दूधमा अनुदानः किसान पशुपालनतर्फ आकर्षित



चितवन । भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने भएको छ ।

विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा १ रुपैयाँ अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले अनुदान रुकममा वृद्धि गरिएको हो । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित हुँदै उत्पादन बढ्ने महानगरपालिकाको लक्ष्य छ । किसानको समस्यालाई बुझेर लाभ पु¥याउने उद्देश्यले क्रमश वृद्धि गरी प्रतिलिटर ३ रुपैयाँ पु¥याइएको उनको भनाइ छ ।

‘यसबाट प्रत्यक्ष रुपमा किसानले लाभ पाउनेछन्,’ उनले भनिन् ।

हालसम्म सहकारीमार्फत अनुदान दिँदै आएकोमा यस वर्षबाट सोझै किसानको खातामा अनुदान पठाउने तयारी गरिएको प्रमुख दाहालको भनाइ छ । यस कार्यक्रमबाट महानगरभित्रका १० लाखभन्दा बढी किसान प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । प्रमुख दाहालका अनुसार गत आर्थिक वर्षमा दूधमा १ करोड ५८ लाख १५ हजार ८४४ रुपैयाँ अनुदान दिइएको छ ।

चौवालिस सहकारी, पाँचवटा कृषि फार्म र एक समूहले अनुदान पाएका हुन् । अघिल्लो आर्थिक वर्षमा रु एक करोड ६२ लाख ६१ हजार ५८७ अनुदान दिइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकामा जनप्रतिनिधि आएसँगै प्रतिलिटर २५ पैसा अनुदान दिएर कार्यक्रम शुरु गरिएको थियो ।

प्रमुख दाहालले भनिन्, ‘नेपालमा नै हामीले पहिलो पटक दूधमा अनुदान दिन शुरु गरेका हौं ।’

भरतपुर महानगरपालिका देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी दूध उत्पादन हुने पालिका भएको उनको भनाइ छ ।

यहाँ दैनिक एक लाख लिटर हाराहारी दूध उत्पादन हुने तथ्याङ्क छ । केही वर्षअघि गरिएको सर्वेक्षणमा वार्षिक तीन करोड ३२ लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क सङ्कलन भएको थियो । यस आर्थिक वर्षमा दूधमा अनुदान दिन रु पाँच करोड १० लाख विनियोजन गरिएको उनले जानकारी दिइन्।

भरतपुर महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख मेघराज ढकालका अनुसार महानगरभित्र १५६ गाई र १५ भैँसीका व्यावसायिक फार्म छन् ।

महानगरपालिकाले गत आर्थिक वर्षमा अनुदानका लागि रु एक करोड ७० लाख रकम विनियोजन गरेको उनले बताइन् । महानगरपालिकाले कार्यविधि बनाएर अनुदान दिँदै आएको छ ।

सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई सहकारीमार्फत समन्वय गरेर अनुदान दिइएको उनको भनाइ छ । निजको हकमा दुग्ध विकास संस्थानमा दूध बेचेको प्रमाणित अभिलेखको आधारमा अनुदान दिइने गरेको छ । ढकालले यति धेरै रकम अनुदानका लागि विनियोजन गर्ने भरतपुर पहिलो भएको बताए ।

उनका अनुसार एउटै सहकारीले रु १९ लाख दुई हजार ११० सम्म अनुदान पाएर किसानलाई वितरण गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा बढी अनुदान पाएको हो । संस्थाका अध्यक्ष ऋषिराम चापागाईंले अनुदान बढाइएसँगै सबै किसान थप लाभान्वित भएको बताए ।

‘हामी थप अनुदान पाउने भएपछि अत्याधिक लाभान्वित हुने छौँ,’ उनले भने ।

किसानका समस्यालाई बुझेर महानगरपालिकाले अनुदान थप गरेको भन्दै उहाँले यससँगै पशु पाल्ने किसानको सङ्ख्या थप हुने अपेक्षा गरिएको बताए ।

गाई भैँसी पाल्न सहुलियत

महानगरपालिकाले उन्नत जातका गाई भैँसी पाल्ने किसानलाई विभिन्न प्रकारका सहुलियत प्रदान गर्दै आएको छ । महामहानगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार, फार्म आधुनिकीकरण कार्यक्रम, यन्त्र उपकरण वितरणलगायतका क्षेत्रमा दुग्ध उत्पादक किसानलाई अनुदान दिँदै आएको छ ।

यहाँ उत्पादन भएको दूध जिल्लासहित काठमाडौँ, पोखरा, गोरखा, लमजुङ, मकवानपुरलगायतका जिल्लामा जाने गर्दछ ।


पुष्प दुलाल