पहिरोले पोल ढालेपछि ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रणाली बाहिर



काठमाडौं । पर्वतको सदरमुकाम कुस्मा नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युतगृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने विद्युत् पोल पहिरोका कारण ढलेको छ ।

विद्युत् पोल ढल्दा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित निजी क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको ६८.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । साथै, पर्वत, बाग्लुङ, म्यादी र मुस्ताङको विद्युत् आपूर्ति बन्द भएको छ ।

मोदी–१ जलविद्युत आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टाबरलाई पहिरोले ढालेको हो । टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो ।

प्राधिकरणले टावर मर्मतको काम तत्काल शुरु गर्न र विद्युत् आपूर्ति निरन्तर बनाउन वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई खटाएको छ ।

‘इमर्जेन्सी रेस्टोरेसन टावर’मार्फत तत्काल काम शुरु गरि विद्युतगृहहरु सञ्चालन तथा बैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘लेदो आइरहेका कारण टावर ढलेको स्थानमा हाम्रो टिम जान सकेको छैन, इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी जतिसक्दो छिट्टो लाइन सुचारु गर्न प्रयास गरिरहेका छौं, यसका लागि बढीमा ५ दिन लाग्न सक्छ’, घिसिङले भने ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत कुश्मा सबस्टेसन हुदै मोदी–१ जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ । टावर ढलेका कारण अहिले विद्युत प्रवाह बन्द भएको छ । मोदी सबस्टेसनबाट स्थानीय रुपमा आपूर्ति गरी बाँकी रहेको विद्युत् पोखरातर्फ प्रवाह गरिन्छ ।


क्लिकमान्डु