उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगको स्थापना सरकारको प्राथमिकताः अर्थमन्त्री



काठमाडौं । दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा सरकारले प्राथमिकता दिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले गरेको भर्चुअल बैठकमा उनले यस्तो बताएका हुन् ।

वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको भन्दै मन्त्री शर्माले दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगसहित साना तथा मझौला उद्योग सञ्चालनका लागि आईएफसीसँग सहकार्य गर्न सकिने बताए ।

दैनिक उपभोग्य वस्तुको स्वदेशमै उत्पादन गरेर आयातलाई घटाउने सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।

‘दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगमा हाम्रो प्राथमिकता छ’, मन्त्री शर्माले भने, ‘यस्ता उत्पादनबाट आयातलाई घटाउनु हाम्रो मुख्य उद्देश्य रहेको छ ।’

हाल नेपालमा साना तथा मझौला उद्योगमा लगानी गर्न आवश्यक रहेको बताउँदै मन्त्री शर्माले यसका लागि आईएफसीसँग सहकार्य गर्न सकिने बताए ।

मन्त्री शर्माले सकारको ध्यान कोभिड–१९ महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमै रहेकाले यसमा आवश्यक सहयोग गर्न आईएफसीलाई आग्रह गरे । आईएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने उनले बताए ।


क्लिकमान्डु