श्रमिकको पारिश्रमिक ५% ले बढ्यो, कुन क्षेत्रका श्रमिकको कति ?



काठमाडौं । काठमाडौं प्रशासन कार्यालयले आर्थिक वर्ष २०७८/७९ को दैनिक ज्यालादारी गर्ने श्रमिकको पारिश्रमिक बढाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले दैनिक ज्यालादारी गर्ने श्रमिकको पारिश्रमिक बढाएको हो ।

समितिले निर्माण सामग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकहरूको ज्यालादर निर्धारण गर्ने क्रममा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाएको हो ।

समितिले निर्माण सामग्री ढुवानी तथा उपकरकरणको भाडा र श्रमिकहरूको ज्याला दर निर्धारणलगायत विषयमा सार्वजनिक खरिद नियमवाली २०६४ को नियम १४८ अनुसार जिल्ला दररेट निर्धारण गरेको जनाएको छ ।

समितिले विभिन्न निर्माण सामग्री मेसिन तथा उपकरणको भाडा र श्रमिकहरूको उपलब्धताका आधारमा दैनिक ८ घण्टा काम गरिएको श्रमिकको बजार दरलाई आधार मानेर ५ प्रतिशतले वृद्धि गरेको छ ।

यसअघि निर्माण क्षेत्रमा आबद्ध श्रमिकको प्रतिदिन ७ सय ५० रहेकोमा चालु आर्थिक वर्षमा ५ प्रतिशतले बढाएर ७ सय ९० रुपैयाँ कायम गरेको छ । त्यस्तै फोहर ढल सफा गर्ने कामदारको दररेट बढाएर प्रतिदिन ११ सय २५ रुपैयाँ ज्याला तोकेको छ ।

दक्ष डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार, बज्रकर्मी, प्लम्बर, ढुंगा र काठमा बुट्टा काट्ने साधारण मुर्तिकार, चित्रकार र आर्टिस्टको दैनिक पारिश्रमिक पनि ५० रूपैयाँ बढाएर १ हजार ८० रुपैयाँ पुर्याएको छ ।

त्यस्तै सडकको विभिन्न क्षेत्रमा आबद्ध श्रमिकको ज्यालादारी पनि बढाएको छ । जसमा सडकमा काम गर्ने श्रमिकको दैनिक ८ सय ५ रुपैयाँदेखि ६ हजार ९ सय ३० रुपैयाँ निर्धारण गरेको छ ।


क्लिकमान्डु