भदौ १५ सम्ममा बैंकहरुले ब्याज असूली र राइट ब्याक बढाए



काठमाडौं । असारमा कर्जा नोक्सानी व्यवस्था राम्रो गर्ने बैंकहरुले गत भदौ १५ गते सम्ममा पूरै असूली गरेका छन् । यसबीचमा नउठेको ब्याज इन्ट्रेस्ट सस्पेण्ड समेत राम्ररी असूली गरेका छन् । यसले गर्दा ठूलो परिमाणमा कर्जा नोक्सानी व्यवस्था गर्ने बैंकहरुले गत बर्षको नाफाबाट डेढदेखि २ प्रतिशत सम्मले लाभांश दिने क्षमतामा वृद्धि गर्न सफल भएको सम्बद्ध बैंकहरुले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले भदौ १५ सम्ममा ब्याज उठाउन र कोभिड प्रभावित कर्जा आगामी पुस मसान्तसम्ममा पुनर्संरचना गरी असल कर्जाको रुपमा वर्गिकरण गर्न दिने व्यवस्था गरिदिएको भरपुर फाइदा बैंकहरुले लिन सफल भएका छन् ।

राष्ट्र बैंकले दिने सुविधाबारे थाहा पाएका सरकारी तथा केही निजी बैंकहरुले कर्जा नोक्सानी व्यवस्था कम गरेका थिए । यस पटक सबैभन्दा बढी एनआईसी बैंकले ११९ करोड प्रोभिजन गरे पनि कर्जा विस्तारको तुलनामा अझै कम नै रहेको छ । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार थप्नुपर्ने ०.३ प्रतिशतले मात्र पनि यस बैंकले करिव ८० करोड रुपैयाँ बराबरको नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । यथार्थमा आधारित लेखापरीक्षण गर्ने हो भने यस बैंकको खराब कर्जा बढेर करीब ८ प्रतिशत पुगिसकेको बताइएको छ ।

११८ करोड रुपैयाँ प्रोभिजन गरेको ग्लोबल आईएमई बैंकले करिव आधा रकम पुनर्संरचना गरी असुल गरेको छ । त्यस्तै अन्य बैंकमध्ये सिद्दार्थले रु ८६ करोड प्रोभिजन गरेको थियो । यसमध्ये करीव आधा रकम पुनर्संरचनामार्फत् राइट ब्याक भएको र केही नउठेको ब्याज समेत असली गरेको जनाइएको छ । यसले गर्दा सो बैंकको लाभांश दिने क्षमता अढाई प्रतिशतले बढेको देखिएको छ । अर्को बढी प्रोभिजन राख्ने मेगा बैंकले ८४ करोड राखेकोमध्ये आधा रकम पुनर्संरचनामार्फत् असल कर्जामा रुपान्तरण गरेको जनाइएको छ ।

त्यसैगरी, प्राइम बैंकले ७८ करोड गरेको छ । र, यस बैंकले पनि प्रोभिजनको आधा रकम राइट बैंक गरी ब्याज समेत असूली गरेको जनाइएको छ । प्रोभिजन गर्ने अन्य बैंकहरुमा सिटिजन्स बैंकले ७२ करोड, नबिल बैंकले ६५ करोड, लक्ष्मी र सेञ्चुरीले ५६ करोड, कुमारीले ५४ करोड, माछापुच्छ्रे ४९ करोड, नेपाल बैंक र एनसीसी ४१ करोड, एनएमबी ३८करोड, इन्भेष्टमेन्ट बैंकले ३७ करोड रहेका छन् ।


क्लिकमान्डु