नेपालगञ्ज मेडिकल कलेजको ४४ % सेयर १ अर्बमा किनेर डा. सुनिल शर्मा भित्रने



काठमाडौं । नेपालगञ्ज मेडिकल कलेजमा करिब ४४ प्रतिशत सेयर किनेर डा. सुनिल शर्मा मुख्य लगानीकर्ताको रुपमा भित्रने भएका छन् ।

डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर प्रतिकित्ता ५०० रुपैयाँको दरले ९० करोड रुपैयाँमा किन्न लागेका हुन् ।

नेपालगञ्ज मेडिकल कलेजको सेयरको मूल्यांकन प्रतिकित्ता १०० रुपैयाँको सेयरलाई ५०० रुपैयाँ गरिएको छ । डा. शर्मालाई सेयर बिक्री गरेर बेच्न लागेका लगानीकर्ताले सेयर बेच्दा आएको लाभकर भने आफै तिर्नेछन् । पूँजीगत लाभकर अन्तर्गत बिक्री गर्ने सेयरधनीले ५ प्रतिशत लाभकर तिनुपर्छ । नेपालगञ्ज मेकिडल कलेजको भ्यालुएसन २ अर्ब रुपैयाँ गरिएको छ ।

‘बिक्री गरेर बाहिरिन लागेका लगानीकर्तालाई प्रतिकित्ता ५०० को दरले सेयर किन्ने सहमति भएको छ,’ मेडिकल कलेज संचालक डा. सुनिल शर्माले क्लिकमाण्डूसँग भने ।

शर्माले ९० करोड रुपैयाँ बिक्रीकर्ताले पाउने र आफूले नेपालगञ्ज मेडिकल कलेजले लिएको डेढ अर्ब ऋण तथा तीन महिनादेखि कर्मचारी र स्वास्थ्यकर्मीलाई दिन बाँकी रहेको तलबको समेत दायित्व लिन लागेको बताए ।

‘सेयर किन्दा लाग्ने रकम तथा मेडिकल कलेजको ऋण र दायित्व गर्दा ३ अर्बजतिको दायित्व पर्न आउने छ,’शर्माले क्लिकमाण्डूसँग भने ।

शर्माले नेपालगन्ज मेडिकल कलेज किन्नका लागि आफूले व्यवसायबाट कमाएको पैसा र बैंकको ऋण प्रयोग गर्ने जानकारी दिए ।

‘ढिलोमा भदौको दोस्रोसातासम्ममा व्यवस्थापन हस्तान्तरण गर्ने गरेर प्रक्रिया अगाडि बढेको छ, सेयर खरिद तथा बिक्रीको प्रक्रिया सकिएपछि व्यवस्थापनमा परिवर्तन हुन्छ,’ शर्माले क्लिकमाण्डूसँग भने ।

बुटवलबाट पश्चिममा अहिले नेपालगञ्जमा मात्र नेपालगञ्ज मेडिकल कलेज संचालनमा छ ।

नेपालगन्ज मेडिकल कलेजका संस्थापक रहेका प्रा. डा. सुरेश कनौडिया सहितका मुख्य सेयरधनीले आफ्नो नाममा रहेको सेयर डा. शर्मालाई बेच्ने छन् । केही सेयरधनीले डा शर्मालाई सेयर बिक्री गरिसकेका छन् । केहीदिनभित्रमा सेयर नामसारीको प्रक्रिया सकिएपछि नेपालगञ्ज मेडिकल कलेजको व्यवस्थापन समेत परिवर्तन हुने छ ।

डा. शर्माले नेपालगन्ज मेडिकल कलेजको सेयर किन्नका लागि बैंकबाट ऋण लिने प्रक्रिया समेत अगाडि बढाएका छन् । बिराटनगरका डा. शर्माले बिराटनगरमा नोबेल मेडिकल कलेज संचालन गर्छन् । गत भदौमा शर्माले काठमाडौं मेडिकल कलेजको ४७ प्रतिशत सेयर लिएका थिए ।

डा. शर्माले मेडिकल कलेजमा आक्रामक ढंगले लगानी विस्तार गर्न खोजेको देखिन्छ । पछिल्लो समय मेडिकल पुराना मेडिकल कलेजका लगानीकर्ताले नयाँ लगानीकर्तालाई मेडिकल कलेज बेच्ने क्रम बढेको छ । जोरपाटीको नेपाल मेडिकल कलेज वीरगञ्जका बसुरुद्धिन अन्सारीले किनेका थिए ।

बुटवल पश्चिमको राम्रो मेडिकल कलेजको रुपमा नेपालगन्ज मेडिकल कलेजलाई लिइन्छ ।

‘कोभिडको कारण मेडिकल कलेजको आन्दानी घटेपछि नयाँ लगानीकर्ताको रुपमा डा. शर्माको प्रवेश भएको हो, केही दिनभित्रमा ओटीसीमार्फत सेयर खरिदबिक्रीको काम सकिने छ,’ नेपालगन्ज मेडिकल कलेजका एक संचालकले भने ।

नेपालगन्ज मेडिकल कलेजको बाँकेको नेपालगन्जमा अस्पताल,कोहलपुरमा कलेज तथा अस्पताल तथा महेन्द्रनगरमा जग्गा रहेको छ । सबै गरेर नेपालगन्ज मेडिकल कलेजको सम्पत्ति ३ अर्बभन्दा बढी हुन्छ । डा. शर्मा २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको टिकटमा मोरङमा प्रत्यक्ष निर्वाचन समेत लडेका थिए । शर्माले निर्वाचन भने जित्न सफल भएनन् ।

नेपालगन्ज मेडिकल कलेज २५ वर्ष अगाडि शुरु भएको थियो । ७ सय बेड क्षमता रहेको कलेजमा एमबीबीएस, एमड, नर्सिङ पढाइ हुने गर्छ ।


क्लिकमान्डु