बैंक-वित्तीय संस्थाले कोभिड प्रभावित ऋणीलाई साढे ४ खर्ब सहुलियत दिए



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोभिड प्रभावित ऋणीलाई करिब साढे ४ खर्ब रुपैयाँ सहुलियत दिएका छन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार कोभिड प्रभावित क्षेत्रका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले विभिन्न शीर्षकमा ४ खर्ब ४८ अर्ब ३८ करोड २४ लाख रुपैयाँ कर्जा सहुलियत दिएका हुन् ।

आर्थिक वर्ष वर्षको अन्त्यदेखि नै शुरु भएको कोरोना भाइरस संक्रमणको असरमा परेको क्षेत्रका कर्जालाई राष्ट्र बैंकले ब्याज छुट, पुनरकर्जा, पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो ।

साथै, चालु पुँजी कर्जाको २० प्रतिशत र आवधिक कर्जाको १० प्रतिशत थप कर्जा दिन पाउने समेत व्यवस्था गत आवमै गरेको थियो । राष्ट्र बैंकले कोभिड प्रभावित क्षेत्रलाई मूल्यांकन गरी व्यवसायीक निरन्तरता कर्जा समेत बैंक तथा वित्त कम्पनीमार्फत् उपलब्ध गराइरहेको छ ।

राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार गत आवमा बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी कोभिडबाट अति प्रभावित क्षेत्रका ऋणीलाई कर्जा सहुलियत दिएको छ ।

कोभिडको प्रभावलाई राष्ट्र बैंकले न्यून, मध्यम र अति प्रभावित गरी वर्गीकरण गरेर तोकिएको सहुलियत दिनुपर्ने निर्देशन दिएको थियो ।

जसमा बैंक तथा वित्तीय संस्थाले ऋणी र उनीहरुले पेश गरेको व्यवसायी योजनाको आधारमा कर्जा सहुलियत दिएको हो ।

गत आवको असार मसान्तसम्म ४८ हजार ८ सय ९० ऋणीलाई १ खर्ब ४८ अर्ब रुपैयाँ पुनरकर्जा सुविधा पाएका छन् । जसमा लघुवित्तका ३५ हजार ५ सय ५४ जना ऋणीले १५ लाख रुपैयाँसम्म गरी २५ अर्ब रुपैयाँ बराबरको पुनरकर्जा सुविधा उपयोग गरेका हुन् ।

सरकारले व्यवस्था गरेको कोभिड प्रभावित क्षेत्रका लागि व्यवसायीक निरन्तरता कर्जा २०७८ जेठ मसान्तसम्म बैंक तथा वित्त कम्पनीबाट ८२ करोड २४ लाख रुपैयाँ स्वीकृत भइसकेको छ । जसमध्ये ५९ करोड ७ लाख रुपैयाँ कर्जा लगानीमा छ ।

कोभिड १९ को काराण सञ्चालनमा आउन अवस्थामा बैंक तथा वित्तीय संसथाले ग्रेस अवधि थप गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । जसमा बैंक तथा वित्तीय संस्थाले जेठ मसान्तसम्म ९ सय ९३ ऋणीको ५२ अर्ब रुपैयाँ कर्जाको ग्रेस अवधि थप भएको छ ।

जसमा न्यून प्रभावित क्षेत्रका ऋणीलाई ६ महिनाका लागि ३ अर्ब ९५ करोड, मध्यम प्रभावित क्षेत्रका ऋणीलाई ९ महिनाको लागि १८ अर्ब ४१ करोड र अति प्रभावित क्षेत्रका ऋणीलाई १ वर्षका लागि २९ अर्ब ६३ करोड रुपैयाँ गरी कुल ५१ अर्ब ९९ करोड रुपैयाँ कर्जाको ग्रेस अवधि थप भएको हो ।

यस्तै, २०७७ पुस मसान्तसम्म कोभिड प्रभावित क्षेत्रका २१ हजार ६ सय १७ ऋणी उद्यमी व्यवसायिको १ खर्ब २९ अर्ब २१ करोड रुपैयाँ कर्जाको कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण भएको छ ।

साथै, कोभिड-१९ का कारण साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीको कर्जा भुक्तानी अवधि २०७८ जेठ मसान्तसम्म १९ हजार ७ सय ८६ ऋणीको थप भएको छ ।

जसमध्ये अति प्रभावित क्षेत्रका ४ हजार २११ ऋणकिो ३५ अर्ब ३० करोड, मध्यम प्रभावित क्षत्रका ७ हजार ८ सय ८७ ऋणीको २८ अर्ब ३० करोड र न्यून प्रभावित क्षेत्रका ७ हजार ६ सय ८८ ऋणीको ३० अर्ब ३० करोड रुपैयाँ गरी कुल ९४ अर्ब रुपैयाँ कर्जा भुक्तानी अवधि थप भएको छ ।

बैंक तथा वित्तीय संस्थाले कोभिड प्रभावित क्षेत्रका ऋणीलाई चालु पुँजी कर्जाको आधारमा सोही धितोमा २० प्रतिशत थप कर्जा १४ अर्ब २४ करोड रुपैयाँ दिएका छन् । साथै, आवधिक कर्जा दिएका ऋणीलाई सोही कर्जाको धितोमा थप १० प्रतिशत कर्जा ९ अर्ब ३६ करोड रुपैयाँ कर्जा दिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु