भारतमा कोरोना संक्रमित बढे, संसारभर ४१ लाखले गुमाए ज्यान



एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि बृद्धि भएको छ ।

सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट संक्रमित नयाँ थपिएका छन् ।

अघिल्ला केही दिनको तुलनामा यो संख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि बृद्धि भएको हो ।

सोही अवधिमा संक्रमणमुक्त भएकाहरुको संख्या पनि थपिएका संक्रमितहरुको संख्या भन्दा धेरै रहेकाले समेत सक्रिय संक्रमितको संख्या समेत बढ्दै गइरहेको छ ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या ३८ हजार ६५२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको कुल संख्या ३ करोड चार लाख २९ हजार ३३९ पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या ४ लाख नौ हजार ३९४ रहेको अधिकारीहरुले जनाएका छन् ।

यो संख्या कुल संक्रमितहरुको संख्याको १.३१ प्रतिशत मात्रै हो । कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको संख्या ४ लाख १८ हजार ९८७ रहेको छ ।

तीमध्ये ५०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । तर एक अध्ययन भने कोरोना कालमा मात्रै ४० लाख बढी मानिसले अकालमा ज्यान गुमाएको बताएका छन् ।

अध्ययनअनुसार कोरोना कालमा असाध्यै धेरै मानिसको ज्यान गएको भएपनि त्यो लुकाइएको छ । सरकारले वास्तविक भन्दा अवास्तविक तथ्यांक सार्वजनिक गरेको आरोप लागेको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड ९ लाख ११ हजार ७१२ स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख १८ हजार ४३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो ।

संसारभर ४१ लाख २७ हजारले ज्यान गुमाए
कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख २७ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख २७ हजार ६२ जनाको मृत्यु भएको छ । विश्वभरी कूल संक्रमितको संख्या १९ करोड २० लाख ५ हजार ७५ जना रहेका छन ।

विश्वभर ३ अर्ब ७१ करोड ५८ लाख १ हजार ७१७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।


क्लिकमान्डु