सफलताको कथाः कपाल काटेरै अर्बपति



सामान्य मानिस पनि मेहनतले धनी बन्न सक्छ । अभावले नै सिकाउँछ, संघर्ष गर्न सक्ने बनाउँछ । पसिनाको बलमा खडा हुने संसार आफैमा सुन्दर हुन्छ । किनकी, आम मानिसले गरिरहेकै काम फरक तरिकाले गर्दा पनि ठूलो सफलता प्राप्त गर्न सकिन्छ ।

पछिल्ला दिनमा आफनै बलबुतामा अर्बपति हुने मानिसहरुको संख्यामा बढोत्तरी हुँदै गएको छ । उनीहरुले आम संसारलाई पनि नयाँ सन्देश दिएका छन् । जुन, अरुहरुका लागि समेत प्ररेणाको स्रोत बन्न सक्छ ।

पारिवारिक रुपमा असाध्यै कमजोर अवस्थामा रहेकाले राम्रो मेहनत गर्दा पाएको सफलताको खास अर्थ रहने गरेको छ । यस्तै भएको छ, भारतमा । जो कपाल काटेकै भरमा अर्बपति भएका छन् । त्यो पनि भारु अर्बपति होइन, डलर अर्बपति ।

फोब्र्सका अनुसार भारतमा विभिन्न पारिवारिक अवस्था एवं क्षेत्रबाट उदाएका १४० अर्बपति छन् । आम अर्बपति भन्दा फरक अर्का एक अर्बपति पनि छन् । ती व्यवसायबाटै अर्बपति भए भनेर आम रुपमा सोच्न पनि मुस्किल लाग्न सक्छ ।

त्यस्तै फरक अर्बपति हुन् रमेश खासका उनको व्यवसाय नाई (कपाल काट्ने) नै हो । रमेश बाबु भारतका बार्बर बिलेनियर अर्थात् कपाल काट्ने अर्बपति हुन् । उनीसँग ४०० भन्दा धेरै रोल्स रोयल्स, मर्सिडिज बेञ्ज, ज्यागुअर र बिएमडब्ल्यू जस्ता आरामदायी र सुविधासम्पन्न कारहरु छन् ।

उनले सामान्य पारिवारिक अवस्थाबाट प्रगतिको शिखर चढ्न थालेका हुन् । भारतको बैंगलोरमा जन्मेका उनको परिवारमा पाँच सदस्य थिए । उनका बुबा पि.गोपालको केश कर्तनालय थियो । ७ बर्षको हुँदा बुबाको मृत्यु भएसँगै रमेशका संघर्षका दिन सुरु भए ।

घरमा कमाउने कोही पनि थिएनन् । उनकी आमाले अरुको घरमा काम गरेरै भएपनि जेनतेन तीनजना छोराछोरीको लालनपालन गरिन् ।

घरमा कर्तनालय चलाउनसक्ने कोही नभएपछि उनले दैनिक ५ भारुमा पसल भाडामा लगाइन् ।


रमेश १३ बर्षका भएपछि पत्रिका बेच्ने र घरघरमा दूध पुर्याउने काम गरेर अलिअलि आम्दानी गर्न थाले । १० कक्षासम्म उनले पढे । तर पछि कर्तनालय चलाउनुपर्ने भएपछि पढाई छोडे ।

उनले बुबाको पुरानो केश कर्तनालयलाई परिवर्तन गरेर नयाँ स्वरुप दिए अनि नाम राखे ‘इनर स्पेश’ ।सन् १९९३ मा रमेशलाई परिवारलाई अझै राम्रो जीवन दिनुपर्छ भन्ने लाग्यो ।

व्यवसायलाई बढाउनुपर्छ र नयाँ व्यवसायमा हात हाल्नुपर्छ भन्ने लागेपछि उनले कपाल काटेर भएको आम्दानीबाट बचेको पैसा र काकाको सहयोगबाट मारुती ओम्नी भ्यान किने । आफैँले चलाउने समय नभएपछि त्यसलाई भाडामा लगाए ।

त्यही ओम्नी भ्यान नै रमेशको जीवन परिवर्तन गर्ने माध्यम बन्यो । पहिलो व्यवसायले उनलाई व्यवसायका अन्य आयामबारे सोच्न सहयोग गर्यो ।
सन् २००४ सम्म उनका भव्य र सुरुचीपूर्ण गाडी/कारहरु बढ्दै गए । उनले मर्सिडिज इ क्लास सेडान ३८ लाख रुपैँया भारुमा किने ।

अहिले रमेश बाबु केश कर्तनालयसँगै रमेश टुर्स एण्ड ट्राभल्सका पनि मालिक हुन् । उनले कुल ४०० टप–इन्ड कार, बस र अन्य सामान्य कारहरु भाडामा लगाउँछन् । दर्जनौँ इनोवा देखि बीएमडब्ल्यू र रोल्स रोयल्स घोस्ट र मर्सिडिज मेबेकसम्मका गाडी उनको साथमा छन् ।

अर्बपति भएपनि उनको हरेक दिन आधाजसो समय कर्तनालयमा नै बित्छ । आफ्ना ग्राहकको कपाल उनी आफै काट्छन् ।उनी अर्बपति भएसँगै आफ्नै व्यवसाय गर्न चाहने र सफलताको सपना देख्नेका लागि प्रेरणाको स्रोत बनेका छन् ।

उनले भन्ने गरेका छन्– काम सानो ठूलो हुँदैन । त्यसैमा नै ध्यान दिऔं, एकदिन सफलता तपाईको घरमै आइपुग्छ ।


क्लिकमान्डु