युनाइटेड मेवाखोला जलविद्युत् आयोजनामा ७ बैंकले ७ अर्ब लगानी गर्ने



काठमाडौं । ५० मेगावाट उत्पादन क्षमताको मेवाखोला जलविद्युत् आयोजनामा ७ वटा बैंकले ७ अर्ब रुपैयाँ बराबर ऋण लगानी गर्ने सम्झौता भएको छ ।

आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआइ बैंक, सिभिल बैंक र नेपाल इन्फ्रास्ट्रचर बैंकले लगानी गर्ने भएका हुन् ।

७ अर्ब रुपैयाँ बराबरको लगानीमा ६ अर्ब ७५ करोड आवधिक कर्जा र २५ करोड रुपैयाँ चालुपुँजी कर्जा लगानी गर्ने गरी प्रवद्र्धक कम्पनी र बैंकहरुबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रदेश नंंम्बर १ को ताप्लेजुङ्ग जिल्ला मेरिङदेन गाँउपालिकामा निर्माण हुने यो आयोजनाको प्रवद्र्धक कम्पनी युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि रहेको छ ।

परियोजनाको अनुमानित लागत करिब ९ अर्ब रुपैयाँ बराबर रहेको छ । यसमा बैंकहरुले ७५ ऋण र २५ प्रतिशत स्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्नेछन् ।

यसमध्ये सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड, कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र नेपाल इन्फ्रास्ट्रचर बैंकले समान १ अर्ब लगानी गर्नेछन् । त्यस्तै, एसबिआई बैंकबाट ८० करोड र सिभिल बैंक बाट ५० करोड लगानी हुनेछ ।

२५ प्रतिशत लगानी भने प्रवद्र्धकहरुबाट जुटाइने छ ।
आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।

निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गतको ढुङ्गेसाँघुस्थित सबस्टेशनमा जोडिने छ ।


क्लिकमान्डु