बाग्मती प्रदेशमा ब्लूबुक नवीकरण र सवारी कर अनलाइनबाटै तिर्न सकिने



काठमाडौं । बाग्मती प्रदेशमा ब्लूबुक नवीकरण र सवारी कर अनलाइनबाटै तिर्न सकिने भएको छ ।

बाग्मती प्रदेशमा मूख्य मन्त्री डोरमणि पौडेलले शुक्रबार उक्त अनलाइन प्रणालीको उद्घाटन गरेका हुन् । आइतबारदेखि बाग्मती प्रदेशमा ब्लूबुक नवीकरण र सवारी कर अनलाइनबाटै तिर्न सकिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी राजेन्द्र पोखरेलले जानकारी दिए ।

यो सेवा बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेवसाइट र नागरिक एपबाट प्रयोग गर्न सकिन्छ । यसका लागि प्रदेश सरकारले छुट्टै टीएमआईएस डट बाग्मती डट जीओभी डट एनपी नामको वेबसाइट तयार गरेको छ ।

बाग्मती प्रदेशबाट उपलब्ध हुने यातायात व्यवस्था कार्यालयको तथा सेवा कार्यालयअन्तर्गतको ब्लूबुक नविकरण र सवारी राजश्व सम्बन्धी सेवा अनलाइन प्रणालीमा उपलब्ध छ ।

अनलाइन भुक्तानीका लागि सेवाग्राहीले आफै आफ्नो सवारीको विवरण भर्न पनि सक्छन् । सेवाग्राहीले भरेको विवरण पुष्टी गर्नका लागि पहिलोपटक यातयात व्यवस्था कार्यालय वा सेवा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

यसका लागि भेटभाट व्यवस्थापन प्रणाली नामको सफ्टवेयर विकास गरिएको छ । भेटभाट व्यवस्थापन प्रणालीमा सम्पूर्ण विवरण राखेपछि एक महिनाभित्रमा यातायात व्यवस्था कार्यालय वा सेवा कार्यालयमा पुगेर विवरणको अद्यावधिक गर्नुपर्ने हुन्छ । साथै यातायात व्यवस्था कार्यालय वा सेवा कार्यालयमा पुगेर ब्लूबुक नवीकरण र राजश्व तिरेमा कर्मचारीले नै अनलाइन प्रणालीमा सेवा अद्यावधिक गरिदिनेछन् ।

सेवाग्राहीको विवरण अद्यावधिक भएपछि सेवाग्राहीले कनेक्टआईपीएसमार्फत् ब्लूूबुक र सवारी राजश्व अनलाइनबाट भुक्तानी गर्न सक्छन् ।

हालका लागि कनेक्टआईपीएस प्रयोगकर्ताले मात्र अनलाइन भुक्तानी गर्न सक्छन् । निकट भविष्यमा सरकारले सेवालाई थप बिस्तार गर्दै वालेट तथा मोबाइल बैंकिङबाट पनि भुक्तानी गर्न सकिने गरी व्यवस्था मिलाइने सूचना अधिकारी राजेन्द्र पोखरेलले जानकारी दिए । साथै, लाइसेन्स नवीकरण, नामसारी लागयतका सेवा पनि अनलाइनबाटै गरिने उनले बताए ।


क्लिकमान्डु