अर्थमन्त्री शर्मालाई ३ पूर्वअर्थमन्त्रीको सुझाव : अध्यादेश मार्फत आएको बजेटलाई संसोधन गरेर कार्यान्वयन गर्नुहोस्



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका विद्यमान चुनौती र समस्याहरु तथा तिनको सम्बोधनका लागि अवलम्बन गरिनुपर्ने नीतिगत सुधारहरुका सम्बन्धमा सुझाव लिन भन्दै तीनजना पूर्वअर्थमन्त्री भेटेका छन् ।

शर्माले आइतबार पूर्व अर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, वर्षमान पुन र शंकरप्रसाद कोइरालासँग छलफल गरेका हुन् ।

छलफलका क्रममा सुरेन्द्र पाण्डेले कोभिड महामारीका कारण अर्थतन्त्रको भावि परिदृश्य गतिलो नदेखिएको हुँदा वर्तमान सरकारले सोही बमोजिम आर्थिक नीति तय गर्नु पर्ने सुझाव दिएका छन् ।

साथै पुँजीगत खर्चमा लक्ष्य बमोजिम प्रगति हासिल हुन नसक्नु अर्थतन्त्रको प्रमुख चुनौति भएकोले यस तर्फ विशेष ध्यान दिनुपर्ने र पुँजीगत खर्च हुन नसक्नुमा अन्य मन्त्रालयहरुको मात्र कमजोरी छ वा अर्थ मन्त्रालयपनि कमजोरी छ भन्ने विषयको गम्भिर समीक्षा गर्नुपर्ने पाण्डेले बताए ।

व्यापार क्षेत्रबाट रोजगारी सिर्जना नहुने भएकोले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने र सरकारले अनुत्पादक क्षेत्रमा हुने सार्वजनिक खर्च कटौतीमा समेत विशेष ध्यान केन्द्रित गर्नुपर्ने भन्दै अर्थमन्त्री शर्मालाई पाण्डेले सुझाव दिएका छन् ।

सुझाव दिने क्रममा पूर्वअर्थमन्त्री शंकर प्रसाद कोइरालाले संवैधानिक प्राबधान बमोजिम अर्को बजेट ल्याउन सम्भव नदेखिएकोले अध्यादेशबाट जारी भएको बजेटको पुरकको रुपमा केही आर्थिक कार्यक्रमहरु समेटिएको नीतिपत्र जारी गरेर अघि बढ्नु पर्ने बिचार बताए ।

कोईरालाले कृषि, जलस्रोत, पर्यटन, हस्तकला र जडिबुटीजन्य उद्योगलाई अर्थतन्त्रको प्राथमिकतामा राखेर सोही बमोजिम आर्थिक नीति तथा कार्यक्रम तय गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, पूर्वअर्थमन्त्री वर्षमान पुनले कोभिडको असर अझै बाँकी रहेको र तेस्रो लहरको खतरासमेत देखिने अनुमान भइरहकोले खोप खरिदलाई प्राथमिकता दिनुपर्ने बताए ।

कोभिडबाट प्रभावित उत्पादनमूलक क्षेत्रको लागि राहत प्याकेज ल्याउन सुझाव दिँदै पुनले उत्पादनमूलक उद्योगको क्षेत्रमा गरिने लगानीका सम्बन्धमा विशेष नीति अख्तियार गरिनुसमेत बताए ।

राष्ट्रिय गौरवका आयोजना र अन्य केही प्राथमिकताका आयोजनामा ध्यान केन्द्रित गरी सरकारी खर्चमा मितव्ययीता कायम गर्नुपर्ने, साथै पुँजीगत खर्च वृद्धिका लागि अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयबीच पर्याप्त विश्वासको वातावरण सिर्जना गर्दै अघि बढ्नुपर्ने र वर्तमान सन्दर्भमा स्रोत व्यवस्थापन समेत अर्थतन्त्रको प्रमुख चुनौति रहेको पूर्वअर्थमन्त्रीहरुको भनाइ रहेको छ ।

पूर्वअर्थमन्त्रीहरुसँग छलफल पछि अर्थमन्त्री शर्माले राष्ट्रिय सहमति, उपलब्ध स्रोत तथा विद्यमान जनशक्तिको कुशल संयोजनबाट कोभिड महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव र त्यसबाट सिर्जित प्रतिकूल परिस्थिति अन्त गर्न आफु कटिबद्ध भएर लाग्ने बताए


क्लिकमान्डु