आयात २८% ले बढ्दा निर्यात ४४ % ले बढ्यो, ४ खर्ब राजश्व संकलन



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा २८.६६ प्रतिशतले आयात बढेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेकोमा आव २०७७/७८ मा आयात बढेर १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँ पुगेको छ । जुन २८.६६ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आयातसँगै निर्यात पनि उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालले ९७ अर्ब ७० करोड ९१ लाख रुपैयाँ बराबरको नेपाली उत्पादित वस्तु तथा सेवा निर्यात गर्न सफल भएको थियो । सोही अवधिमा आव २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँ बरबरको वस्तु तथा सेवा निर्यात गरेको छ । जुन ४४.४३ प्रतिशतले बढी हो ।

नेपालले एक आर्थिक वर्षमा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । आव २०७६÷७७ मा एक वर्षको अवधिमा नेपालले १० खर्ब ९९ अर्ब ८ करोड ९९ लाख रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । जसमा उक्त वर्षको तुलनामा आव २०७७/७८ मा नेपालले २४.२६ प्रतिशतले बढी व्यापार घाटा व्यहोरेको तथ्याङ्कले उल्लेख गरेको छ ।

विभागको तथ्याङ्क अनुसार कुल वैदेशिक व्यापारमा पनि बढेको छ । आव २०७६÷७७ मा १२ खर्ब ९४ अर्ब ५० करोड ८१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । साथै, आव २०७७/७८ को सोही अवधिमा १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जुन २९.८५ प्रतिशतले बढी हो ।

चालु आवमा गत वर्षको तुलनामा ८.७९ प्रतिशतको अनुपातमा आयात निर्यातमा कम आएको विभागले जनाएको छ । साथै सरकारले आयात भएको वस्तु तथा सेवाबाट ३ खर्ब ८२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा आयात निर्यातमा १०.९२ प्रतिशतको अनुपातमा गिरावट आएको छ ।

नेपालले एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल, सुन आयात गरेको छ । त्यस्तै नेपालले सबैभन्दा बढी नेपालले भटमासको तेल, कार्पेट, अलैंची, चिया, जुटबाट बनेको कार्पेटलगायत अन्य वस्तु बढी निर्यात गरेको रहेको छ ।

साथै, नेपालले आर्थिक वर्ष २०७७/७८ मा १५ खर्बको वस्तु तथा सेवा आयात गर्दा ४ खर्ब २० अर्ब ९७ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।


क्लिकमान्डु