आप्रवासी महिला कामदार माथिको प्रतिबन्ध फुकुवा गर्न माग




काठमाडौं । नेपाल सरकारले लागु गर्दै आएको आप्रवासी कामदार माथिको प्रतिबन्ध फुकुवा गर्न वैदेशिक रोजगार सम्बन्धित विभिन्न संघसंस्थाले माग गरेका छन् ।

आप्रवासी महिला कामदार समूह, हाम्रो सम्मान परियोजनालगायत अन्य वैदेशिक रोजगारसँग आबद्ध संस्थाहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गरेको हो ।

तर, रोजगारीमा गएका महिलाहरू माथि यौन शोषण, श्रम शोषण र घरेलु हिंसा भएको भन्दै सरकारले प्रतिबन्ध लगाइएको थियो । उक्त प्रतिबन्ध हालसम्म जारी छ । प्रतिबन्धका कारण अवैध रुपमा घरलु कामदारको रुपमा विदेश जानेको संख्या बढेको ती संस्थाको प्रतिनिधिहरुको भनाइ छ ।

अम्कास नेपालका कार्यकारी बिजया राई श्रेष्ठले प्रतिबन्धका कारण अवैध रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको बताइन् । हाल भारतलाई ट्रान्जिक्ट बनाउँदै करिब ७० प्रतिशत कामदार अवैध रुपमा विभिन्न देशमा रोजगारीको लागि गएको उनीको दावी छ ।

यसले गर्दा वैदेशिक रोजगारीमा गएका महिलाहरू विदेशमा समस्या परेमा सरकारको सेवा सुविधाबाट बञ्चित भइरहेको उनीको जिकिर छ ।
त्यस्तै, सरकारले विभेदकारी रुपमा गरिएको प्रतिबन्धलाई फुकुवा गर्नुपर्ने उनीको धारणा छ ।

‘अम्कास नेपालले पहिलेदेखि विभिन्न निकायसँगको छलफलसँग फुकुवा गर्नुपर्ने माग गर्दै आएका छन्,’ उनीले भनिन्, ‘तर, सरकार भने महिला घरेलु कामदारको रोजगारीमा विदेश जानु हुँदैन भन्ने धारणा व्यक्त गर्दैै आएको देखिन्छ ।’

त्यसैगरी अम्कास नेपालमा सचिव गंगा लिम्बुले विभिन्न मुलुकमा भारतको बाटो बनाउँदै गएकाले महिलाहरूले समस्या भौग्दै रोजगारीमा जानुपर्ने बाध्यता रहेको बताइन् । साथै, सरकारले महिला कामदारमाथि लगाइएको उमेर, लिङ्ग र बच्चाको आधारमा विदेश जान नपाइने व्यवस्था खारेज गर्नुपर्ने धारणा व्यक्त गरिन् ।


क्लिकमान्डु