पाम आयलमा प्रतिबन्ध हटेसँगै पुनः निर्यात हुन थाल्यो




काठमाडौं । भारत सरकारले पाम आयलको प्रतिबन्ध हटाएसँगै पुनः निर्यात हुन थालेको छ । भारत सरकारले आर्थिक वर्ष २०७६÷०७७ को पुस २३ गते आफ्नो मुलुकमा पाम आयलको आयातमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

तर, भारतले सरकारले करिब डेढ वर्षपछि गत असार १६ गतेबाट प्रतिबन्ध खुल्ला गरेसँगै नेपालबाट निर्यात हुन थालेको हो ।

विगतको दिनमा उल्लेखनीय रुपमा नेपालबाट निर्यात हुँदैआएको पाम आयल भारतले प्रतिबन्ध गरेसँगै उक्त वस्तुको निर्यात शून्य अवस्थामै रहेको छ ।

नेपालको व्यापार घाटा घटाउन महत्वपूर्ण ठानिएको पाम आयलमा भारतले लगाएको प्रतिबन्ध गरेपछि अहिले भट्मासको तेलको निर्यात उच्च रहेको छ ।

नेपालले आर्थिक वर्ष २०७६/७७ मा नेपालले १८ अर्ब ३४ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको १७ करोड २ लाख ४९ हजार केजी पाम आयात निर्यात गरेको थियो । त्यसअघिको आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ३३ करोड ३० लाख रुपैयाँ बराबरको ९ करोड ५६ लाख ६४ हजार केजी पाम आयत निर्यात गरेको थियो ।

निर्यात शून्य अवस्थामा पुगेको पाम आयलको निर्यात आर्थिक वर्ष २०७७/७८ मा ९ लाख ८७ हजार रुपैयाँ बराबरको ६ हजार ६७ केजीमात्रै निर्यात भएको छ । जुन विगतको तुलनमा नगन्य जस्तै हो ।

नेपालमा पाम आयलको उत्पादन हुँदैन् । विगतको दिनमा निर्यात हुँदै आएको पाम आयल नेपाली उद्योगीहरूले मलेसिया र इन्डोनेसियाबाट पाम आयात गर्छन् । सोही पाम आयात भएर नेपाली उद्योगीले प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आएका छन् ।

भारतले तेस्रो मुलुकबाट आयात गरेर जस्ताकोतस्तै पाम आयल निर्वाध रूपमा निकासी गर्न दिएको भन्दै नेपालसँग असन्तुष्टि जनाएको थियो । नेपालका उद्योगीले साफ्टा सम्झौताको फाइदा उठाउँदै चार वर्षअघि शून्य भन्सार महसुलमा पाम तेल भारततर्फ निकासी गर्न थालेका थिए ।

नेपालबाट साफ्टा अन्तर्गत पाम तेल निर्यात गर्दा भारतमा वस्तु तथा सेवा कर (जीएसटी)बापत १२ प्रतिशत तिर्नुपथ्र्यो । जीएसटीको उक्त रकम भारतीय क्रेताले तिर्ने हुँदा नेपाली व्यवसायी कर र शुल्कबाट पूर्णतः मुक्त थिए । यसले गर्दा उद्योगीहरू सहजै पामको निर्यात गर्दै आएका थिए ।

यस्तै पाम आयलको निर्यातमा प्रतिबन्ध लगाएसँगै उद्योगीहरूले अत्याधिक मात्रामा भट्मास तेलको निर्यात गरी हाल निर्यातित वस्तुमध्ये पहिलो नम्बरमा रहेको छ ।

भारत सरकारले प्रतिबन्ध हटाएसँगै पाम आयल आयात गरी प्रशोधन गर्दा करिब एक महिनाबाट निर्यात हुन सक्ने उद्योगीहरूले जनाएका थिए ।
तर, उद्योगीहरूले करिब एक महिना नपुग्दै निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

भारत सरकारले पाम आयलको प्रतिबन्ध हटाएको करिब १ महिना पुग्न लागेको छ । उक्त १ महिना नपुग्दै नेपालले करिब ५ लाख बराबरको पाम आयल निर्यात गर्न सफल भएको छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्ममा नेपालबाट भारततर्फ ४ लाख ४३ हजारको मात्रै ३ हजार लिटर पाम आयल निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले गत असार १६ गते खुल्ला निर्णय गरेसँगै करिब १५ दिनको अवधिमै नेपालले ५ लाख ४४ हजार रुपैयाँ बराबरको ३ हजार ६७ लिटर पाम आयल निर्यात गरेको छ । यसले गर्दा आगामी दिनमा हाल सबैभन्दा उच्च भइरहेको भट्मासको तेलमा गिरावट आउन सक्ने उद्योगीहरू बताउँछन् ।


पुष्प दुलाल