नयाँ ऋणीलाई बेसरेट दोहोरो अंकमा, कात्तिकदेखि पुरानालाई ब्याजको भार थपिने



काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर ०.५ प्रतिशतदेखि ३ प्रतिशतसम्मले बढाएका छन् । जसले गर्दा कर्जाको ब्याजदर समेत बढ्ने निश्चित भएको छ ।

प्रणालीमा लगानी योग्य रकम (तरलता) अभाव हुँदै गएपछि स्रोत व्यवस्थापनका लागि बैंकहरुले निक्षेपकर्ता आकर्षित गर्दै ब्याजदर बढाएका हुन् । यसले स्रोतको खर्च महंगो भएसँगै बेसरेट समेत बढ्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘सरकारको खातामा पैसा थुप्रिदा नगर्दा बैंकहरुसँग थप कर्जा दिने रकम नहुँदा बैंकहरुले स्रोत व्यवस्थापनका लागि निक्षेपको ब्याजदर बढाएका हुन्,’ संघका अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने, ‘निक्षेप महंगिएपछि वाणिज्य बैंकहरुको बेसरेट समेत औषतमा १ प्रतिशतसम्मले बढ्ने निश्चित छ ।’

पुराना ऋणीलाई कात्तिकदेखि ब्याजदर बढ्ने भएपनि नयाँ ऋणीको हकमा भने असोज १ गतेदेखि नै बढ्ने उनले बताए ।

‘बेसरेट बढेपछि मात्र पुराना ऋणीको ब्याजदर बढ्छ, कात्तिकमा नयाँ बेसरेट आउला तर नयाँ ऋणीको हकमा भने अब बैंकहरुले १० प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिन सक्दैनन्’ उनले थपे, ‘नयाँ ऋणीलाई बैंकहरुले भोलीका दिनदेखि नै बढेको ब्याजदरमा कर्जा दिन्छन् ।’

बैंकहरुसँग थप कर्जा दिनसक्ने रकम नभएपछि निक्षेपको ब्याजदर बढाएका हुन् । तर सरकारले खर्च बढाएका कात्तिक महिनादेखि ब्याजदर पुरानै अवस्थामा आउने उनले बताए ।

‘असोज महिनामा रेमिट्यान्स पनि राम्रो आउने र सरकारले पनि राम्रो खर्च गर्न सक्ने देखिन्छ,’ उनले भने ‘रि-फाइनान्समा समेत कर्जा दिन पाइने व्यवस्था छ भने राष्ट्र बैंकले १ खर्ब रि-फाइनान्स थप लिन सक्ने बताएको छ ।’

जसले गर्दा बैंकिङ प्रणालीमा तरलता सहज हुनसक्ने देखिन्छ । अवस्था सहज भएमा कात्तिकदेखि ब्याजदर पहिलेकै अवस्थामा आउनसक्ने उनको अनुमान छ ।

प्रणालीमा लगानी योग्य रकम संकुचन हुँदै गएपछि बैंकहरुले निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा नै गरेर बढाएको उनको भनाइ छ ।


क्लिकमान्डु