कोभिडः प्रत्येक १२ सेकेन्डमा एउटा बालबालिका अनाथ हुँदै, नेपालमा यस्तो संख्या साढे ६ हजार



काठमाडौं । कोभिड १९ महामारीका कारण विश्वभर ज्यान गुमाउनेहरुको संख्या ४१ लाख ५० हजार नाँघेका छ । महामारीका कारण बढेको यो मृत्युदरका कारण हरेक १२ सेकेन्डमा १ जना बालबालिका अनाथ भइरहेको तथ्यांक विश्व बैंकले सार्वजनिक गरेको छ ।

नेपालमा मात्र ४ हजार ६ सय भन्दा बढी बालबालिकाले आफ्ना अविभावक गुमाएका छन् । आमा वा बुबा वा दुवै गुमाएका बालबालिकाको संख्या नेपालमा १ हजार २ सय बढी छन् ।

त्यस्तै, हजुरआमा–हजुरबुबा वा अरु प्रकृतीका ‘केयर गिभर’ गुगाउनेको संख्या ३ हजार ४ सय छ । यो २०२१ जुन मसान्तसम्मको तथ्यांक हो ।

विश्व बैंककाअनुसार कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने औसत २ जना अविभावकबाट १ जना बालबालिका अनाथ भइरहेका छन् ।

‘१८ वर्षभन्दा कम उमेर समूहका करिब २० लाख बालबालिकाले आफ्ना अविभावक वा सहारा दिइरहेका व्यक्ति गुमाएका छन्,’ विश्व बैंकले भनेको छ, ‘जसकारण उनीहरुको बालविकासमा गम्भीर असर देखिएको छ भने आर्थिक अवस्था र मानसिक चुनौतीहरुको सामनासमेत गर्नुपरेको छ ।’

महामारीका कारण अविभावक गुमाएका बाल–बालिकाहरुले गरिबी, कुपोषण, अशिक्षा, बालश्रम, बालबिवाह र आपराधिक तथा हिंसाका घटनाजस्ता चुनौती थपिएको पनि विश्व बैंकले जनाएको छ ।


क्लिकमान्डु