ट्वीटरमा सुपर फलो सुविधा, पैसा कमाउन पाइने
ट्वीटरले पछिल्लो केही समयमा विभिन्न सुविधाहरु थप्दै र नयाँ नयाँ परिवर्तनको प्रयोग गर्दैआएको छ ।
ट्वीटर स्पेश, मोनिटाइजेसन, फन्ट परिवर्तन, ट्वीटर फ्लीटजस्ता प्रयोग गरिसकेको छ । यसका साथै ट्वीटरले विश्वभरका आइओएस प्रयोगकर्ताका लागि अहिले सुपर फलो सुविधा लञ्च गरेको छ ।
सुपर फलो फिचरबाट क्रियटर्सले हरेक महिना पैसा कमाउन सक्नेछन् । सुपर फलो ट्वीटर मोनिटाइजेसनकै एउटा अंश हो । क्यानडा र अमेरिकाका ट्वीटर प्रयोगकर्ताले यो अपडेट पाइसकेका छन् ।
सुपर फलो आइओएसमा दिइनेछ । त्यसपछि मात्रै एन्ड्रोइड प्रयोगकर्ताका लागि खुला गरिनेछ । ट्वीटरको यो फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताका १० हजार फलोअर्स हुनुपर्छ । सुपर फलो अन्तर्गत प्रयोगकर्ताले आफ्ना फलोअर्सबाट हरेक महिना २.९९ डलर या ४.९९ डलर लिनसक्नेछन् । यसको बदलामा फलोअर्सले स्पेशल कन्टेन्ट, न्यूजलेटर, विहाइन्ड द सीन जस्ता सुविधाको प्रयोग गर्न पाउनेछन् ।
ट्वीटरले केही दिनअघि मात्रै डिजाइनमा फेरबदल गरेको थियो । नयाँ डिजाइनमा चिर्प नामको नयाँ फन्ट जोडिएको छ । यो फन्ट अमेरिकन गोथिक र युरोपियन ग्रोटेक्स स्टाइलको संयुक्तरुप हो ।
नयाँ इन्टरफेसमा पनि रंगहरु परिवर्तन गरिएको छ । नयाँ रंगमा धेरै कन्ट्रास्ट र थोरै नीलोरंग हुनेछ । यसको प्रत्यक्ष प्रभाव प्लेटफर्म र सेयर गरेका फोटो भिडियोमा देख्न सकिनेछ । ट्वीटरले हार्ड कन्ट्रास्ट बटन पनि ल्याएको छ । यो परिवर्तन फलो बटनमा पनि देखिनेछ । फलो बटन अहिले कालो रंगको बनाएको छ ।