सेयर धितोमा कर्जा लिने ५६७ ऋणीले एक वर्षभित्र साढे ३४ अर्ब रुपैयाँ फिर्ता दिनुपर्ने



काठमाडौं । बैंक तथा वित्त कम्पनीबाट सेयर धितोमा कर्जा लिने ५६७ ऋणीले साढे ३२ अर्ब रुपैयाँ फिर्ता दिनुपर्ने भएको छ । राष्ट्र बैंकले तोकेको सीमामा सेयर धितो कर्जा ल्याउन बैंक तथा वित्त कम्पनीले यी ऋणीसँग एक वर्षभित्रमा कर्जा फिर्ता लिनुपर्ने भएको हो ।

पछिल्लो समय राष्ट्र बैंकले सेयर बजारमा बैंक तथा वित्त कम्पनीले गर्ने कर्जा लगानीलाई संकुचन नीति लिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितोमा बैंक तथा वित्त कम्पनीले दिने कर्जाको परिमाण नै तोकेर त्यसमा कडाइ राष्ट्र बैंकले गरिसकेको छ ।

केन्द्रीय बैंकले त्यसपछि सर्कुलरमार्फत् बैंक तथा वित्त कम्पनीले प्रवाह गरेको सेयर कर्जालाई एक वर्षभित्रमा तोकिएको सीमासम्म ल्याउन निर्देशन दिइसकेको छ । निर्देशनपछि बैंक तथा वित्त कम्पनीहरुले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सेयर धितोका कर्जा दिएका ऋणबाट फिर्ता लिनुको कुनै विकल्प छैन ।

राष्ट्र बैंकको निर्देशनअनुसार एक बैंक तथा वित्त कम्पनीले सेयर धितोमा एक जनालाई बढीमा ४ करोड रुपैयाँमात्रै कर्जा दिन पाउँछन् । तर ऋणीले भने बैंकिङ प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितोका कर्जा लिन पाउँछन् ।

यो व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गरेको हो । जसको कार्यान्वयनका लागि भदौ ८ गते राष्ट्र बैंकले सर्कुलर जारी गरेको थियो । उक्त निर्देशनपछि बैंक तथा वित्त कम्पनीहरुले वैशाख मसान्तसम्म बाहिरिएको सेयर धितो कर्जाबाट एक वर्षभित्र ३२ अर्ब ४८ करोड रुपैयाँ फिर्र्ता लिनुपर्ने भएको छ ।

सीमाभन्दा बढी कर्जा लिने ऋणी कति ?
बैंक तथा वित्त कम्पनीहरुले बैशाख मसान्तसम्म कुल ९४ अर्ब ३४ करोड ४० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । जसमध्ये ५६७ जना ऋणीले ४ करोड रुपैयाँभन्दा बढी र १४० जना ऋणीले १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिएका छन् ।

एक बैंक तथा वित्त कम्पनीबाट कुनै एक ऋणीले ४ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउँदा ५ सय ६७ जना ऋणीले २२ अर्ब६८ करोड रुपैयाँमात्र लिन पाउँछन् । तर बैशाख मसान्तसम्म यी ५ सय ६७ ऋणीले भने कुल ५५ अर्ब १६ करोड ३० लाख रुपैयाँ सेयर धितोमा कर्जा लिइसकेको छन् ।

राष्ट्र बैंकको एक वर्षभित्रमा सीमामा कर्जा ल्याउने निर्देशन कार्यान्वयन गर्दा बैंक तथा वित्त कम्पनीले यी ऋणीसँग ३२ अर्ब ४८ करोड ३० लाख रुपैयाँ फिर्ता लिनुपर्ने हुन्छ ।

यसैगरी, प्राप्त तथ्यांकअनुसार सो अवधिमा १ सय ४० जना ऋणीले ३१ अर्ब २६ करोड ८० लाख रुपैयाँ १२ करोड रुपैयाँ सेयर धितोमा कर्जा लिएका छन् । एक ऋणीले पुरै बैंक तथा वित्त कम्पनीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर धितोमा कर्जा लिन नपाउने निर्देशन राष्ट्र बैंकको हो ।

जसअनुसार यी ऋणीले बैकिङ प्रणालीबाट १६ अर्ब ८० करोड रुपैयाँमात्र सेयर धितोमा कर्जा लिन सक्ने ठाँउ हो । अब, यी १ सय ४० जना ऋणीले एक वर्षभित्रमा आफुले लिएको सेयर धितो कर्जाबाट १४ अर्ब ४६ करोड ८० लाख रुपैयाँ बैंक तथा वित्त कम्पनीमा फिर्ता गर्नुपर्ने बाध्यता छ ।

वाणिज्य बैंकहरुमा सीमाभन्दा बढी सेयर धितो कर्जा
सञ्चालनमा रहेका २७ वाणज्यि बैंकहरुमध्ये २४ वटा बैंकले सेयर धितोमा प्रवाह गरेको कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी छ ।

बैंकर्स संघका अनुसार गत असार मसान्तसम्म २४ वाणिज्य बैंकबाट ७२० जना ऋणीले तोकिएको सीमाभन्दा बढी सेयर धितोमा कर्जा लिएका हुन् । राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सेयर धितो कर्जालाई सीमामा ल्याउन ३५ अर्ब ४० करोड रुपैयाँ फिर्ता लिनु पर्ने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

सेयर धितोमा कर्जा लिएर सेयरमा नै लगानी गरेका भएमा ऋणीले सेयर बेचेर कर्जा तिर्नुपर्ने संघका अध्यक्ष दाहालको भनाइ छ ।

‘गत आसार मसान्तसम्म ४ करोड रुपैयाँभन्दा बढी ७२० जना ऋणीले करिब ३५ अर्ब रुपैयाँ कर्जा लिएका रहेछन्,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकले तोकको समयसम्म यो कर्जा घटाउनु पर्ने हुन्छ, तर ऋणीहरुले अर्को बैंकबाट कर्जा लिएर पनि घटाउन सक्छन् ।’


दिलु कार्की