मधेशको समृद्धिको आधार बन्दै हुलाकी राजमार्गको ‘फिदर रोड’



फाइल फोटो

काठमाडौं । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माण भएका मुख्य र सहायक सडक तराई–मधेश क्षेत्रको समृद्धिके आधार बन्न थालेका छन् ।

पूरै आयोजना सम्पन्न भए पनि राजमार्ग र सहायक सडक (फिदर रोड)ले यहाँको जनजीवन सजिलो बनाउँदै लगेको छ ।

आयोजनाअन्तर्गत पूर्व-पश्चिम हुलाकी राजमार्गसँगै उत्तर दक्षिणमा ‘फिदर रोड’ निर्माण कतिपय सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा छन् ।

पूर्व-पश्चिम हुलाकी राजमार्गसँगै सहायक सडकका रुपमा रहेका १० मध्ये नौ सडक पूरा भइसकेका आयोजनाले जनाएको छ । एउटा सडक बाँकी रहेकामा दुई प्याकेजमा काम भइरहेको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताउनुभयो । दुई प्याकेजमध्ये पनि एउटा पूरा भएको छ भने एउटा बाँकी छ । केही समय पहिले मात्रै भारतीय दूतावासले सम्पन्न सडक सरकारलाई हस्तान्तरण गरेको थियो ।

‘बाँकी सडक पनि ठेक्का भइसकेको छ,’ उनले भने ।

‘फिदर’ सडक तराई–मधेशमा आवतजावत र ढुवानीमा कोशेढुङ्गा बन्दै गएको आयोजनाका प्रमुख बिसुरालले बताए । तराईका कुनै पनि भाग नछुट्ने गरी बलियो सञ्जाल बनाइएको उनले बताए । उनले भने ‘हुलाकी राजमार्गले पूर्वी तराईले पश्चिमसँग जोड्छ भने उत्तर दक्षिणले सिङ्गो तराईलाई जोडेको छ ।’

आयोजनाअन्तर्गत उत्तर–दक्षिण सडकमध्ये मोरङमा कानेपोखरी-रङ्बेनी २५ किमी र सप्तरीमा कल्याणपुर-बसाइन २२ किमी पूरा भइसकेको छ । धनुषामा वीरेन्द्रबजार–यदुकुवा–महिनाथपुर २५ किमी लम्बाइको सडक सम्पन्न भइसकेको छ । धनुषाको १७ किमी लम्बाइको जनकपुर–यदुकुवा सडक सम्पन्न भएको छ ।

महोत्तरीको २७ किमीको जलेश्वर-हर्दी सडक र झण्डै २५ किमीको माइथान–गौशाला बजार-सम्सी सडक सम्पन्न भएको आयोजनाले जनाएको छ । दाङको ३३ किमी लम्बाइको लमही-कोइलाबास सडक सम्पन्न भइसकेको छ ।

बाराको तामागढी–सिमरौनगढ सडक ४० किमी सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । बाराकै ३३ किमी लम्बाइको मानमत–कलैया–मटिअर्वा सडक निर्माण सम्पन्न भइसकेको छैन ।

भारतीय सहयोगमा पहिले नै निर्माण गर्ने भनिएको सडक विभिन्न समस्याका कारण अहिले भर्खरै ठेक्का भएको छ । पहिले कलैया बजारमा स्थानीयवासीले घर हटाउन नदिएकाले सडक निर्माण हुननसकेको प्रमुख बिसुरालले बताए ।

भारतीय सहयोगमा निर्माण भएको स्थानमा मुआब्जा दिइएको भए पनि कतिपय स्थानीयवासीले मुआब्जासमेत लिन मानेका थिएनन् ।

‘उनीहरुले गर्न चाहेको समयमा घर हटाउन नसकेपछि अहिले भारत सरकारले त्यो भागमा काम नगर्न चाहेको छ,’ उनले भने ।

कलैया बजारमा झण्डै चार किमी लम्बाइमा सडक निर्माण अवरुद्ध रहेको आयोजनाले जनाएको छ । आयोजनाले कोसिस गर्दा अदालतमा मुद्दा भएकाले निर्माण अवरुद्ध भएको थियो । अहिले सरकारले लगानी गर्ने गरी ठेक्का सम्झौताका लागि सूचना निकालिएको प्रमुख बिसुरालले बताए ।

कलैया बजार चार लेनमा निर्माण गर्न लागिएको छ । त्यस क्षेत्रमा निर्माणस्थलमा रहेका बिजुली, खानेपानी, टेलिफोनलगायतका पूर्वाधार सबै हटाइएको छ ।

‘निर्माणस्थल खाली भइसकेकाले अब निर्माण अघि बढाउन सकिने देखिएको छ,’ उनले भने ।

पर्सामा ६० किमी लम्बाइको वीरगञ्ज-ठोरी सडक ५ किमी कालोपत्र हुन नसकेको आयोजनाले जनाएको छ । सडक अहिले ग्राभेलसम्म भएकाले स्थानीयवासीलाई आवतजावतमा सजिलो भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण सो खण्डमा निर्माण हुन नसकेको प्रमुख बिसुरालले बताउनुभयो । जम्मा ६० किमी सडक एउटा २५ र अर्को ३० गरी दुई प्याकेजमा निर्माण अघि बढाइएको थियो । पच्चीस किमीको प्याकेज सम्पन्न भइसकेको छ भने ३० किमीमा निर्माण बाँकी छ ।

‘सडक आगामी दशैँसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ,’ उनले भने ।

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रुपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो ।

विसं २०६५÷६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो । विभिन्न कारणले त्यो मोडालिटिमा काम गर्न नसकिएको उनले बताए ।

भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेको थियो ।

‘त्यसपछि मात्रै फिदर रोडले गति पाएको थियो,’ उनले भने ।

त्यस बेलादेखि नै १० सडकमा ३०५ किमी पुल भारत सरकारले र बाँकी नेपाल सरकारले बनाउने सम्झौता भएको थियो ।

‘फिदर सडक’ मा नै ३७ पुल रहेका छन् । भारतीय पक्षले निर्माण गर्ने ३०५ किमी पुलमध्ये सबै उत्तर–दक्षिण सडकमा पर्छ भने वीरगञ्ज–ठोरी सडक हुलाकी राजमार्गकै पूर्व–पश्चिममा पर्छ ।

‘फिदर सडक’ ८८१ किमी लम्बाई रहेकामा २४५ किमी भारत सरकारले र बाँकी नेपाल सरकारले निर्माण गर्ने प्रमुख बिसुरालले बताए । भारत सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ भने बाँकीमा सरकारले निर्माण गरिरहेको छ । झण्डै ६०० किमी सडक निर्माणाधीन रहेको उनले बताए ।

‘त्योमध्ये पनि झण्डै एक सय किमी ठेक्का लाग्न बाँकी छ,’ उनले भने ।

सरकारले आव २०७३÷७४ देखि निर्माणको जिम्मेवारी लिएकामा त्यसपछि फिदर सडक पहिचान गरेर ठेक्का हुँदै काम अघि बढाइएको छ । राष्ट्रिय योजना आयोगले हुलाकी राजमार्ग आयोजना आव २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

हुलाकी राजमार्गको पूर्व–पश्चिम सडक निर्माणाधीन छ भने कतिपय उत्तर-दक्षिण सडक निर्माणको क्रममा रहेका छन् । अहिलेसम्मको निर्माणको अवस्था हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न हुने उनको भनाइ छ । आयोजनाको नियन्त्रण बाहिरको अवस्थामा मात्रै निर्धारित समयभन्दा ढिला हुने उनले बताए ।

‘कोभिडका कारणले गर्दा तोकिएको अवधिमा नहुन सक्ला तर हामीले गर्ने काम गरिरहेका छौँ,’ उनले भने ।

हुलाकी राजमार्गलाई तराई–मधेसको समृद्धिसँग जोडेर शुरु गरिएको हो । मधेशमा देशभरको झण्डै आधा जनसङ्ख्या बसोबास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ । त्यस क्षेत्रको ब्यापार, कृषिलगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्नेछ ।

पूर्व–पश्चिम राजमार्गबाट शुरु भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पुगाउन निर्माण गरिएको छ । राजमार्गले पूवदेखि पश्चिमसम्म पूरै तराईलाई समेटेको छ । राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि तराई–मधेश पूर्ण रुपमा सुगम हुने प्रमुख बिसुरालले बताए ।

हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको ‘फिदर सडक’ बाहेक अरु निकायबाट पनि उत्तर दक्षिण जोड्ने गरी सडक निर्माण गरिएको छ । सबै निर्माण सकिएपछि तराईका धेरै ठाउँसम्म सडकको सञ्जाल विस्तार हुने उनले बताए ।

हुलाकी राजमार्गजस्तै ‘फिदर सडक’ पनि डबल लेनमा निर्माण अघि बढाइएको छ । सात मिटर कालोपत्र र दुईदेखि साढे दुई मिटर पैदलयात्रु मार्गसमेत गरी ११ देखि १२ मिटर चौडाइमा सडक निर्माण भइरहेको छ । जग्गा उपलब्ध हुँदा १२ मिटर र नहुँदा कम्तीमा ११ मिटर निर्माण गरिएको हो ।

देशभरका निर्माणाधीन धेरै राष्ट्रिय राजमार्ग जस्तै सो आयोजनामा पनि सडकको अधिकार क्षेत्र (राइट अफ वो) को समस्या रहेको छ । उत्तर–दक्षिणमा ‘फिदर’ सडक १५÷१५ मिटरमा चौडा गर्ने लक्ष्य लिइएको प्रमुख बिसुरालले बताए । उनका अनुसार भारतीय सहयोगमा निर्माण भएका स्थानमा मुआब्जा वितरण भए पनि सरकारले निर्माण गरेका ठाउँमा स्वतस्फुत छाड्न लगाइएको छ । जग्गामा मुआब्जा नदिने हुँदा धेरै ठाउँमा जग्गाको समस्या भएको उनले बताए ।

‘जस्तोसुकै समस्या भए पनि स्थानीयस्तरमा समन्वय गरेर दुई लेन कायम गरिएको छ,’ फिदर सडक दुई लेनमा निर्माण गर्ने भनिए पनि आवश्यकताअनुसार कतिपय स्थानमा चार लेनसम्म निर्माण भइरहेको आयोजनाले जनाएको छ । ठूला बजारमा चार लेनमा सडक निर्माण गरिएको प्रमुख बिसुरालले बताए । पहिले दुई लेन रहेको विराटनगर-रङ्गेली चार लेनमा विस्तार गरिएको छ ।

मोरङमै सुनसरीसम्मको सडक पनि चार लेनमा निर्माण गर्न लागिएको छ । ‘त्यहाँका चार किमी सडक बनाउन भर्खर ठेक्का गरिएको छ,’ उनले भने ।

कपिलवस्तुमा तौलिहवा पश्चिमतर्फको सडक पनि चार लेनमा निर्माण अघि बढाइएको छ । निर्माण शुरु गर्दा सानो बजार भए पनि बजार र बस्ती विकास हुने देखिएकाले यहाँ निर्माण अघि बढाइएको हो ।


पुष्प दुलाल