लगानीकर्ता समूहले राष्ट्र बैंकका प्रवक्तालाई मागपत्र बुझाएर फर्किए



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक पुगेका आन्दोलतरत लगानीकर्ताहरुले मागपत्र प्रवक्ता देवकुमार ढकाललाई बुझाएर फर्किएका छन् ।

नियोजितरुपमा सेयर बजार घटाउने नीति मौद्रिक नीतिमा गरेको भन्दै लगानीकर्ताहरुको समूह गभर्नरको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका थिए ।

तर राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार निषेधित क्षेत्र भएका हुँदा आन्दोलनरत लगानीकर्ताहरु सबै राष्ट्र बैंकमा प्रवेश गर्न पाएनन् । उनीहरुले लामो समयसम्म राष्ट्र बैंकको गेटमै धर्ना दिएपछि मागपत्र प्रवक्ता ढकाललाई बुझाएर फर्किएका हुन् ।

सेयर धितो कर्जामा राष्ट्र बैंकले लिएको नयाँ नीतिका कारण बजार घटेको आरोप लगानीकर्ताहरुको छ । राष्ट्र बैकले मौद्रिक नीतिमा एकजना लगानीकर्ताले एउटा बैंकबाट ४ करोड रुपैयाँ र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

उक्त नीतिलगायत राष्ट्र बैंकले कर्जा नोक्सानी, लाभांश वितरण, पुँजीगत लाभकर लगायतमा गरेका अन्य प्रावधानहरु खारेज गर्नुपर्ने माग लगानीकर्ता समूहको छ ।

सोमबार शंकरदेव कलेजबाट करिब ५ सयभन्दा बढी लगानीकर्ताको समूहले राष्ट्र बैंकका गभर्नरविरुद्ध विरोध र्याली निकालेका थिए ।


क्लिकमान्डु