वाणिज्य बैंकभन्दा ३१ वटा लघुवित्तको प्रतिसेयर आम्दानी धेरै



काठमाडौं । पछिल्लो समयमा लघुवित्त संस्थाहरुमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । कारण लघुवित्त कम्पनीहरुले दिने सेयरको प्रतिफल अर्थात् प्रतिसेयर आम्दानी बढी हुनु हो ।

वर्षैदेखि बैंक, बीमा कम्पनी र हाइड्रोलगायतमा लगानी गरेर बसेका लगानीकर्ता समेत पछिल्लो समय लघुवित्तको सेयर खरिदमा लागेको देखिन्छ । जसका कारण लघुवित्त कम्पनीहरुको सेयरमा उछाल देखिएको छ ।

तथ्यांक हेर्दा अधिकांश लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी सबै वाणिज्य बैंकको तुलनामा बढी देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार ३१ वटा लघुवित्तको प्रतिसेयर आम्दानी (इपीएस) बढी छ ।

हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरमा राष्ट्रिय वाणिज्य बैंक बाहेक २६ वटा नेपाल स्टक एक्स चेञ्ज (नेप्से) मा सूचिकृत छन् । यी वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४७ पैसादेखि ३३ रुपैयाँ ४० पैसासम्म छ ।

तर, नेप्सेमा सुचिकृत ५० वटा कम्पनीमा हाल कारोबार भइरहेको ४१ वटा कम्पनीको १२ रुपैयाँ ४० पैसादेखि १ सय १३ रुपैयाँ ३४ पैसासम्म छ ।

कुल लघुवित्तमध्ये ३१ वटा लघुवित्तको प्रतिसेयर आम्दानी सबै वाणिज्य बैंकहरुको भन्दा बढी छ । प्रतिसेयर आम्दानीमा एनएमबि लघुवित्तदेखि जीवन विकास लघुवित्तसम्म ३१ लघुवित्तले वाणिज्य बैंकहरुलाई प्रतिसेयर आम्दानीमा जितेका छन् ।

यसैगरी वाणिज्य बैंकहरुको कुल प्रतिसेयर आम्दानीभन्दा लघुवित्तसंस्थाहरुको २३९ प्रतिशतले प्रतिसेयर आम्दानी बढी छ ।

प्रतिसेयर आम्दनी भनेको के हो ?
प्रतिसेयर आम्दानी भनेको कम्पनीको एक कित्ता सेयरबराबरको आम्दानी हो । कुनै पनि कम्पनीको सेयर लगानीकर्ता प्रतिकित्ता कमाउने आम्दानीलाई नै प्रतिसेयर आम्दानी भनिन्छ । कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ । यो सेयरको मूल्य मापन गर्ने एक महत्वपूर्ण आधार हो ।

प्रतिसेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल । यसले कम्पनीको नाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।


क्लिकमान्डु