टिकटकमा भाइरल भक्तपुरको प्लटिङ, आनाको कति पर्छ ?



काठमाडौं । टिकटक प्रयोग गर्नुहुन्छ भने तपाईंले भक्तपुरस्थित सिपाडोलको जग्गा प्लटिङ त देख्नु भएकै होला । व्यवस्थित आवासको रुपमा विकास गर्नका लागि शुरु गरिएको प्लटिङ निकै नै भाइरल बन्यो ।

मानिसहरु जग्गा खरिद गर्न मात्रै होइन, घुम्न, फोटो खिच्न र टिकटक बनाउन पनि त्यहाँ जान थाले । फोटो र भिडियो खिच्नेको भिड बढेपछि त्यहाँ प्रतिबन्ध नै लगाउनु पर्ने अवस्था आयो ।

चिटिक्क मिलेका घडेरी देख्दा खरिदकर्ता मात्रै होइन धेरैलाई मोहित बनायो ।

करिब ७ वर्षदेखि जग्गा संकलन गरिएको र पछिल्लो २० महिनामा प्लटिङलगायतका काम गरिएको निकभुजी किक कम्पनीका सञ्चालक डिल्ली बराइली बताउँछन् ।

उनका अनुसार २० महिनाको अवधिमा तयार भई बिक्रीका लागि बनाइएको प्लटिङ पछिल्लो समय भाइरल बनेसँगै मानिसको आवातजावत बढेको बताए ।

‘भुजिकिक कम्पनीले करिब ७ वर्षदेखि उक्त प्लटिङमा काम गर्दै आएको हो, कोरोना महामारीको समयमा लकडाउन र निषेधाज्ञाका कारण घुम्न गएकाले टिकटक बनाएपछि भाइरल बनेको हो,’ बराइलीले भने ।

जग्गा भाइरल बनेपछि इच्छुक खरिदकर्ताको फोन बढी आएको उनले बताए ।

१५ वर्षदेखि निरन्तर जग्गा व्यवसायीको रुपमा काम गर्दै आएको उनले व्यवस्थित प्लटिङको अवधारणामा काम गर्दै आएको ६ वर्ष भएको छ । जसमा बराइलीसँगै अन्य ६ जनाको सहकार्यमा सिपाडोलको मात्रै नभएर अन्य ६ वटा व्यवस्थित प्लटिङ तयार गरिसकेका छन् ।

कम्पनीका अध्यक्ष पूर्णबहादुर लिम्बु, प्रबिन कुस्मा, डिल्ली बराईली, राजुराम कुस्मा, लक्ष्मी सुन्दर कुस्मा र राकेश भेलेको संयुक्त लगानीमा उक्त प्लटिङ गरिएको हो ।

बराईलीका अनुसार विगत १५ वर्ष जग्गा व्यवसायीको रुपमा काम गर्दै आएकाले व्यवस्थित आवासको अवधारणाको विकास गर्नुपर्छ भन्दै करिब ६ वर्षदेखि व्यवस्थित प्लटिङ विकास गरेको बताए । उक्त प्लटिङ शुरु गरेसँगै एकपछि अर्को नयाँ सफलता मिलेको उनको भनाइ छ ।

कम्पनीले स्थानीयबासी र अन्य बाहिरी मानिससँगको सहकार्यमा ३ सय ५० रोपनी जग्गाको व्यवस्थित प्लटिङ गरेको छ । जसमा ६० प्रतिशत स्थानीयबासीको जग्गा छ भने कम्पनीको ४० प्रतिशत जग्गा रहेको छ ।

‘कम्पनीले सबै किनेर व्यवस्थापन गरेको जग्गा होइन,’ उनले भने, ‘यस जग्गासँग धेरै मानिसहरूको सहकार्य रहेको छ । जसमा विभिन्न जिल्लाका मानिसहरू जोडिएका छन् ।’ साथै, स्थानीयबासीको सहकार्यमा उपयुक्त प्लटिङ गर्न सफल भएको बताए ।

अरनिको राजमार्गबाट साढे एक किलोमिटरभित्र रहेको सिपाडोलमा ३ सय ५० रोपनी जग्गाको प्लटिङ हालसम्मकै नमूना प्लटिङ रहेको छ ।
कम्पनीले अन्तर्राष्ट्रिय बजारको अवधारणालाई अपनाउँदै सो प्लटिङ विकास गरेको कम्पनीले जनाएको छ । जसमा हरेक घरमा स्मार्ट सिटीमा हुनुपर्ने सबै पूर्वाधारको विकास गरेको छ ।

प्लटिङ गरिएको जग्गाका ४ सय घर बन्ने बराईलीले जानकारी दिए । करिब ३ वर्षअघिसम्म अधिकतम प्रतिआना १५ लाख रुपैयाँमा बिक्री भएकोमा अहिले कम्पनीले बाँकी भएको जग्गाको मूल्य प्रतिआना २६ लाख तोकिएको छ ।

त्यस्तै, यातायात, पूर्वाधार र अन्य विभिन्न सेवा सुविधा सम्पन्न रहेको उपत्यकामा पछिल्लो समय जग्गा किनेर गाउँबाट सहर बसाई गर्नेको लर्को रहेको छ । यसले गर्दा रिङरोडभित्र बस्न सक्ने अथवा जग्गा खरिद गर्न सक्ने सम्भावना हुँदैन । त्यसैले पछिल्ला दिनहरूमा रिङरोडभन्दा बाहिरका क्षेत्रहरूमा जग्गा किनबेच अधिकतम हुने गर्दछ ।

अधिकतम जग्गाको खरिद विक्री भएकाले नयाँ बस्तीमा विभिन्न समस्या आएको देखिन्छ । साथै, अव्यवस्थित देखिन्छ । त्यसैले नयाँ अवधारणाका साथ नयाँ प्लटिङको विकास भई स्मार्ट सिटी विकास गर्नेमा कम्पनीले जोड दिएका छन् ।

‘उपत्यकामा पछिल्लो समय जग्गा किनबेच अधिकतम बढेको छ । त्यसैले कम्पनीलाई जग्गा व्यवसायलाई पनि व्यवस्थित रुपमा विकास गर्नका लागि करिब ७ वर्ष देखि निरन्तरता दिँदै आएका छौं । उक्त अवधारणामा काम गर्दै आउँदा यस प्लटिङ्ले झनै हौसला मिलेको छ,’ उनले भने ।

कम्पनीले तयार गरेको प्लटिङको जग्गामा पैसा मात्रै नभएर भावनात्मक, व्यवहारिक, सामाजिकलगायत सम्पूर्ण भावना जोडिएको उनको भनाइ छ । सो प्लटिङमा पहिलै स्थानीयबासी र करिब ६५ जिल्लाको मानिसहरूको जोडिएको बताए ।

‘कम्पनीले ७ वर्ष अघि जग्गा संकलन गर्दा नै धेरै मानिसहरू जोडिएका थिए,’ उनले भने, ‘हामीसँग पहिलै देशका विभिन्न जिल्लाका मानिसहरू जोडिएको हुनाले अहिले खासै बिक्रीको लागि जग्गा उपलब्ध छैन ।’

पूर्वाधार बनाउन मात्रै १८ करोड खर्च
भुजिकिक कम्पनीले तयार गरेको प्लटिङको पूर्वाधार विकासका लागि मात्रै १८ करोड खर्च गरिसकेको छ । कम्पनीले स्थानीयबासीको जग्गासँगै विक्रीको लागि राखिएको प्लटिङमा व्यवस्थित आवास निर्माणको अवधारणासहित पूर्वाधारको विकास गरिसकेको छ । जसमा कम्पनीले ढल, बत्ती र सडकको पूर्ण व्यवस्था गरिएको बराईलीले जानकारी दिए ।

उक्त प्लटिङ गरिएको जग्गामा आगामी दिनमा घर निर्माण हुँदा कुनै पनि ढल, सडक, खानेपानी र बत्तीमा कुनै समस्या नहुने कम्पनीले दावी गरेको छ ।

‘कम्पनीले जग्गाको प्लटिङसँगै व्यवस्थित ढङ्गबाट बत्तीको पोल, प्रत्येक जग्गामा खानेपानीको व्यवस्था र ढलको प्रशोधन केन्द्रसम्म तयार गरिरहेको र हाललाई घरबाट निस्कने सेफ्टी ट्याङ्कीको फोहोरलाई ढलमा पठाउन नपाइने व्यवस्था गरेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘घरायसी घरबाट निस्कने भाडा, नुहाउने तथा लुगा धुने पानी ढलमा पठाउने गरी व्यवस्थापन गरी प्रत्येक ब्लकमा ढलको व्यवस्थापन गरिसकेको छ ।’

कम्पनीले प्लटिङको वरिपरी आस्पाल्ट पिज गरेको छ । जसमा सरकारले तोकेअनुसारको जेब्रा क्रसिङसहित व्यवस्थित सडकको विकास गरिसकेको छ ।

त्यसैगरी, हाल जग्गा पासकै प्रक्रियामा रहेको बताए । सूर्यविनायक नगरपालिकाले पनि नमुना ढङ्गबाट बनेको प्लटिङ्लाई प्राथमिकतामा राखेर सो जग्गामा एकै खालको घर निर्माण हुने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

साथै, कम्पनीले शुरु गरिएको प्रोजेक्टमा कम्तिमा ४० प्रतिशत घर निर्माण नभएसम्म कम्पनीले नै रेखदेख गर्ने भएको छ । व्यवसायीले जग्गा किन्यो, बेच्यो र नाफा कमाएर छोड्ने गर्दछ । तर, निक भुजिकिक कम्पनीले आगामी दिनमा पनि जग्गा, मुद्दा र प्रशासनिक विवाद भएमा कम्पनीले व्यहोर्ने जनाएको छ ।


क्लिकमान्डु