कमलादी र भेडेटारमा स्काइवाक टावर बनाइने, निफ्राले साढे ६७ करोड लगानी गर्ने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वोन्डर्स ग्रुपबीच काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा स्काइवाक टावर परियोजना निर्माण र सञ्चालनका लागि कर्जा लगानी सम्झौता भएको छ ।

कमलादी र भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काइवाक टावर परियोजनाहरु निर्माण र सञ्चालनका लागि वोन्डर्स ग्रुपले निफ्रासँग ६७ करोड ५० लाख रुपैयाँ बराबर कर्जा लगानी सम्झौता गरेको हो ।

वोन्डर्स ग्रुपको कमलादी स्थित निर्माणाधीन स्काइवाक टावर ७८ मिटर उचाइको हुनेछ । उक्त टावरमा योगा स्थल, रेस्टुराँलगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि व्यवस्थासहितको पूर्वाधारहरु निर्माण गरिनेछ ।

मुलुककै अग्लो संरचना ठानिएको यो टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृष्य शिशाको सतहबाट अवलोकन गर्न सकिनेछ ।


यसैगरी धनकुटाको भेडेटारमा निर्माणाधीन स्काई वाक टावर सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण गर्न लागिएको हो ।

प्रदेश १ को लगानी प्राधिकरण र वोन्डर्स ग्रुपबीच भएको परियोजना विकास सम्झौता अनुरुप निर्माण हुन लागेको यस परियोजनाले भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने अपेक्षा राखिएको छ ।

निफ्राको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त कर्जा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु