गरिमा विकास बैंकको खुद नाफा ४३ % बढ्यो, वितरण योग्य नाफा साढे ६० करोड
काठमाडौं । गरिमा विकास बैंकको नाफा करिब ४३ प्रतिशतले वृद्धि भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ४२.९७ प्रतिशत अर्थात् २४ करोड ८० लाख रुपैयाँ खुद नाफा थप गरेको हो ।
अघिल्लो आवमा बैंकले ५७ करोड ७२ लाख ५५ हजार रुपैयाँ खुद नाफा गरेकोमा गत आवमा ८२ करोड ५२ लाख ८८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
बैंकद्वारा सार्वंजनिक गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ६० करोड ५७ लाख १२ हजार रुपैयाँ छ । हाल बैंकको कायम चुक्ता पुँजी ३ अर्ब २३ करोड ३८ लाख रुपैयाँ हो । जसअनुसार गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १८.७० प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।
यसैगरी, गत आवमा बैंकले ६३ अर्ब ९० करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ८० करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले सो अवधिमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अििघल्लो आवको तुलनामा १९.३७ प्रतिशत बढी हो । साथै, सो अवधिमा बैंकले ३३.८४ प्रतिशतले थप गरी २ अर्ब २५ करोड १ लाख रुपैयाँ पुर्याएको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.७२ प्रतिशत, पुँजीकोष अनुपात ११.४२ प्रतिशत, कोषको लागत ६.१७ प्रतिशत, बेसरेट ८.१७ प्रतिशत र स्पेडरेट ४.५ प्रतिशत छ । साथै, सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४४रुपैयाँ ०१ पैसा, मुल्य आम्दानी अनुपात २४.२३ गुणा र तरलता अनुपात २४.४६ प्रतिशत रहेको छ ।