युवराज खतिवडाको जस्तो झुटको पुलिन्दा नहोस् अर्थमन्त्री जनार्दन शर्माको श्वेतपत्र




काठमाडौँ । निर्वाचनमार्फत् भर्खर सरकार गठन भएको थियो । तत्कालीन वाम गठबन्धनले झण्डै दुइतिहाई जनमत प्राप्त गरेपछि त्यसको राप र तापका बीचमा आफूलाई अर्थतन्त्रको ज्ञाता बताउने डा. युवराज खतिवडा अर्थमन्त्री बनेका थिए ।

राजनीतिज्ञलाई पछाडि फालेर अर्थतन्त्रका जानकार भनिएका खतिवडा अर्थमन्त्री बन्ने वित्तिकै केपी ओली नेतृत्वको तत्कालीन सरकारले सबैभन्दा बढी गाली नेपाली काँग्रेसलाई गर्यो ।

अर्थतन्त्र बिगारेको आरोप लगाउँदै अर्थमन्त्रीले हुने र मिल्ने जति सबै विषयमा काँग्रेसलाई दोष लगाए । उनले आफूलाई काम लाग्ने विषयलाई राम्रो भनिदिए भने मन नपर्ने विषयलाई पूर्णत गलत भएको र बिगारेको आरोप लगाए ।

तत्कालीन अर्थमन्त्रीले २०७४ चैत १६ गते संघीय संसदमै श्वेतपत्र सार्वजनिक गरेका थिए । उनले देशको वर्तमान आर्थिक अवस्था र भविष्यमा चालिनुपर्ने कदमसहितको श्वेतपत्र ल्याएको बताउका थिए ।

तत्कालनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अर्थमन्त्रीको श्वेतपत्रलाई हावादारी र तथ्यको तोडमोड गरेको भन्दै सदनमा नै आपत्ति जनाउको थियो । उनले देशको अर्थतन्त्रको अवस्था असाध्यै जटिल मोडलमा रहेको बताएका थिए । उनले अर्थतन्त्र खराब अवस्थामा पुगेको तथा राज्यका स्रोत तथा साधन दुरुहपूर्ण अवस्थामा पुगेको दावी गरेका थिए ।

खतिवडाले उत्पादनमुखीभन्दा पनि वितरणमुखी कार्यक्रममा होडबाजी देखिएको, बजेट अनुशासन उल्लंघन गरिएको तथा सरकारी ढुकुटी करिब रित्तो अवस्थामा रहेको श्वेतपत्रमा आरोप लगाएका थिए । बजेटको मनपरी परिचालन गरिएको तथा स्थापित प्रणाली र मान्यता विपरित कतिपय माल वस्तुमा कर छुट दिइएको र आर्थिक प्रणालीलाई जटिल मोडमा पुर्याइएको कुतर्क गरेका थिए ।

उनले गैरबजेटरी खर्च धान्न गाह्रो भएको समेत तथ्य भन्दा बाहिर गएर तर्क गरेका थिए । सहज व्यवसायिक वातावरणको अभावमा आर्थिक क्रियाकलाप विस्तार हुन नसकेको तथा आयातमा आधारित राजश्व र विप्रेषणमा आधारित उपभोगको चक्रमा अर्थतन्त्र फसेको जस्ता दावी गरेका थिए । उनले अनौपचारिक अर्थतन्त्र मौलाएको समेत भन्न भ्याएका थिए ।

खतिवडाले बिनायोजना, बिनाबजेट र कार्यान्वयनको ग्यारेन्टी नलिई स्रोतको सुनिश्चितता दिँइदा विकृतिले अर्थतन्त्रलाई छोप्दै गएको दावी गरेका थिए ।

तर, देशको अर्थतन्त्रलाई सबैभन्दा खराब अवस्थामा पुर्याउने उनै खतिवडा थिए ।

दिनुपर्ने माल वस्तुमा राजश्व तथा करको दरमा छुट नदिने तर चकलेट जस्ता वस्तुमा कर छुट दिने काम उनै खतिवडाले गरेका थिए ।

अर्थतन्त्रलाई केवल प्राविधिक आँखाबाट मात्रै चलाउने र असाध्यै जडसुत्रवादी प्रवृत्तिको विकास उनैले गराएका थिए । कोही कसैलाई नटर्ने विशेष स्वभाव देखाएर डा खतिवडाले आफूले अरुतर्फ चोर औंला देखाएपनि आफैंतिर अन्य चार औंला देखाएका थिए ।

खतिवडाको कार्यकालमा अर्थतन्त्र असाध्यै दुरुहपूर्ण अवस्थामा पुग्यो । विकासका गतिविधि खासै अगाडि बढेनन् । उनले जे जस्ता आरोप श्वेतपत्रमा लगाएका थिए, त्यो भन्दा कुनै पनि फरक व्यवहार देखिएन उनले छाडेर जाँदा ।

नेपालको राजनीतिक इतिहासमा एकाध बाहेक अर्थतन्त्रका बारेमा सामान्य जानकारी समेत नभएका अर्थमन्त्रीले बरु राम्रोसँग अर्थमन्त्रालय चलाएको अवस्था छ ।

तर, खतिवडाले केवल कोरा ज्ञानलाई मात्रै अर्थतन्त्रमा लागू गर्न खोज्दा उनी आफू त सफल भएनन् नै सरकारलाई समेत अप्ठ्यारोमा पारिदिएका थिए । तत्कालीन सत्तारुढ दलभित्रै तिव्र असन्तुस्टि पैदा भएको थियो ।

वामपन्थको नाममा केवल टापटिपे पूँजीवादको प्रश्रय गर्न उनी लागिपरे । उद्योगी व्यवसायी सबैभन्दा बढी पीडित भए । आम जनताले केही फरक अनुभव समेत गर्न पाएनन् ।

उनले लगानीको वातावरण नभएको तथा तीनै तहको सरकारका लागि आवश्इक साधन परिचालन गर्नुपर्ने र स्रोत खोज्नुपर्ने वाध्यता रहेको श्वेतपत्रमा उल्लेख गरेका थिए । तर, उनले अर्थमनत्रालय छाड्दा समेत अवस्था उस्तै थियो । तात्विक फरक देखिएको थिएन ।

किनकी, अरुलाई आरोप लगाउन जति सजिलो हुन्छ, काम गर्न त्यत्ति नै गाह्रो हुन्छ नै ।

संविधान विपरितका गतिविधि गरेपछि सर्वोच्च अदालतको परमादेशपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

विगतमा ऊर्जा मनत्रालयमा रहेर लोडसेडिङ हटाएका जनार्दन शर्मा अर्थमन्त्रीका कमान सम्हाल्न आइपुगेका छन् । नेपाल उद्योग परिसंघको कार्यक्रममा प्रधानमन्त्री देउवाले अर्थमनत्री शर्माको तारिफ गर्दै मेहनती अर्थमन्त्रीसमेत भनेका छन् ।

उनै अर्थमन्त्री शर्माले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र सार्वजनिक गर्ने बताएका छन् । उनले श्वेतपत्र त भनेका छैनन्, यर्थाथपत्र भनेका छन् । नाम जे दिएपनि आखिर विषय एउटै हो ।

किनकी झण्डै साढे तीन वर्ष सत्तामा रहेको केपी ओली नेतृत्वको सरकारले अर्थतन्त्रलाई सामान्यभन्दा पनि असमान्य अवस्थामा पुर्याएर छाडेको छ । यस्तो अवस्थामा देश र जनतालाई अर्थतन्त्रको वास्तविक अवस्थाको बारेमा जानकारी दिनु सरकारको दायित्व नै हो ।

तर, विगतमा खतिवडाले लगाएका जस्ता पधेर्नी आरोप लगाउन भने जरुरी छैन । किनकी, अवस्था जे हो त्यही देखाइदिए हुन्छ । जनतालाई खास अर्थमा अर्थतन्त्रको अवस्था यस्तो छ भनेर देखाइदिए हुन्छ भन्ने निष्कर्षमा अर्थमन्त्रालय पुगेको छ ।

आर्थिक पत्रकारहरुको संस्था सेजनसँग शुक्रबार भएको भेटमा समेत अर्थमन्त्री शर्माले यर्थाथपत्रको बारेमा प्रसंग ल्याएका थिए । उनले अर्थतन्त्रको अवस्थाका बारेमा जनतालाई जानकारी दिने प्रयासमा आफू रहेको बताएका थिए । उनले यर्थाथ तस्विर सार्वजनिक गर्दै चुनौतीलाई चिरेर अगाडि बढ्ने विश्वास समेत व्यक्त गरेका थिए ।

उनले भनेका थिए- ‘म कसैलाई आरोप लगाउने पक्षमा छैन, तर अवस्था के हो, त्यसको बारेमा जानकारी गराउन भने खोजेको छु । त्यसको आवश्यक तयारी भइरहेको छ ।’

उनले कोरोनाका कारण अर्थतन्त्र समस्यामा परेको तथा चुनौती नै चुनौतीको मझधारमा अर्थतन्त्र रहेको समेत बताएका थिए । चुनौतीलाई छिचोलेर नै परिणाम किनाल्न सकिन्छ भन्ने उनको भनाइ थियो ।

अघिल्लो सरकारले अध्यादेशबाट चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशको टुंगो लगाएर मात्रै थप काम गर्ने सोचमा अर्थमन्त्रालय पुगेको छ । सरकारको धारणा पनि त्यही हो । संसदले अध्यादेशलाई टुंगो लगाउने उनको भनाइ छ ।

खासगरी ओली सरकारले अर्थतन्त्रका केही क्षेत्रका सामानय भन्दा असमान्य व्यवहार देखाएको थियो । जसका कारण कोरोनाकालमा अर्थतन्त्र जुन आकारमा परिचालित हुनुपर्ने थियो, त्यो हुन सकेको थिएन ।

नयाँ सरकारले असामान्य अवस्थामा रहेको अर्थतन्त्रलाई गति दिनुपर्ने अवस्था छ । कोरोनाले समस्यामा पारेको उद्योग, व्यवसायका सबै क्षेत्रलाई विश्वासमा लिएर पुनरुत्थान गर्नुपर्ने अवस्था छ । दैनिक रोजीरोटी गरेर खाने नागरिकलाई सरकार भएको विश्वास दिलाउनु पर्नेछ ।

यस्तै, सबैभन्दा महत्वपूर्ण र अह्म प्रश्न भनेकै सबै नेपालीले पाउने गरी कोरोनाको खोपको जोहो गर्नुपर्नेछ । यी र यस्ता सन्दर्भमा अर्थतन्त्रको वास्तविक तस्विर जनतालाई बताइदिनु सरकारको दायित्व नै हुन जान्छ ।

सोही कारण अर्थमन्त्री शर्माले सुरेन्द्र उप्रेती र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको सल्लाहमा काम गरिरहेका छन् ।

यर्थाथपत्रको मोटो तस्विर बनेपछि सम्वद्ध अन्य पक्षसँग पनि छलफल गरेर त्यसलाई सार्वजनिक गर्ने तयारीमा अर्थमन्त्रालय रहेको बुझिएको छ । जे होस् खतिवडाले जस्तो अरुलाई आरोप लगाएर होइन, अर्थतन्त्रको यर्थाथ तस्विर आम जनताले थाहा पाउन् भन्ने आम अपेक्षा रहेको छ ।


पुष्प दुलाल