दशैंका लागि ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउँदै खाद्य कम्पनी



फाइल

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि तीन हजार खसीबोका र च्याङग्रा ल्याउने भएको छ । कम्पनीले गत वर्षकै हाराहारीमा खसीबोका ल्याउने भएको हो ।

कम्पनीले गत वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रामा १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा ल्याएको थियो । यो वर्ष पनि सोही संख्या बराबरको खसीबोका र च्याङ्ग्रा ल्याउने भएको कम्पनीका नायव महाप्रवन्धक श्रीमणि खनालले बताए ।

खनालले खसीबोका तथा च्याङ्ग्रा ल्याउनका लागि ६ करोड छुट्याउने तयारी गरेको जानकारी दिए ।

‘हरेक वर्ष कम्पनीले उपत्यकाबासीलाई खसीबोका तथा च्याङ्ग्रा ल्याई सहज बनाउँदै आएको छ । यो वर्ष पनि गत वर्षको हाराहारीमा खसीबोका तथा च्याङ्ग्रा ल्याउनका लागि ६ करोड रकम छुट्याउने तयारी गरेको हो,’ उनले भने ।

कम्पनीले हरेक वर्ष बजार मूल्य निर्धारण गर्नका लागि चाडपर्वको समयमा सहुलियत बजार सञ्चालन गर्दै आएका छन् । त्यसैले कम्पनीले हरेक वर्ष कृषकमार्फत् खसीबोका र च्याङ्ग्रा खरिद गरी उपत्यकाबासीलाई आपूर्ति गर्दै आएका छन् ।

नेपालमा खसीबोका पर्याप्त मात्रामा पाइन्छ । तर च्याङ्ग्रा बजारमा मागअनुसार पाउन कठिन हुन्छ । गत वर्ष पनि कम्पनीले १४ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको थियो । तर, नेपाली किसानहरूसँग पर्याप्त च्याङ्ग्रा नहुँदा १ हजार मात्रै ल्याएको थियो ।

‘कम्पनीले अनौपचारिक रुपमा बुझ्दा नेपाली कृषकले सामान्य अवस्थामा आवातजावत हुँदा च्याङ्ग्रा तिब्बतबाट ल्याएर बिक्री गरेको पाइयो,’ उनले क्लिकमान्डूसँग भने, ‘गत वर्ष माग अनुसार आपूर्ति गर्न सकेन । यो वर्ष पनि कोरोना महामारीले गर्दा तिब्बतमा सहजसँग आवतजावत हुन सकेको छैन । त्यसैले यो वर्ष च्याङ्ग्रा कम आउन सक्ने अनुमान गरिएको छ ।’

सामान्य अवस्थाको तुलनामा दशैंतिहारमा च्याङ्ग्राको माग बढी हुन्छ । चाडपर्वको समय भएकाले मानिसले महंगो भए पनि खरिद गर्ने भएकाले बजारमा उक्त च्याङ्ग्राको मूल्य निर्धारण गर्नका लागि ल्याउने गर्दछ ।

कम्पनीले तुलसीपुर, हेटौंडा, मकवानपुरबाट खसीबोका र मुस्ताङलगायत अन्य हिमाली भेगबाट च्याङ्ग्रा ल्याउने गर्दछ ।

सरकारले हरेक वर्ष सस्तो पसल सञ्चालन गर्दै आएको छ । सहुलियत बजार अन्तर्गत कम्पनीले खसीबोका, च्याङ्ग्रा, अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, चिनी, घिउलगायतका खाद्य वस्तु बिक्री गर्दै आएको छ ।

असोज १ गतेबाट सहुलियत बजार सञ्चालन गर्ने तयारी

सरकारले दशैं, तिहार छठ चाडपर्व नजिकिँदै गर्दा आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक सूचना जारी गर्दै चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि सुपथ मूल्य असोज १ गतेबाट छठपछिको १ हप्तासम्म सञ्चालन गर्ने भएको हो ।

सरकारले समान्यतया घटस्थापना शुरू हुनुभन्दा १५ दिन अगाडिबाट सहुलियत पसल सञ्चालन गर्दै आएको छन् । यो वर्ष मन्त्रिपरिषद्को बैठकले असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय भएकाले यस विषयामा छलफल गर्ने भएको छ । साथै वैठकले सो निर्णय गरेकाले कम्पनीले छलफलमार्फत् टुङ्गो लगाउने उनले जानकारी दिए ।


क्लिकमान्डु