होण्डाका नाममा म्यासेज आतंक, ब्यालेन्स र डाटा चोरी हुनसक्छ



काठमाडौं । विगत केही दिनयता मोबाइलमा ‘हुण्डा ७०औं एनिभर्सरी’ भन्दै एउटा लिंक भाइरल भइरहेको छ ।

नेपालका लागि होण्डाको आधिकारी बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले यस्तो कुनै अफर जारी नगरेको स्पष्ट पारिसकेको छ । हुण्डाको ७०औ वार्षिकोत्सव सम्बन्धी कुनै म्यासेज आएमा यसमा सरिक नहुन होण्डाले अनुरोध पनि गरिसकेको छ ।

यस्तो छ ठगी धन्दा

होण्डाको ७०औं वार्षिकोत्सव भन्दै उपहारको प्रलोभनमा सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जरमार्फत् ठगी धन्दा शुरु भएको हो ।

पछिल्लो समय फेसबुकको म्यासेन्जर, ग्रुपमा ‘होण्डा ७०औं एनिभर्सरी’ लिंक भाइरल भइरहेको छ । उपहारको प्रलोभनमा परेर धेरैले उक्त लिंक खोल्ने गरेको छ । होण्डाको स्कुटर उपहार दिनेभन्दा आउने उक्त लिंक खोल्दा मोबाइलको ब्यालेन्स काटिनुका साथै व्यक्तिगत सूचना पनि बाहिरन शुरु भइसकेको छ । कम्पनीले पनि आधिकारीक रुपमा उक्त लिंक आफ्नो नभएको र यसलाई नखोल्न अनुरोध गरिसकेको छ ।

उक्त लिंक खोल्दा सर्भे गर्न खोजिएको जस्तै प्रश्न सोधिन्छ ।

लिंकमा क्लिक गरिसकेपछि तपाईसँग ४ वटा प्रश्न सोधिनेछ । जसमा तपार्इंको उमेर, होण्डा उत्पादनहरु प्रयोग गरिएको वा नगरिएको र होण्डाको बारेमा तपाईंको धारणा सोधिन्छ । उक्त प्रश्नको उत्तर लिइसकेपछि लिंकमा ९ वटा बन्द गरिएका गिफ्टका बक्सा देखाइन्छ ।

त्यस पश्चात तपाईंलाई ३ वटासम्म गिफ्टका बक्सा छनोट र गिफ्ट जित्ने मौका दिइन्छ । पहिलो पटक गिफ्टमा छनोट गर्दा तपाईंले गलत गिफ्ट छान्नु भएको भनिन्छ । त्यसपछि ब्ल्याक र ग्रे मिश्रित स्कुटरको फोटो देखाई जित्नु भएको भन्दै बधाई दिइन्छ ।

उक्त स्कुटर प्राप्त गर्नका लागि ५ वटा ग्रुप वा २० जना साथीलाई सो लिंक सेयर गर्नुपर्ने भन्नै सेयरको अप्सन दिइन्छ । सो लिंकको सेयर गरेको आधारमा ब्ल्यू भरिदै जान्छ । ब्ल्यू शतप्रतिश हुँदासम्म सेयर गर्नुपर्ने हुन्छ । सो ब्ल्यूबार शतप्रतिश गर्न करिब १५० देखि २ सयसम्म भिन्न व्यक्ति वा ग्रुपमा सेयर गर्नुपर्छ ।

ब्लयूबार फुल भइसकेपछि तपाईंलाई ५ देखि ७ दिनभित्रमा गिफ्ट प्राप्त हुने भन्दै कन्टिन्यूको अप्सन दिइन्छ । उक्त अप्सनमा क्लिक गर्दा एनसेलको लोगोको सहितको ‘एप टच’ नामक एप स्क्रिनमा देखाइन्छ ।

जसमा एनसेलको नम्बर राख्न भनिन्छ । जसमा नम्बर राख्दा ७७२४ नम्बरबाट प्रयोगकर्ताको मोबाइलमा ओटीटी म्यासेजमा आउँछ । उक्त ओटीटी कोड प्रयोग गरेरपछि एप डाउनलोडको अप्सन आउँछ ।

उक्त डाउनलोड भएको एप खोल्दा मोबाइलमा ‘एप टच’ को पासवर्ड र यूजर नेम १७१४२ बाट प्राप्त हुन्छ । यूजर नेम र पासवर्ड राख्दा विभिन्न अनलाइन गेम डाउनलोड गर्न निर्देशन दिइन्छ । सो निर्देशन मान्दा मोबाइलको ब्यालेन्स कटिने गरेको छ ।


क्लिकमान्डु