प्रतिस्थापन विधेयकअघि तलब र पेन्सन बाहेक अन्य शीर्षकमा भुक्तानी नगरिने



काठमाडौं । बजेट अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक संसदमा पेश गर्नुअघि सरकारी कर्मचारीको तलब र निवृत्तभरण (पेन्सन) बाहेकका कुनैपनि शीर्षकमा बजेट भुक्तानी सरकारले निर्देशन दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयले बिहीबार सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा ईकाई कार्यालयलाई परिपत्र गर्दै बजेट भुक्तानी रोक्न निर्देशन दिएको हो ।

‘चालु आर्थिक वर्ष २०७८/७९ को बजेट रकम निकासा सम्बन्धमा तलब भत्ता र निवृत्तभरण बाहेक कुनै पनि निकासा बिहीबार देखि शनीबारसम्म नगर्न नगराउन हुन सँगै यो अवधिमा निकासा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने निकासा गर्ने अधिकारी नै जिम्मेवार हुनेछ,’ महालेखा नियन्त्रक कार्यालयले जारी गरेको परिपत्रमा भनिएको छ ।

सरकारले शुक्रबार प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । प्रतिस्थापन विधेयकमा भएको व्यवस्था र भुक्तानी भएको विषयमा तादम्यता मिलाउनका लागि बिहीबार बाटै भुक्तानी नदिन भनेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

‘लेखाङ्कन गर्न र विवरण राख्न सजिलो होस भनेर हामीले भुक्तानी रोकेका हौं,’ महालेखा नियन्त्रक कार्यालयका एक अधिकारीले भने, ‘प्रतिस्थापन विधेयकमा भएको व्यवस्थाअनुसार भुक्तानीको तादम्यता मिलाउनका लागि यस्तो सूचना जारी गरिएको हो ।’


क्लिकमान्डु