अध्यादेशको टुंगो लागेपछि बजेट संशोधन हुन्छ, श्वेतपत्र वा यथार्थपत्र छिट्टै आउँछः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदबाट बजेट अध्यादेशको टुंगो लागेपछि मात्रै बजेट संशोधनको तयारी शुरु हुने स्पष्ट पारेका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग मन्त्रालयमा भएको भेटमा बोल्दै अर्थमन्त्री शर्माले संसदबाट अध्यादेशको टुंगो लागेपछि मात्रै संशोधनको कार्य अगाडि बढाइने बताए ।

यसअघि केपी शर्मा ओली नेतृृत्वका सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट यतिबेला संसदमा पेश गरिएको छ ।

अर्थमन्त्री शर्माले अध्यादेशको टुंगो नलागेकाले संशोधन गर्न समस्या भएको बताए ।

साथै उनले अर्थतन्त्रको समग्र अवस्थालाई मूल्यांकन गरी श्वेतपत्र वा यथार्थ पत्र ल्याउने विषयमा पनि तयारी भइरहेको बताए । उनले त्यसका लागि काम अगाडि बढाइएको पनि जानकारी दिए ।

उनले सरकारले प्राथमितामा अहिले कोरोना विरुद्धको खोप रहेको उल्लेख गर्दै सबै वर्ग र समूदायमा खोप पुर्याउन सकेमा यसले व्यापार व्यवसायमा पनि सकारात्मक प्रभाव पार्नेमा सरकार सचेत रहेको बताए ।

‘अहिलेको प्राथमिकता खोप नै हो, त्यसैले सरकारले सबै वर्ग र समूदायमा खोप पुर्याउन लागीपरेको छ, खोप पुर्याउन सकियो भने यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने ।

उनले हाल ठेक्कापट्टा प्रणालीमा समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न पनि सरकारको ध्यान गएको समेत बताए ।

उनले कोरोना महामारीका कारण पर्यटनलगायतका क्षेत्र अत्यन्तै प्रभावित भएको भन्दै त्यस्ता क्षेत्रलाई समेट्नेमा ध्यान दिएको पनि बताए ।

उनले आफ्नो कार्यकालमा पारदर्शीतालाई उच्च प्राथमिकता दिएको भन्दै सरकारका सबै काम कारबाही पारदर्शी हुने समेत बताए ।

‘चुनौतीहरु धेरै छन्, त्यसलाई चिर्दै अगाडि बढ्नुको विकल्प छैन, यसका साथै सरकारले पारदर्शीतामा पनि उत्तिकै ध्यान दिएको छ,’ उनले थपे ।


क्लिकमान्डु