विदेशी लगानीका इन्भेष्टमेन्ट कम्पनीले नेपालका बैंकबाट ऋण लिन नपाउने



काठमाडौं । विदेशी लगानी रहेर नेपालमा स्थापना भएका लगानी कम्पनीले नेपालका बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने भएका छन् ।
साथै त्यस्ता कम्पनीलाई पूँजी बजारमा लगानी गर्नका लागि पनि सरकारले बन्देज लगाएको छ ।

सरकारले औद्योगिक व्यवसाय ऐन २०७६ को अनुसूची ८ अनुसारको लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्ने सम्बन्धी प्रावधानमा संशोधन गर्दै विदेशी लगानी कम्पनीहरुले लगानी र काम गर्न पाउने क्षेत्र तोकिदिएको हो ।

राजपत्रमा प्रधाशित ऐन संशोधन सम्बन्धी व्यवस्थाअनुसार इन्भेस्टमेन्ट कम्पनीले स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैनन् भने विदेशी बैंकको बैंक ग्यारेन्टीको आधारमा समेत स्वदेशी बैंकबाट ऋण पाउने छैनन् ।

नयाँ व्यवस्थाअनुसार इन्भेष्टमेन्ट कम्पनी उद्योगका रुपमा दर्ता हुन वा स्थापना हुनका लागि न्यूनतम लगानी १ अर्ब रुपैयाँ बराबर हुनुपर्नेछ । यस्ता उद्योगहरु उद्योग विभागमा दर्ता हुनेछन् ।

विदेशी लगानी रहेर नेपालमा स्थापना भएका इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र दलाल, बजार निर्माता, रियलस्टेट कारोबार जस्ता क्षेत्रमा लगानी गर्न पाउने छैनन् । त्यस्तै, इन्भेष्टमेन्ट कम्पनीले स्टक एक्सचेन्ज लिमिटेडको दोस्रो बजारमार्फत् सेयर डिभेञ्चर खरिद गर्न नपाउने व्यवस्था गरेको छ ।

इन्भेष्टमेन्ट कम्पनीले नेपालमा सेयर पूँजीको रुपमा मात्र लगानी गर्न पाउनेछन् । तर, ऋण, ऋण सूविधा, बोन्ड, डिबेञ्चरमार्फत् लगानी गर्न पाउनेछन् ।

इन्भेष्टमेन्ट कम्पनीले नेपालमा सहकारी ऐनअनुसार स्थापित संघसंस्थाले गरिरहेको काम गर्न तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिमको कुनै पनि काम गर्न पाउने छैनन् ।


क्लिकमान्डु