चियाको निर्यात ६२ प्रतिशतले घट्यो



काठमाडौं । नेपालीमा उत्पादन भएको वस्तु तथा सेवामा अलैंचीपछि सबैभन्दा बढी निर्यात हुने वस्तु हो चिया । कोरोना भाइरस महामारीले गर्दा निकै प्रभावित भएको अवस्थामा पनि गत वर्ष उच्च चिया निर्यात भएको थियो ।

तर चालु आर्थिक वर्षको पहिलो महिनामै चिया निर्यातमा भारी गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा चालु आवमा ६२.५५ प्रतिशतले निर्यात कमी आएको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालबाट ७५ करोड ७३ लाख रुपैयाँ बराबरको २८ लाख १ हजार ९ सय केजी कालो चिया निर्यात भएको थियो ।

सोही अवधिमा चालु आवमा भने २८ करोड ३५ लाख रुपैयाँ बराबरको ११ लाख ११ हजार ४ सय केजी चिया निर्यात गरेको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा कोरोना महामारीका कारण प्रशोधन तथा निर्यातमा असर परेको थियो । जसले गर्दा उत्पादन तथा प्रशोधनमा निकै समस्या भएर निर्यात गर्न सकेको थिएन । तर गत आवमा कोरोना महामारीले गर्दा चिया क्षेत्रमा कुनै असर नपरेकोले उल्लेखनीय निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

नेपालले गत आवमा मात्रै ३ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १७ लाख ६२ हजार केजी निर्यात गरेको छ । जुन हालसम्मकै उच्च हो ।

पहिलो चरणको कोरोनाले उत्पादन, प्रशोधन तथा निर्यातमा निकै असर परेकाले गत वर्ष भने सरकारले कुनै असर नहुने काम गरेको हुनाले चियाको निर्यात बढेको बोर्डले जनाएको छ । चियाको उत्पादन तथा प्रशोधन गर्ने मौसम अनुसार हुने गर्दछ । मौसम अनुसार प्रशोधन भई दैनिक रुपमै निर्यात हुने गर्दछ । त्यसैले सबै महिनामा एउटै गतिमा निर्यात नहुने बोर्डका प्रवक्ता दीपक खनाल बताउँछन् ।

उनका अनुसार मौसम अनुसार उत्पादन भई प्रशोधन हुने चियाको महिनामा बराबर हिसाबले निर्यात हुने भन्ने हुँदैन । प्रशोधन भई बाँकी भएको चिया दैनिक रुपमा निर्यात हुन्छ । त्यसैले कुनै महिना कम र कुनै महिना बढी हुने निर्यात हुने हो ।

नेपालमा उत्पादित चियाको अधिकांश हिस्सा भारतले ओगटेको छ । चालु आवको साउन महिनाको तथ्याङ्कले करिब शत प्रतिशत हिस्सा नै भारततर्फ निर्यात भएको तथ्याङ्कले देखाउँदछ ।

चालु आवमा २८ करोड ३५ लाख ५७ हजार रुपैयाँ बराबरको ११ लाख ११ हजार केजी चिया निर्यात गर्दा भारततर्फ २७ करोड ८७ लाख रुपैयाँ बराबरको ११ लाख ४ हजार केजी चिया भारततर्फ निर्यात भएको छ । त्यस्तै अमेरिकातर्फ २९ लाख ३३ हजारको ६ हजार केजी चिया निर्यात भएको छ । साथै अन्य देश चीन, रुस, जर्मनी, डेनमार्कमा थोरै मात्रामा निर्यात भएको छ ।

मुलुकभर मुख्यतः ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा व्यावसायिक चिया खेती हुन्छ । नेपालबाट निर्यात मात्रै नभएर आयात पनि उल्लेखनीय गर्दै आएका छन् । नेपालले वार्षिक रुपमा ६ करोेडदेखि ८ करोडसम्म आयात गर्ने गरेको तथ्याङ्कले देखाउँदछ ।

६ वर्षमा कति भयो निर्यात/आयात ?
नेपालले वार्षिक अर्बौ रुपैयाँको निर्यात गरेसँगै करोडौंको आयात हुने गरेको तथ्याङ्कले देखाउँदछ ।

तथ्याङ्क अनुसार वार्षिक ६ करोडभन्दा बढी मूल्य बराबरको आयात हुने गरेको छ । जसमा सन् २०१६ देखि २०२१ सम्ममा १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँको निर्यात गरेको छ । सोही अवधिमा नेपालले ४३ करोड २४ लाखको आयात गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले उल्लेख गरेको छ ।


क्लिकमान्डु