आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ५६ अर्ब स्वदेशी लगानीका उद्योग दर्ता



काठमाडौं । नेपालमा एक वर्षका अवधिमा डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ५६ अर्ब ६४ लाख रुपैयाँको लगानीमा विभिन्न ६ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।

कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा ५ अर्ब ३४ करोड ८० लाख, ३० ऊर्जामूलक उद्योगमा १ खर्ब ९ अर्ब ९७ करोड ४० लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ उद्योगमा ८० करोड रुपैयाँ लगानी रहेको छ ।

यस्तै, पूर्वाधारका दुई उद्योगमा १ अर्ब ७३ करोड ८० लाख, उत्पादनमूलक ७० उद्योगमा १९ अर्ब ५२ करोड ४० लाख, खनिज क्षेत्रको एक उद्योगमा १२ करोड ३० लाख, सेवामूलक ३३ उद्योगमा ५ अर्ब ६४ करोड पाँच लाख र पर्यटनसँग सम्बन्धित ४० उद्योगमा १३ अर्ब ४८ करोड ५ लाख रुपैयाँ लगानी छ ।

घट्यो उद्योग दर्ता

कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको सङ्ख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आवमा मा १ खर्ब ५२ अर्ब ६२ करोडभन्दा बढीको लगानीमा २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा ७४ ले उद्योग दर्तामा कमी आएको हो ।

घट्यो विदेशी लगानी प्रतिबद्धता

कोरोना माहामारीकै कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीको प्रतिबद्धतामा कमी आएको छ । गत आवमा लगानी रकमसँगै उद्योगको सङ्ख्यामा समेत कमी आएको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा ४० उद्योग कमी हुनाका साथै ५ अर्ब ७८ करोड रुपैयाँ बराबरकको लगानी लगानी घटेको हो। अघिल्लो आवमा २२३ उद्योगका लागि ३७ अर्ब ८० करोड बराबरको लगानी प्रतिबद्धता आएकामा गत आवमा १८३ उद्योगका लागि ३२ अर्ब २ करोड रुपैयाँ बराबरको मात्र प्रतिबद्धता आएको विभागले जनाएको छ ।

कुन उद्योगमा कति प्रतिबद्धता ?

गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै उद्योगमा लगानीको प्रतिबद्धता आएको छ । यसक्षेत्रमा १०१ उद्योगका लागि १८ अर्ब ३१ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको हो ।

यस्तै, कृषि क्षेत्रमा तीन उद्योगका लागि ५२ करोड ९० लाख, ऊर्जामा चार उद्योगका लागि एक अर्ब ५४ करोड, सूचना प्रविधिसँग सम्बन्धित १५ उद्योगका लागि २ अर्ब ९५ करोड, १९उत्पादनमूलक उद्योगका लागि २ अर्ब ८६ करोड र ४१ सेवामूलक उद्योगका लागि ५अर्ब ९८ करोड बराबरको प्रतिबद्धता आएको हो ।

उक्त लगानी प्रतिबद्धतासँगै ५ हजार ८३३ जनालाई रोजगारी दिइने भएको छ ।

नयाँ व्यवस्थानुसार ५ करोडभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन । न्यूनतम ५ करोडभन्दा माथि तोकिएका प्रतिबद्धता रकममा वृद्धि भएपनि उद्योगको सङ्ख्यामा भने कमी आएको विभागले जनाएको छ ।


पुष्प दुलाल