कोकाकोलाले पत्रकारलाई सूचना दिने कर्मचारीलाई कारवाही गर्ने



काठमाडौं । नेपालमा कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले पत्रकारलाई सूचना दिने कर्मचारीलाई कारवाही गर्ने भएको छ ।

कोकाकोलाको व्यवस्थापनले कम्पनीको भित्री सूचना संचारमाध्यममा पुर्याउने कर्मचारीलाई कारवाही गर्न निर्णय गरेको छ । उक्त निर्णयको माइन्यूट क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

कोकाकोलाको उत्पादक कम्पनी सेयर किनबेचमा भएको लाभकर छली भएको विषय अहिले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

दीर्घराज मैनाली राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा कोकाकोला कम्पनीमा छापासमेत परेको थियो ।

कोकाकोलाको बारेमा आएको समाचार कम्पनीमा रहेको उच्च व्यवस्थापन तहको कर्मचारीबाट गएको र सूचना दिने कर्मचारी पत्ता लगाउने र त्यो कर्मचारीलाई कारवाही गर्ने विषयमा कोकाकोलाको व्यवस्थापन र कर्मचारी युनियनले सहमति गरेका छन् ।

‘कम्पनीको कुरा मिडियामा लैजाने प्रवृति देखिएपछि व्यवस्थापन र युनियन मिलेर सूचना दिने कर्मचारी खोज्ने निर्णय गरेको हो, कम्पनीमा जागिर खाएपछि मिडियामा गोप्य सूचना दिन मिल्दैन,’ ट्रेड युनियनमा आबद्ध एक कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘पत्रकारलाई कारबाही गर्ने कुरा बाहिर आएको छ, त्यो सरासर गलत हो । पत्रकारलाई कारबाही गर्न ना मतोकेर माइन्यूट गरियो भन्ने समाचार बाहिर आएपछि पनि त्यस्तो कुनै माइन्यूट भएको छैन ।’

कोकाकोला कम्पनीले भने आफूले नेपालको कानून अनुसार व्यवसायिकरुपमा पारदर्शी तरिकाले व्यवसाय गरेको जनाएको छ ।

कम्पनीको व्यवस्थापक र कर्मचारी युनियनको तर्फबाट करछलीको विषय बाहिर आएपछि कम्पनीले व्यवस्थापक र युनियनबीच सुमधुर सम्बन्ध रहेको जनाएको छ ।

नेपालका करका कानूनहरु मानेको र व्यवसायिक इमान्दारिताका साथ व्यवसाय गरेको कोकाकोलाको दावी छ ।


पुष्प दुलाल