अमेरिकाबाट फर्केर कर्माले ६ अर्बमा बनाउँदैछन् अपार्टमेन्ट र पाँचतारे होटल



काठमाडौं । २०७२ सालको वैशाख १२ गते राजधानी काठमाडौंलगायतका जिल्लामा भूकम्पको धक्काले संरचना ध्वस्त हुँदा कर्मा तेञ्जिङ अमेरिकाको वालस्ट्रिटमा थिए । भूकम्प र त्यसपछिका पराकम्पले भवन र समाज ध्वस्त बनाउँदै गर्दा ढलेका भवन र मनलाई फेरि उठाउन संसारभरबाट नेपालमा सहयोग ओइरिँदै थियो ।

त्यहीबेला अमेरिकाको वालस्ट्रिटमा आफ्नै कर्ममा रमाइरहेका कर्मालाई भूकम्पले ध्वस्त बनाएको सहरमा महलम लिएर जान घच्घच्यायो ।


भूकम्पले बनाएको घाउमा महलम बोकेर नेपाल फर्किए कर्मा । सामाजिक र परोपकारी सहयोगमा रमाउने कर्माले त्यसपछि सँधैका लागि अमेरिका फर्किन मन लागेन । भूकम्पको घाउ केही निको भएपछि उनी अमेरिका गए र फेरि स्वदेशमै बस्ने गरी नेपाल फर्किए ।

सन् १९९८ मा कलेज पढ्न अमेरिका गएका कर्माले भूकम्प अघिसम्म १७ वर्ष बिताए । पढाइ र कामका सिलसिलामा ठूला कम्पनी र प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेर काम गरे, ज्ञान बाँडे ।

लिमन ब्रदर्स, मोर्गान स्ट्यान्लेनलगायतका कम्पनीमा काम मात्रै गरेनन् कर्माले प्रध्यापकका रुपमा विश्वविद्यालयमा अर्थशास्त्र पढाए । अमेरिकामै रहँदा केटीएम इन्टरनेइनमेन्ट नामक कम्पनी पनि शुरुवात गरे ।

कर्माको पुख्र्यौली थलो मनाङ भए पनि उनीसँग मनाङको तस्बिर मानसपटलमा छैन । कर्माका बुवा व्यापारको सिलसिलामा करिब ६० वर्षअघि काठमाडौं छिरेका थिए । त्यसपछि बढ्दै गएको व्यापारको गतिले मनाङसँग साइनो धमिलो बनाउँदै गयो ।

कर्माले दार्जिलिङको सेन्ट पौल स्कुल र बिसप कटन स्कुलबाट प्रारम्भिक शिक्षा आर्जन गरे । त्यसपछि उनी सन् १९९८ मा अण्डर ग्राजुएटका लागि अमेरिकाका लागि विमान चढेका थिए । उसो त कर्माको पारिवारिक पृष्ठभूमि पनि व्यवसाय नै हो । जसले कर्मालाई व्यवसायमा लाग्ने प्रेरित गरिरह्यो ।

तत्कालीन समयमा मनाङबाट काठमाडौंसम्म आएका उनका बुबाले ठमेलमा नावल भ्यू गेष्ट हाउस सञ्चालन गरेका थिए भने महाराजगञ्जमा काठमाडौं भ्याली पब्लिक स्कुल स्थापना गरेका थिए ।

अमेरिकामा रहँदा न्यूयोर्क विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक तह पूरा गरेपछि उनले फोर्डह्याम विश्वविद्यालयमा अर्थशास्त्रनै पढे । उनले मेट्रोपोलिटियन कलेज अफ न्यूयोर्कमा अर्थशास्त्रको प्राध्यापकका रुपमा समेत काम गरे ।

नेपालमा फर्केपछि…

महाराजगञ्जमा काठमाडौं भ्याली पब्लिक स्कुल पहिलेदेखि नै सञ्चालनमा थियो । उक्त स्कुलमा उनी आफैं संलग्न भए । प्रधानाध्यापक समेत भए । त्यसको केही समयपछि नागपोखरीमा ममः रेष्टुराँ सञ्चालन गरे । दार्जिलिङको ममःको स्वाद चखाउने अभिप्रायले उनले शुरुवात गरेको ‘ममः कर्मा रेष्टुराँ’ छोटो समयमै लोकप्रि भयो । हाल उनले रेष्टुराँको शाखा बिस्तार गर्ने योजना बनाएका छन् ।

स्कुल र रेष्टुराँ सञ्चालन गरिरहेका उनी आफैंमा भने पर्वतारोहणमा रमाउने व्यक्ति हुन् । सगरमाथा, मनास्लु तथा किलोमञ्जारो हिमाल आरोहण गरिसकेका छन् । उनी आफैंले पनि पर्वतारोहण सम्बन्धी कम्पनी इन टु द हिमालयन ट्रेक्स एण्ड एक्सपेन्डिसन सञ्चालन गर्छन् । जसले स्वदेशी र विदेशी हिमाल आरोहीहरुलाई समन्वय र व्यवस्थापनको काम पनि गर्छन् ।

६ अर्बमा शानदार अपार्टमेन्ट र पाँचतारे होटल

महाराजगञ्जमा सञ्चालन भइरहेको स्कुललाई उनले बनस्थलीमा सारेका छन् । उक्त खाली जग्गामा उनले शाखदार अपार्टमेन्ट र पाँचतारे होटलको भवन निर्माण गर्दैछन् ।

करिब ५० वर्षअघि खरिद गरिएको साढे ११ रोपनी क्षेत्रफलमा होटल र अपार्टमेन्ट निर्माण गर्न लागिएको कर्माले जानकारी दिए ।

शुरुवाती चरणमा ८२ युनिटको अपार्टमेन्टको भवन निर्माण हुनेछ भने दोस्रो चरणमा १९० वटा अर्पाटमेन्ट निर्माण हुनेछ । अपार्टमेन्टसँगै मेरियट ब्राण्डको ‘ले मेरिडियन’ होटल सञ्चालनका लागि होटलको भवन निर्माण शुरु भइसकेको छ । यी दुबै भवन एकैसाथ निर्माण हुँदैछन् ।

कर्माले अपार्टमेन्टको बुकिङ आगामी फेब्रुअरी वा मार्च महिनादेखि शुरु हुने बताए । जसको शुरुवाती मूल्य ३ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको हुनेछ । कर्माले ‘मिड लग्जरीदेखि लग्जरी’ वर्गलाई लक्षित गरी अपार्टमेन्ट निर्माण गर्न लागिएको छ । जसमा २ बीएचकेदेखि ४ बीएचकेसम्मका अपार्टमेन्ट निर्माण हुनेछ । अपार्टमेन्टको क्षेत्रफल १ हजार स्वायर फिटको हुनेछ ।

त्यसका साथै मेरियट अन्तर्गतको ‘ले मेरिडियन’ होटलको निर्माणको काम पनि शुरु भइसकेको छ । अमेरिकी दूतावास नजिकै निर्माण गर्न लागिएको यो होटल पाँच तारे डिलक्स होटलका रुपमा सञ्चालन हुनेछ । सुविधा सम्पन्न अपार्टमेन्टमा जीम र साउनका साथै, स्वीमिङ पुल, कम्युनिटी हल, बगैँचा समेत निर्माण हुनेछ ।

मेरियट अन्तर्गतको ले मेरिडियन होटल सञ्चालनका लागि केहीसमय अघि सम्झौता समेत भइसकेको छ । मेरियटको चेन होटलका रुपमा हाल नक्सालमा होटल मेरियट सञ्चालनमा छ भने मोक्सी होटल पनि सञ्चालनको तयारीमा छ ।

उक्त होटलमा १७० वटा रुम हुनेछन् भने क्यासिनो पनि सञ्चालन हुनेछ । होटलमा बलरुम, बैंकट हल, रेष्टुराँ, लाउञ्ज एण्ड बार, जीम र साउन, स्वीमिङ पुललगायतका सुविधाहरु पनि उपलब्ध हुनेछन् ।

हाल होटल निर्माणको काम शुरु भइसकेको छ भने यो होटल सन् २०२५/२६ देखि सञ्चालनमा ल्याउने लक्ष्य समेत लिइएको छ ।


कमलकुमार बस्नेत