अर्थसमितिमा सेबोन अध्यक्ष ढुंगानाको प्रष्टिकरण, ‘छोरीले किनेको सेयरको जवाफ मैले दिनु पर्दैन’



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर खरिदमा आफ्नो कुनै पनि भूमिका नभएको स्पष्टिकरण दिएका छन् ।

प्रतिनिधिसभाको अर्थसमितिले बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष ढुंगानाको छोरी र नेप्सेका सीइओ चन्द्रसिंह साउँदको श्रीमतिको नाममा खरिद गरेको विषयमा स्पष्टिकरण सोधेको थियो ।

आइतबार अर्थसमितिमा जवाफ दिँदै ढुंगानाले विवाह भइसकेको छोरीले गर्ने कारोबारमा आफ्नो कुनै पनि संलग्नता नरहेको र उनी कानूनीरुपमा कारोबार गर्न स्वतन्त्र रहेको बताएका छन् ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङबाट आइपीओ जारी गर्ने भने पनि हालसम्म धितोपत्र बोर्डमा नआएको हुँदा सो कम्पनी बोर्डको नियमनको दायरामा नपर्ने दावी गर्दै ढुंगानाले बुक बिल्डिङमा मूल्य बजारले तय गर्ने र बोर्डको भूमिका नहुने समेत बताएका छन् ।

धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपियो जारी गर्दा इन्साईडर ट्रेडिङ र ओटिसी नभएको समेत जिकिर गरेको छ ।

बोर्डले समितिलाई जानकारी गराउँदै ओटिसी नभएको र सोहीअनुसार अर्थमन्त्रालयलाई पनि प्रस्टीकरण दिइसकेको बोर्डको भनाइ छ । बोर्डका अध्यक्ष ढुंगानाले ईन्साइडर ट्रेडिङ र ओटिसी कारोबार भएको विषयमा समितिमा आफैले बोलेनन् । आफै मुछिएको विषय भन्दै उनले आफै नबोल्ने समितिमा बताएका छन् ।

ओटिसी कारोबारमा ढुंगाना मुछिएको बारे उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले समितिमा जवाफ दिएका थिए ।

अधिकारीले इन्साइडर ट्रेडिङ नभएको र अनलाइनहरुले नकारात्मक भाव फैलाउने गरी समाचार सम्प्रेषण गरेको बताए । बिबाहित छोरी एकाघर परिवार नपर्ने पनि उनले जिकीर गरे ।

ओटिसीबारे धितोपत्र बोर्डले एकमत भएर जवाफ दिएको पनि अधिकारीले बताए। बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्र बजारको पछिल्लो अवस्था बारेमात्र समितिमा बोलेका थिए। धितोपत्र बजार र बोर्डका काम उत्साहजनक अवस्थामा रहेको र सूचकहरु ऐतिहासिक बिन्दुमा पुगेको ढुंगानाले बताए ।

उनले रणनीतिक योजना कार्यान्वयन र प्रविधिको प्रयोगबाट पुँजीबजार बिस्तार गर्ने कार्ययोजनालाई बोर्डले प्राथमिकतामा राखेको बताए ।

बोर्डले ४ वर्षे रणनीतिक योजना तयार पारी चालू आर्थिक वर्षमा कार्यान्वयन आधार वर्षका रुपमा लिएको छ । धितोपत्र बजारले गत आर्थिक वर्ष २०७७/७८ मा सरकारको राजस्वमा १४ अर्ब १५ करोड रुपैयाँ बराबर योगदान गरेको र यस्तो रकम पनि ऐतिहासिक रहेको ढुंगानाले बताए। अर्थसमितिले धितोपत्रसँग सम्बन्धित विभिन्न विषयमा अध्ययन गरी गतवर्ष असार २९ गते पुँजीबजार र मुद्रा बजारसँग सम्बन्धित अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न बोर्डलाई निर्देशन दिएको थियो । उक्त प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे पनि अर्थसमितिले बोर्डसँग जानकारी मागेको छ ।


क्लिकमान्डु