागि विदेशबाट खरिद गरेर ल्याइएको डिजल खपत गरेर मोटर चलाउनु परेको छ । डिजलको खपत कम गराउने र सिंचाईमा बिजुली नै उपयोग गर्ने नीतिका साथ सो कार्यक्रम अगाडि सारिएको प्राधिकरणको भनाइ छ ।


क्लिकमान्डु