नयाँ सरकारले दोस्रो चरणको आर्थिक सुधारका लागि पहल गरोस्: विनोद चौधरी



काठमाडौं । सांसद तथा व्यवसायी उद्योगी विनोद चौधरीले नेपाली कांग्रेस नेतृत्वमा बनेको नयाँ सरकारले दोस्रो चरणको आर्थिक सुधारका लागि पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा बोल्दै चौधरीले आर्थिक उदारीकरण र पहिलो चरणको सुधारको नेतृत्व नेपाली कांग्रेसले गरेको स्मरण गर्दै दोस्रो चरणको सुधारका लागि पनि पहल गरिनुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेसको नेतृत्वमा २०४६/४७ पछि आर्थिक उदाकरणको युग शुरु भएको र अब फेरी दोस्रो चरणको आर्थिक उदारीकरण अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

‘दोस्रो चरणको आर्थिक सुधार (इकोनोमिक रिफर्म)ले धेरै वर्षदेखि थाँती रहेका हाम्रा आर्थिक मुद्दाहरुलाई सल्टाउँछ । चाहे ती व्यापार र कुटनीतिका विषय हुन्् वा चाहे आर्थिक र विकासका मुद्दाहरु हुन,’ चौधरीले भने, ‘अर्थमन्त्रीज्यू, दोस्रो चरणको आर्थिक सुधार (इकोनोमिक रिफर्म) को नेतृत्व (लिड) तपार्इं गर्नुहोस् ।’

पहिलो चरणको आर्थिक सुधारको नतिजाका रुपमा नेपाल उदार अर्थतन्त्र भएको मुलुकका रुपमा उदाएको भएपनि सबै योजनाहरु भने कार्यान्वयन हुन नसकेको उनले बताए ।

‘आर्थिक उदारीकरणको पहिलो चरणमा अर्थतन्त्र सुधारका लागि लिईएका ६ वटा विषयहरुले अहिले पनि कुल ग्राहस्थ उत्पादनको ३५ प्रतिशत भन्दा बढी ओगट्छ । त्यसको प्रभावकारी कार्यान्वयन मात्र भएको भए अहिले राज्यको अर्थतन्त्रको तस्बिर फरक हुन्थ्यो,’ चौधरीले भने ।

नयाँ सरकारका लागि नेपालमा लगानीको वातावरण उत्कृष्ट छ भन्ने बनाउने जिम्मेवारी रहेको पनि उनले बताए । नेपाललाई दक्षिण एसियाको सबैभन्दा आकर्षक लगानीको क्षेत्र भनेर परिचय स्थापित गर्नुपर्ने बेला आएको समेत चौधरीको भनाइ छ ।

‘प्रजातान्त्रिक सरकारले नै फिल गुड फ्याक्टरलाई प्रोत्साहित गर्छ । नेपाल दक्षिण एसियामा मात्र होइन विश्वभर नै लगानीका लागि उत्कृष्ट गन्तब्य भनेर चिनियोस् । यहाँ विश्वकै ठूला शैक्षिक संस्थाहरु होउन,’ चौधरीले भने । ‘फेरी नेपाल, खुला, उदार र पारदर्शी वातावरण भएको देश बन्नेछ । यहाँ उद्योगधन्दा चलाउन र लगानी गर्नका लागि बिचौलिया हुने छैनन् भन्ने आभास लगानीकर्तालाई गर्नुछ ।’

शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारले यो वर्षको अन्तसम्ममा सबै नेपालीलाई खोप उपलब्ध गराउनेमा निजी क्षेत्र आशावादी रहेको पनि चौधरीले बताए ।


क्लिकमान्डु